१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

घरघरमा छिर्न थाले बाँदर र बँदेल, सडकमै देखिन्छन् चितुवा

केही दिनअघि म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन्। करिब दुई सयको सङ्ख्यामा आएका बाँदरले छानामा राखेको फर्सी पनि छोडेनन्।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट र वडा नं २ रुममा बँदेलले खेतबारीमा रजाइँ गर्न थालेको धेरै भयो। गत साता घर भित्र नै बँदेल छिरेर टेकबहादुर विक र मङ्गल सुनारको परिवारलाई आतङ्कित बनायो। बेनी–बागलुङ सडकमा चितुवालगायत जङ्गली जनावर गुडिरहेका सवारी साधनमा ठोक्किएर पछिल्लो एक सातायता दुईवटा दुर्घटना भएका छन्।

यी म्याग्दीमा जङ्गली जनावरले दुःख दिएका केही प्रतिनिधिमूलक घटनाहरु मात्र हुन्। विगत दुई वर्षयता जङ्गली जनावरको आतङ्क बढ्दै गएपछि पशु चौपायाका साथै मानिसलाई समेत खतरा उत्पन्न भएको स्थानीय बताउँछन्।

वन्यजन्तुले खेतीबाली र बाख्रा खान थालेपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन्। सडक छेउछाउमा चितुवा देखिन थालेपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ।

जङ्गल नजिकका गाउँमा चितुवा, बँदेल, बाघ, मृग, भालुलगायत जनावरले दुःख दिने क्रम बढेको मालिका–१ का तिलमाया पुनले बताए। उनका अनुसार पछिल्लो समय चितुवाले खोरबाटै बाख्रा लगेपछि व्यावसायिक बाख्रापालन गर्दै आएका कृषक समस्या छन्।

बाँदर र बँदेलले खेतीबाली नष्ट गर्नुका साथै घरभित्र पसेर थन्काइएको अन्नसमेत खाने, स्थानीयलाई आतङ्कित बनाउने गरेको पुनले बताए।

‘मान्छेलाई नै आक्रमण गर्न खोज्छन्। अन्नबाली नष्ट गर्नुका साथै स्थानीयमा डर पैदा गरेका छन्’, जलेश्वरका इन्द्र बरुवालले भने। उनले दैनिक जसो बाँदरको उपद्रो नियन्त्रणका लागि सरोकारवाला निकायलाई सहयोगका लागि अनुरोध गरिरहेको बताए।

विगतमा देखिने बाँदरजस्तो नभई कुनै सहरी क्षेत्र वा धेरै मान्छेको हुलमुलबाट ल्याएको जस्तै देखिने बरुवालले बताए। उनका अनुसार एक पटक लखेटेका बाँदर फेरी बस्ती आसपासमा आउने गरेका छन्। समूहमा हिँड्ने र बालीनालीलाई एकैछिनमा सखाप पार्ने हुँदा किसान बाँदरबाट आक्रान्त बनेका उनको भनाइ थियो।

जलेश्वर र गलेश्वर क्षेत्रमा देखिएका बाँदरको चरित्र र आनीबानीबारे अनुसन्धान गर्न स्थानीयवासीले जनप्रतिनिधिलाई समेत अनुरोध गरेका छन्। पहिले जङ्गलमै भुल्ने बाँदर बस्तीतिर सरेपछि सर्तकता अपनाउनुपर्ने डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ। 

फलफुलको सिजनमा बाँदर बस्तीतर्फ आउने र आङ्तक मच्चाउने गरेपनि बाँदर व्यवस्थापनका लागि ठोस नीति र कार्यक्रम तय गर्नु आवश्यक रहेको सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताए। धपाउने, लखेट्ने परम्परागत विधिले मात्र अब बाँदर नियन्त्रण सम्भव नहुने उनको भनाइ थियो।

सापकोटाले बाँदरबाट प्रभावित किसानलाई बाँदरले प्रयोग नगर्ने वा वैकल्पिक पेसा रोज्नुपर्ने बताए। म्याग्दीका बस्तीमा बाँदरको आङ्तकले खेतीपाती र फलफुलको सिजनमा किसान चिन्तित हुने गरेको उनको भनाइ थियो।

बँदेलले रातारात आलु खेती नष्ट गर्ने क्रम बढेको आलु किसान बताउँछन्। हुलकाहुल आउने बँदेलले एक रातमा ठूलो क्षेत्रको आलु खेती नष्ट गरेका मालिका–१ का किसान टेकबहादुर पुनले बताए। 

‘बाँदर र बँदेलले खेतीबाली नष्ट गरेर धेरै क्षति पुर्‍याइरहेका छन्’, उनले भने, ‘अझ चितुवाले बाख्रासमेत मार्ने क्रम बढ्दा धेरै कृषकले नोक्सानी व्यहोर्नुपरेको छ।’

बाँदर थपाउन खोज्दा उल्टै आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन्। बालबालिकालाई आक्रमण गर्ने चिन्ता बढेको स्थानीय बताउँछन्। पछिल्लो एकसाता यता बेनी–गलेश्वर सडकखण्ड आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा भेटिने बाँदर कतैबाट ल्याएर छोडेजस्तै देखिने स्थानीयको भनाइ छ।

बेनी नगरपालिका–३ लहरेनीका तिला चर्मकारले गाउँमा खेतीबाली र पशुचौपाया जङ्गली जनावरले नष्ट गरिदिन थालेपछि आफूहरु हैरान परेको उनको भनाइ छ। ‘दिनमा बाँदरले सताउँछन्। राति चितुवा कति बेला खोरमै आएर बाख्रा, कुखुरा लैजान्छ पत्तो हुँदैन’, उनी भन्छन्, ‘यो गाउँका हरेकजसो घरका बाख्रा चितुवाले मारेको छ।’

‘जङ्गल क्षेत्रमा आहारा कम पाइन थालेकाले पनि हुन सक्छ जङ्गली जनावरको बिगबिगी गाउँ तथा बस्तीमा बढेको छ’, डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत सापकोटाले भने। 

यहाँका जङ्गल आसपासका क्षेत्रमा बस्ती विस्तार हुँदा चितुवाको वासस्थान सुरक्षित नहुनु, चितुवाको आहार प्रजातिमा उल्लेखनीय कमी आउनु, प्राकृतिक आनिवानीमा परिवर्तनलगायत कारणले चितुवालगायत जङ्गली जनावर आक्रामक बन्दै गएका उनले बताए।

वन जङ्गलमा लागेको डढेलोका कारण अहिले वासस्थान खलबलिएको अवस्थामा मानव र चितुवाको जम्काभेट हुनसक्ने सापकोटाले बताए। म्याग्दीमा चितुवाको सङ्ख्या बढेकाले आहाराको खोजीमा मानव बस्ती र सडक छेउछाउमा देखिन थालेका स्थानीयले बताएका छन्।

ग्रामीण क्षेत्रमा लगाइएका हिउँदे र बर्खे बाली जङ्गली जनावरबाट  जोगाउन स्थानीय रातभर जाग्राम बस्न थालेका छन्। जङ्गली जनावर मार्न नपाइने र धपाउनसमेत नसकिने भएपछि कृषकलाई सास्ती भएको कृषक बताउँछन्।

प्रकाशित: २८ माघ २०८० १४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App