१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पैसा कमाउनकै लागि बालगृह!

फाइल तस्वीर

आर्थिक उपार्जनको भित्री उद्देश्यका साथ बालगृह सञ्चालन गर्नेहरू बढेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाले बालगृह सञ्चालनमा कडाइ गर्न थालेको छ।

बालगृह सञ्चालन गरेको देखाएर विदेशी दाताबाट बजेट लिने क्रम देखिएपछि बालगृह सञ्चालनमा कडाइ गरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख निलाकुमारी घिमिरेले नगरपालिकाले पछिल्लो पटक मात्रै विनादर्ता सञ्चालनमा रहेका नगरका तीनवटा बालगृह बन्द गराएको जानकारी गराइन्। ‘बालगृहको नाममा भित्री उद्देश्य पैसा कमाउने देखियो,’ उनले भनिन्, ‘त्यही भएर विनादर्ता सञ्चालनमा रहेका ती बालगृहलाई नगरपालिकाले बन्द गराइदिएको हो।’

 घटीमा २० जना बालबालिका राख्नसक्ने क्षमता नभएका बालगृहलाई नगरपालिकाले स्वीकृति दिने नगरेको उनले उल्लेख गरिन्। साथै, अनुमति लिएर सञ्चालित बालगृहको पनि नियमित अनुगमन हुने उनले उल्लेख गरिन्।

बालगृह सञ्चालनका लागि मापदण्ड पूरा गरी स्थानीय निकायबाट अनुमति लिन सकिन्छ। तर, अनुमतिका लागि उसले बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्डमा बालगृहमा बालमैत्री भौतिक पूर्वाधार तथा संरचना हुनुपर्ने व्यवस्था छ।

साथै, बालगृहमा आवश्यक जनशक्तिको व्यवस्था हुनुपर्ने, बालगृह सञ्चालन गर्न आवश्यक हुने आर्थिक स्रोतको व्यवस्था हुनुपर्ने, बालगृहमा बालबालिकाको भर्ना प्रक्रिया, बालबालिकाको भोजन तथा पोषणसम्बन्धी व्यवस्था, बालबालिकाको स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने विषय उल्लेख छ। साथसाथै, शिक्षा, तालिम र अतिरिक्त क्रियाकलापको व्यवस्था गर्नुपर्ने, बालगृहमा बाल क्लब गठन, सञ्चालन र बाल सहभागिताको प्रवद्र्धन गर्नुपर्नेलगायत अन्य मापदण्ड पूरा गर्नैपर्ने व्यवस्था छ।

शाखा प्रमुख घिमिरेले आमा वा बुबामध्ये एकजना भएका बालक वा बालिकालाई बालगृहमा राख्न ल्याउन नमिल्ने, एउटा नगरको बालबालिकालाई अर्काे नगरको बालगृहमा लान नपाइनेलगायतका नियम रहेको जानकारी दिइन्।

‘बालबालिकाका लागि भन्दै जथाभाबी बालगृह सञ्चालनमा रोक लगाएका छौं,’ उनले भनिन्, ‘सक्नुहुन्न नचलाउनुहोस् तर चलाएमा मापदण्ड पालना गर्नुस्।’

५१ सूचकहरूको आधारमा चाँगुनारायण नगरपालिका पहिलो बालमैत्री नगरपालिका भएको भन्दै उनले यही कारण बालगृह सञ्चालनमा कडाइ गरेको उनको भनाइ छ।

देशमा विकेन्द्रीकरण अवधारणासँंगै तीन तहको सरकारको व्यवस्थापछि अहिले जिल्ला जिल्लामा बाल संगठनहरू खारेज भइसकेका छन्। स्थानीय सरकारको रूपमा रहेको स्थानीय तह (नगरपालिका वा गाउँंपालिका) ले नै आफना गाउँ नगरका अभिभावकविहीन बालबालिकाको व्यवस्था गर्नुपर्ने अवस्था अहिले छ। यसकारण बालगृह सञ्चालनसम्बन्धी अनुमति दिनेनदिने अधिकार पनि स्थानीय निकायमा निहित छ।

चाँगुनारायण नगरपालिका क्षेत्रभित्र इँटाभटा क्षेत्रमा मात्रै चारवटा बालगृह सञ्चालित छन्। दर्ताका अधारमा ५२ इँटाभट्टा रहेको यो ठाउँंमा झन्डै ६० वटा इटाभटाहरू सञ्चालित छन्। तथापि यो वर्ष आर्थिक मन्दीका कारण धेरै इँटाभट्टा बन्द छन्। ती इँटाभटामा वस्ने बालबालिकाका लागि बालगृह सञ्चालित छ।

चाँंगुनारायण–५ खरिपाटीमा रहेको सिद्धि स्मृति बाल गृह चाँगुनारायणका सञ्चालन निर्देशक अनिलराज भण्डारीले आफनो बालगृह मापदण्डमा रही बालबालिकाको हितमा विभिन्न कार्यहरू गर्दै आएको चर्चा गरे। उनले सहाराविहीन बालबालिकालाई आश्रय दिएर बालगृहले काम गर्दै आएको जनाए।

सिद्धि स्मृति प्रतिष्ठानको एउटा अंगको रूपमा विगत सात वर्षदेखि यहाँं बालगृह सञ्चालनमा रहेको जानकारी उनले गराए। बालगृह आफनै जग्गा र भवनमा रहेको बताइयो। गृहमा अहिले नौजना बालक र तीन बालिका गरी कुल १२ जना बालबालिका रहेका छन्। उनीहरू सबैजना भक्तपुरको बाल विकास स्कुल लिवाली भक्तपुरमा स्कुलमा अध्ययनरत रहेका छन्।

प्रकाशित: ८ फाल्गुन २०८० ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App