१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

जोडु गाउँमा कोइरा पर्व

कोइरा रोप्दै स्थानीय । तस्बिर : नागरिक।

आज फागुन ७ गते। देशभर विभिन्न कार्यक्रम आयोजना गरी प्रजातन्त्र दिवस मनाइँदै छ। यता जुम्लाको सिँजा गाउँपालिका ६ जोडु गाउँमा भने धुमधामका साथ कोइरा पर्व मनाइँदै छ।

आजका दिन बारीमा कोइरा र चोताको बीउ रोपेर कोइरा पर्व मनाउने गरिन्छ। वसन्त ऋतु भित्रने दिनका रूपमा कोइरा पर्व मनाउने गरिएको ८७ वर्षीय मोतीराम बुढाले बताए।

जोडु गाउँका हरेक घरका मानिसले बारीमा कोइरा र चोतो लगाउँछन् र मिठा परिकार बनाएर आपसमा बाँडेर खाने तथा सुखदुःख साट्ने गर्दछन्। जोडु गाउँमा दुई सयभन्दा बढी घरधुरी छन्।

कोइरा चोता रोपेपछि हरेक वर्ष नयाँ खेतीको सुरुवात भएको मानिन्छ। यससँगै किसानले बारीमा खनजोतका काम अघि बढाउँछन्। बालीनाली लगाइने फागुन ७ लाई शुभ दिनका रूपमा पनि लिइन्छ।

यस दिन पाँच÷पाँचवटा कोइरा र चोता बारीमा रोप्छन्। एकातिर कोइरा र अर्कातिर चोता रोपिन्छ र सल्लाको रुखबाट झरेको पिरलले बीउ ढाकछोप गरिन्छ। दिउँसो १ बजेदेखि साढे २ बजेसम्म कोइरा लगाइन्छ।

फागुन ७ मा अलिअलि हिउँ पर्नुपर्ने जनविश्वास छ। कात्तिक र मंसिर महिना औल (हाट) गएका गाउँले घर फर्कने जनविश्वास रहेको छ । यस दिनमा पुरी र जिगुराको तरकारी खाने गरिन्छ।

जोडु गाउँलाई कोइरा र चोताको ठाउँ भनेर चिनिन्छ। यो गुलियो र रसिलो हुन्छ। यसबाट विभिन्न परिकार बनाउन सकिन्छ। जस्तै– चाना, असुरो, रुम्ला आदि। चाना फापरको पिठोसँग मिसाएर ढेस्सु हालेर खाने चलन छ। कोइरा र चोता स्वास्थ्यका लागि राम्रो मानिन्छ।

प्रकाशित: ७ फाल्गुन २०८० १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App