१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चितवनका किसानले पाएनन् दुधको ५२ करोड भुक्तानी

दूध बिक्री नहुँदा किसान आन्दोलित

भरतपुरको केन्द्रीय बस टर्मिनल चोकस्थित सडकमा आइतबार दुग्ध उत्पादक सहकारीका किसान दूध पोखेर विरोध प्रदर्शन गर्दै। लामो समयसम्म भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै सहकारीका किसानले सडकमा ८० लिटर दूध पोखेर विरोध जनाएका हुन

चितवनको कालिका नगरपालिका–६ स्थित नव मिलिजुली दुग्ध सहकारी संस्थामा दैनिक १४ सय लिटर दुध संकलन हुन्छ। यहाँको दुध काठमाडौं, पोखरा र हेटौंडाका डेरी उद्योगले खरिद गर्दै आइरहेका छन्। तर यी उद्योगले दुध संकलन गर्न छाडेपछि किसान आन्दोलित भएका छन्। उनीहरूले आइतबार सडकमै दूध पोखेर विरोध जनाए।

नियमित खरिद गर्दै आएका उद्योगहरूले दूध लैजान छाडेको सहकारी अध्यक्ष कविता दाहालले बताइन्। ‘हेटौंडा डेरीले सातामा पाँच दिन भए पनि दुध लैजाने गरेको थियो। आज र भोलि (आइतबार र सोमबार) नलैजाने भन्ने जानकारी पठाएको छ,’ उनले भनिन्, ‘किसानबाट संकलित दुध के गर्ने भनेर सोच्नै सकिएको छैन।’ दुध बिक्री नहुँदा सबै किसान समस्यामा परेको उनको भनाइ छ।

किसानहरूले पोखरा फिस्टेल, काठमाडौं प्राइज र हेटौंडा डेरी उद्योगलाई दुध बिक्री गर्दै आएका थिए। पोखरा फिस्टेल र काठमाडौं प्राइजले दुई महिनाअघिबाटै नै दुध संकलन गर्न छाडेको अध्यक्ष दाहालले बताइन्।

नियमित खरिद गर्दै आएको बाँकी एउटा उद्योगले पनि दुध संकलन गर्न छाडेपछि समस्या भएको उनले बताइन्। ‘चितवन मिल्क उद्योग बन्द भयो। दुध खपत गर्ने ठाउँ पाइएन रे। त्यसकारण अब दुध लान सकिन्न भन्ने खबर आएको छ,’ उनले भनिन्, ‘अब के गर्ने विकल्प सोच्न सकिरहेका छैनौं।’

यी उद्योगले असोजदेखि किसानको रकम पनि भुक्तानी दिएका छैनन्। सहकारीले ऋण खोजेर पुससम्मको पैसा किसानलाई उपलब्ध गराएको उनले बताइन्। ‘हामीले डेरी उद्योगबाट करिब ९२ लाख रूपैयाँभन्दा बढी रकम लिन बाँकी छ,’ उनले भनिन्, ‘अहिले पैसा नदिए पनि दुध उठाइदिन आग्रह गर्दा पनि सुनुवाइ भएको छैन।’

भारतबाट आउने भएका कारण किसानको दुध बिक्री नभएको उनको भनाइ छ। ‘भारतबाट प्रतिलिटर ५० रूपैयाँमा नेपालमा दुध आयात हुन्छ रे। त्यसकारण यहाँबाट उद्योगले ७० रूपैयाँमा दूध लैजान नमानेको हो,’ उनले भनिन्। 

अध्यक्ष दाहालले पनि ११ वटा भैंसी पालेकी छन्। अहिले लागत मूल्यसमेत पाउन नसकेको उनले बताइन्। ‘१५ दिनमा दुधको पैसा पाउँदा मासिक खर्च मात्र बराबर हुन्थ्यो,’ उनले भनिन्, ‘चिसोमा उठेर गोबर फालेको मूल्य पाइन्न।’

यसरी दुधले बजार नपाएपछि चितवनका किसानले सडकमै दुध पोखेर आन्दोलन गरेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको नेतृत्वमा केन्द्रीय बस टर्मिनल चोकमा दुध पोखेर विरोध जनाएका हुन्। किसानको समस्या समाधान गर्न सरकार असक्षम रहेको भन्दै आन्दोलित किसानहरूले कृषिमन्त्रीको राजीनामासमेत मागेका छन्।

दुधले बजार र भदौदेखि भुक्तानीसमेत नपाएको भन्दै दुग्ध उत्पादक किसान आन्दोलित बनेको संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए। यसअघि पटकपटक राज्यको ध्यानाकर्षण गराइसक्दा समेत किसानका माग सुनुवाइ नभएपछि बाध्य भएर सडकमा दुध पोखाउनुपरेको उनले बताए। ‘मैले प्रधानमन्त्री, मन्त्रीहरूलाई समेत भेटेर समस्या राखेको थिएँ। हाम्रो सुनुवाइ गर्न उहाँहरू लाग्नुभएन,’ उनले भने, ‘हाम्रो मनले नमान्दा नमान्दै दुध पोखेर विरोध गर्नुपरेको छ।’

यहाँका दुग्ध उत्पादक किसानले दुध बिक्रीबापतको ५२ करोड रूपैयाँ रकम पाउन नसकेको संघका अध्यक्ष बगालेले बताए। जिल्लामा रहेका ११५ वटै दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानले पनि दुधको पैसा पाउन नसकेको उनले बताए। उनका अनुसार असोजदेखि भुक्तानी पाइएको छैन। ‘यहाँबाट नेपालमा भएका ३१ उद्योगमा दुध जाने गरेको छ।

दुग्ध विकास संस्थानमा मात्रै दैनिक ३५ हजार लिटर जान्छ,’ उनले भने, ‘चार महिनादेखि भुक्तानी पाइउको छैन।’ चितवनबाट १ लाख ५१ हजार लिटर दुध दैनिक बाहिरी जिल्ला जाने गर्छ। अहिले दुध बिक्री हुन छाडेको उनले बताए। कतिपय सहकारी संस्थाले ऋण खोजेर किसानहरूलाई भुक्तानी गरेको उनले बताए।

यस सहकारी संस्थाअन्तर्गत ४० हजार हाराहारीमा किसान आबद्ध छन्। हरेक १५÷१५ दिनमा दुधको भुक्तानी पाउनुपर्ने भए पनि लामो समय नपाउँदा दुग्ध उत्पादक किसान पशुलाई आहार खुवाउनै नसक्ने अवस्था आएको उनको भनाइ छ।

दुध बेचेर गुजारा चलाउँदै आएका चितवनका हजारौं किसानले भदौदेखि पैसा पाएका छैनन्। भरतपुर महानगरपालिका–१६ स्थित गौरव दुग्ध उत्पादक सहकारी संस्थाले भुक्तानी नपाएपछि किसानलाई नौनी र पाउडर बेच्न थालेको छ। ‘किसानलाई दिने पैसा भएन।

१५ दिनमा कम्तीमा एकपटक एक दिनको नौनी र पाउडरको दुध दिने गरेका छौं,’ संस्थाका अध्यक्ष प्रेमसागर कँडेलले भने, ‘डेरी उद्योगले नियमित पैसा नदिँदा हामीलाई समस्या भएको छ।’ भरतपुर–१० स्थित संघको कार्यालय परिसरमा भेला भएका किसानले नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासमक्ष ज्ञापनपत्र पनि बुझाएका छन्।

प्रकाशित: ७ फाल्गुन २०८० १३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App