आयआर्जनका लागि नेपाल सरकारबाट श्रम स्वीकृति लिई आफ्नो देशभन्दा बाहिर अन्य देशमा गएर शारीरिक तथा मानसिक श्रमका लागि युवा भौंतारिइरहेका छन्। नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौँ युवा कामका लागि बिदेसिने गरेका छन्।
रोजगारीको अवसर खोज्दै खाडी मुलुक, मलेसिया, युरोपलगायतका मुलुकमा दिनहुँ करिब तीन हजार युवा जाने गरेका छन्। यसरी बिदेसिने युवाहरू म्यानपावर कम्पनी, यसका एजेन्टका साथै सम्बन्धित सरकारी निकायबाट पाइला पाइलामा ठगिने, शोषित हुने गरेका तथ्य त्यतिकै सार्वजनिक हुने गरेका छन्।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३० लाख ४३ हजार बढी युवाले वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिएका छन्। यसै अवधिमा वैदेशिक रोजगार विभागमा कुल तीन हजार चार सय ९५ वडा उजुरी पीडितका तर्फबाट परेका छन्। विदेश जानुअघि स्वदेशी निकायहरूबाटै ठगिनु र विदेश गएपछि पनि भने बमोजिमको काम तथा सेवा सुविधा नपाएर पीडित बन्ने गरेका युवाको संख्या ठुलो छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूलाई हेप्ने, अधिक समय काममा लगाउने, पासपोर्ट नदिने, आश्वासन दिएअनुसारको काम र तलब सुविधा नपाउने वा न्यून पारिश्रमिक दिने, विश्राम समय नदिने, कार्यस्थल परिवर्तन गर्न नदिने, बिरामी भएमा उपचार खर्च नदिने वा उपचार नगराउने, अकाल मृत्यु हुने, अंगभंग हुने जस्ता समस्या धेरै देखा परेका छन्। त्यो मात्रै नभएर महिला कामदारहरूलाई कडा निगरानीमा राख्ने, महिला हिंसा तथा मानव बेचबिखनको सिकार हुने, यौन शोषण गर्ने सम्भावना बढी हुने जस्ता समस्याका कारण वैदेशिक रोजगारी धेरै जसो नेपालीका लागि अवसर नभई बाध्यात्मक बन्न पुगेको छ।
वैदेशिक रोजगारीका क्रममा गत साउनदेखि पुससम्ममा ठगीमा परेका युवाले १३ करोड ८४ लाख ४५ हजार रुपैयाँ पाएका छन्। उक्त रकम वैदेशिक रोजगार गएर फर्किएका पीडित र स्वदेशमै ठगीमा परी विदेश जान नपाएका युवाले पाएको रकम हो। जसमध्ये फर्छ्यौट संख्या एक हजार पाँच सय ६० छ। उनीहरूको कुल मागदाबी कति थियो भन्ने तथ्याङ्क विभागले राखेको छैन। यस्तो तथ्याङ्क विभागले तयार गरिरहेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए।
वैदेशिक रोजगारी पीडित व्यक्तिमध्ये धेरैजसो पीडा दबाएरै बस्न बाध्य रहेका छन् भने धेरैले संघसंस्थामार्फत पीडा वा ठगीविरुद्ध लागेर न्याय पाइरहेको पनि देखिएको छ। वैदेशिक रोजगारीमा जाने कामदारलाई अधिकांश म्यानपावर कम्पनीले उनीहरूले तिरेको रकमको रसिदसम्म नदिने गरेको थुप्रै पीडितको आरोप छ।
त्यस्तै गत साउनदेखि पुस मसान्तसम्म विभागको उद्धार, राहत तथा समन्वय शाखामा ६ सय ९० उजुरी परेका छन्। विभागका अनुसार यस अवधिमा विदेशमा समस्यामा परेका ४५ जनाको उद्धार गरिएको छ। एक सय ७२ जनाले क्षतिपूर्ति पाएका छन्। ७९ उजुरी दुई पक्षबिच आपसी सहमतिमा फर्छ्यौट भएको विभागको भनाइ छ। त्यसैगरी ६५ वटा उजुरी फिर्ता भएका छन् भने एउटा उजुरी तामेलीमा गएको विभागको तथ्याङ्कमा उल्लेख छ। उक्त शाखामा परेका कुल ६ सय ९० उजुरीमध्ये तीन सय ६२ फर्छ्यौट भएका छन्। उनीहरूलाई एक करोड ३९ लाख ४६ हजार क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ। विभागमा पीडितले दिने अधिकांश उजुरीमध्ये सबैभन्दा बढी पैसा लिएर विदेश नपठाउने विषयमा पर्ने गरेको विभागका अधिकारीहरूले बताए।
वैदेशिक रोजगारी विकासशील र कम विकसित देशका लागि विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो। त्यसैले वैदेशिक रोजगारीका लागि दैनिक करिब तीन हजार युवा जाने गरेका छन्।
त्यस्तै ६ महिनामा वैदेशिक रोजगारीमा नयाँ तथा पुनः गरेर ३० लाख ४३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्। विभागको तथ्यांकअनुसार नयाँ व्यक्तिगत श्रम स्वीकृति लिने पुरुषको संख्या ३२ हजार सात सय ७२ छ भने श्रम स्वीकृति लिनेमा महिला नौ हजार चार सय ११ जना रहेका छन्। जसअनुसार म्यानपावरमार्फत नयाँ श्रम स्वीकृति लिने पुरुषको संख्या एक लाख ३९ हजार तीन सय ६६ छ भने १९ हजार ६ सय २० जना महिलाले म्यानपावरमार्फत नयाँ श्रम स्वीकृति लिएका छन्। भारतमा काम गर्ने नेपालीहरूको यकिन तथ्याङ्क सरकारसँग छैन।
त्यस्तै एक लाख २५ हजार तीन सय ३४ पुरुष र १० हजार एक सय एक महिलाले पुनः श्रम स्वीकृति लिएका छन्। सरकारी संयन्त्र (जिटुजी)मार्फत ६ हजार तीन सय ६७ पुरुष र चार सय ३३ महिला दक्षिण कोरिया पुगेका छन्।
नेपालीहरूले वैदेशिक रोजगारीमा जाँदा ऋण लिएर जाने र कमाएको पैसाबाट पहिला ऋण तिर्ने, बचत भएमा घरायसी काममा खर्च गर्ने र त्यसपछि पनि बचत भएमा घर जग्गा खरिद गर्ने गरेका हुन्छन्। त्यसैले सहजै वैदेशिक रोजगारीलाई युवाले पहिलो प्राथमिकता दिएका छन्। जसले गर्दा नेपालमा अधिकांश गाउँहरूमा युवाहरू भेटिँदैनन्, वृद्ध र महिलाहरू मात्र भेटिन्छ। मर्दा मलामी र बिहेमा जन्ती जानेमा युवा नै छैनन्। युवाहरू घर परिवार छोडी कामका लागि बिदेसिनु परेको छ। हराभरा उमेरमा पतिपत्नी सँगै बस्न पाएका छैनन् भने छोराछोरीले बुबाआमाको स्नेहबाट वञ्चित हुनुपरेको छ। कलिलो उमेरमा परिवार छोडेर विदेशमा वर्षौँसम्म बस्दाको सामाजिक लागत ठुलो हुन्छ। तर, वैदेशिक रोजगारीबाट फर्केपछिको पारिवारिक पुनर्मिलन पनि धेरै जटिल हुने गरेको अवस्था पनि छ।
वैदेशिक रोजगारीका क्रममा ठगिएका युवालाई सघाउने यस्तै संस्थामध्ये एक सशक्त फोरम बनेर उभिएको छ। मानव अधिकारका लागि जनमञ्च अर्थात् पिपुल फोरम, जसले वैदेशिक रोजगारीमा ठगिएकालाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएको छ।
त्यस्तै विभागको मुद्दा तथा अनुसन्धान शाखामा एक हजार एक सय ३० उजुरी परेका छन्। जसमध्ये एक सय ९१ मुद्दा मिलापत्र भएका छन् भने ८४ मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर भएका छन्। यो शाखामा परेका उजुरीअन्तर्गत ११ करोड दुई लाख ८९ हजार ६ सय रुपैयाँ क्षतिपूर्ति पीडित पक्षलाई उपलब्ध गराइएको उल्लेख छ।
त्यस्तै प्रहरी शाखामा एक हजार ६ सय ७५ उजुरी परेका छन्। जसमध्ये ६५ मिलापत्र गरिएको र आठ सय ५८ फर्छ्यौट गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ। सात सय ५२ उजुरी फर्छ्यौट हुन बाँकी छन्। यो शाखामार्फत एक करोड ४२ लाख नौ हजार चार सय रुपैयाँ रकम असुलउपर गरिएको उल्लेख छ।
वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्ष २०७९/८० मा पाँच लाख ६ हजार सात सय ४६ जना सबैभन्दा धेरै दक्ष युवा वैदेशिक रोजगारीमा गएका थिए। यस वर्षको ६ महिनाको अन्तरालमा पनि वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी दक्ष कामदार रहेका छन्। बिदेसिएका सिपयुक्त युवा भए राम्रो कामको अवसर पाउनुका साथै उच्च तलब तथा अन्य सुविधासमेत पाउने सम्भावना अत्यधिक हुन्छ। वैदेशिक रोजगारीलाई अवसरको रोजगारी बनाउन शोषणमुक्त, सुरक्षित, व्यवस्थित, मर्यादित र सामाजिक लागत कम गर्नु आजको आवश्यकता रहेको छ।
प्रकाशित: १ फाल्गुन २०८० १८:३७ मंगलबार