२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कांग्रेस महासमिति बैठकले सनराइज सभाहललाई राहत, पायो करिब २३ लाख

सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) ले तत्कालका लागि व्यवस्थापनको जिम्मेवारी लिएको गोदावरीस्थित सनराइज सभाहलमा नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ।

कांग्रेसले प्रत्येक दिन ५ लाख ६८ हजार ३ सय ३ रुपैयाँको दरले ४ दिनका लागि २२ लाख ७३ हजार २ सय १२ रुपैयाँमा उक्त हल बुक गरेको हो।

व्यवस्थापनमा आर्थिक संकट व्यहोरि रहेको सभाहल भाडामा लिइदिँदा सभाहल सञ्चालकलाई राहत मिलेको छ। गोदावरीस्थित उक्त सभाहल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। व्यवस्थापन खर्च जुटाउन धौ–धौ परेको थियो।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी)का कार्यकारी निर्देशक विद्रोह दाहालका अनुसार कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ४ दिनका लागि सभा हल बुक गरेको हो।

‘यसबाट सम्मेलन केन्द्रलाई केही फाइदा भएको छ’, दाहालले भने। उनका अनुसार सभाहल सञ्चालन र रेखदेख गर्न मात्र एक वर्षमा करिब ५० लाख रुपैयाँ खर्च हुन्छ। सभा हलको रेखदेख गर्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले ६ जना कर्मचारी खटाएको छ। ती कर्मचारीहरूलाई तलब सम्मेलन केन्द्रले आफैँ दिने गर्छ।

सहरी विकास मन्त्रालयले सभा हल सञ्चालन सम्बन्धी कार्यविधि नबनेसम्म सनराइज सभा हलको सञ्चालन तथा व्यवस्थापनको जिम्मा तत्कालको लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई दिइएको छ।

कार्यकारी निर्देशक दाहालका अनुसार चालु आर्थिक वर्षभित्र सभा हलबाट १ करोडदेखि डेढ करोड रुपैयाँसम्म सङ्कलन हुने अनुमान गरिएको छ। यो २०७८ सालमा उद्घाटन भएको थियो। उद्घाटन भएको वर्षमा सो सभा हल एक पटक मात्र प्रयोगमा आएको थियो। त्यसपछि पनि यो सभा हल खासै प्रयोगमा आउने गरेको छैन।

त्यसैले यसपटक कांग्रेस महासमिति बैठकले सभा हललाई राहत पुगेको हो।  उक्त भवन बनाउन ८१ करोड रुपैयाँ खर्च भएको छ। २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले उक्त भवनको शिलान्यास गरेका थिए भने २०७८ वैशाख ३१ गते उद्घाटन गरेका थिए।

केसी–समानान्तर जेभिले ८१ करोड रुपैयाँमा सो भवन बनाएका थियो। ३ हजारभन्दा बढी क्षमता रहेको उक्त भवनमा २०७८ असोज १५ देखि १७ गतेसम्म ३ दिन नेकपा ९एमाले०ले विधान महाधिवेशन गरेको थियो।

अपायक ठाउँ, तथा पार्किङ अभावले सम्मेलन केन्द्र प्रयोगमा आउन नसकेको हो। सम्मेलन केन्द्रसम्म पुग्ने बाटो साँघुरो र अप्ठ्यारो भएकोले पनि प्रयोग गर्न आयोजकहरूले त्यति चासो नदिएको व्यवस्थापनको जिम्मेवारी लिएका एक कर्मचारीले दाबी गरे।

‘सम्मेलन केन्द्रसम्म पुग्न बाडे गाउँ र ठैबमा बाटो अप्ठ्यारो र साँघुरो छ,’ ती कर्मचारीले भने, ‘कार्यक्रम गर्नका लागि सबैले आउने जाने  सुविधा खोज्ने नै भए। त्यसो नहुँदा सम्मेलन जति प्रयोगमा आउनु पर्थ्यो, त्यसरी प्रयोगमा आएको छैन’ उनले भने, ‘ठाउँ पनि त्यति पायक छैन।

दोस्रो कुरा त्यहाँ गएपछि पार्किङ गर्न समस्या छ। पार्किङ गर्न ठाउँ नै छैन।’ उक्त भवनले ४३ रोपनी १५ आना क्षेत्रफल ओगटेको छ। भवनसँगै रहेको १ सय रोपनी सरकारी जग्गामा सुकुम्वासीहरूले ओगटेका छन्। सुकुम्वासीले ओगटेको जग्गा सरकारले खाली गराउन सकेको छैन।

प्रकाशित: ७ फाल्गुन २०८० १७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App