१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

आफन्तबाटै बलात्कृत हुँदै छन् बालिकाहरू

फाइल तस्बिर

कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहा गाउँकी १६ वर्षीया बालिका निरु विकको २०७८ साल भदौ ४ गते राती मेला हेर्न गएको समयमा बलात्कारपछि हत्या भएको आशंका गरियो। घटना घटेको साढे दुई वर्ष भइसक्दा समेत घटना अझै रहस्यमै छ।  किशोरी हत्याको आशंकामा स्थानीय दुई जनालाई थुनामा राखी सोधपुछपछि थुना मुक्त समेत गरिएको छ।

यस्तै सुर्खेतको पन्चपुरी नगरपालिका–६ मा बुवाले आफ्नै १५ वर्षीया छोरी माथि बलात्कार गरे। बुवाबाट बहिनी बलात्कृत भएको थाहा पाएपछि उनका दाइले प्रहरीमा उजुरी दिए। बलात्कारको घटनाको उजुरी दिने छोराको निर्ममतापूर्वक उनै बुवाले हत्या गरे। बहिनीलाई बलात्कार गरेको भन्दै दाजुले गएको १५ कात्तिकमा जिल्ला प्रहरी कार्यालयमा बुवाविरुद्ध जाहेरी दिएका थिए।

प्रहरीका अनुसार ती बालिका आमाको मृत्युपछि मामाघरमा बस्दै आएकी थिइन्। गत २७ असोजमा भारतबाट फर्किएका बुवाले उनलाई भेट्न बोलाएका थिए। खुसीले बुवा भेट्न पुगेकी उनी उल्टै बुवाबाटै बलात्कृत भइन्। आफू बलात्कृत भएको घटना सुनाउँदा कान्छी आमाले ‘यस्तो कुरा बाहिर भन्नुहुँदैन’ भन्दै सम्झाएको उनको भनाइ छ। आमापछि उनले त्यही कुरा दाजुलाई भनिन्। दाजुले प्रहरीमा जाहेरी दिए। उजुरी पछि फरार रहेका बुवाले पछि आएर छोराको हत्या समेत गरे।

गत असार २९ मा वीरेन्द्रनगरकै अर्की बालिका पनि घरभित्रै बलात्कृत भइन्। १४ वर्षीया ती बालिकालाई पनि उनकै बुवाले बलात्कार गरेका थिए। जन्मदिने आमाको मृत्युपछि बुवाले दोस्रो बिहे गरे। कान्छी आमा माइत गएको मौका छोपी बुवाले बलात्कार गरेको ती बालिकाको बयान थियो।

घरमा कोही नभएको मौका छोपेर शरीरमा तेल घस्न पठाई सुत्न जाऊ भनी आफू कपडा खोलेर धारिलो चक्कु बोकेर कोठा बन्द गरेर आफूलाई बलात्कार गरेको उनको जाहेरी थियो। बुवाबाट बलात्कृत भएपछि उनी अर्को दिन प्रहरीसमक्ष उजुरी लिएर आइपुगेकी थिइन्।

बलात्कारका यस्ता विभत्स घटना कर्णालीका अन्य जिल्लाहरूमा पनि बढ्दो क्रममा छन्। इन्सेक कर्णाली प्रदेशका अनुसार सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म ८ बालिका बुवाबाटै बलात्कृत भएका छन् भने २ जना एकाघरका काकाबाट बलात्कृत भएका छन्। प्रदेश संयोजक नारायण सुवेदीले पछिल्लो समयमा आफन्त र हाडनाताभित्रबाट भएका विभत्स किसिमका बलात्कारका घटनाहरू समेत बढ्दो रहेको बताए।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार यो हप्तामा मात्र ३ वटा बलात्कृतका मुद्दा दर्ता भएका छन्। गाउँमै फेसबुकबाट लभ गरेर बलात्कृत हुने गरेको कालिकोटका डिएसपी अर्जुन केसीले बताए। उनका अनुसार अहिले प्रहरीमा धेरै उजुरी आउने गरेको पाइएको छ। 

६८ छोरी बलात्कृत

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पनि कर्णालीमा हाडनाता करणी बढेको देखिन्छ। प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला पाँच वर्षमा हाडनाता करणी भएका ६८ घटना बाहिरिएका छन्।

त्यसमध्ये आफ्नै बुवाबाट बलात्कृत भएका २३, दाजुभाइबाट १३ र हाडनाता करणीका अन्य उजुरी समेत गरी ६८ वटा उजुरी छन्। समाजमा आफन्तबाट बलात्कारका घटना बढ्दै जाँदा समाजमा आपसी मित्रता भाइचाराको सम्बन्धमा समेत विश्वासको कमी हुँदै गएको जानकारहरूको भनाइ छ।

यस्तै जिल्ला प्रहरी कार्यालय कालिकोटमा २०७९/८० मा  कर्तव्य ज्यान मुद्दाहरू ३ वटा दर्ता भएको जनाएको छ। जबरजस्ती करणीका १६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए। उनका अनुसार यो वर्षमा  कर्तव्य ज्यानका ६ वटा मुद्दा दर्ता भएको बताइएको छ। यस्तै जबरजस्ती करणका ६ वटा मुद्दा दर्ता भएका छन्। उनका अनुसार धेरै जस्तो जबरजस्तीका केशमा परिवारले छोरीहरूलाई धेरै चासो नदिने गरेको कारण घटना बढेको पाइएको छ। उनले विकट कर्णालीमा पछिल्लो समयमा सामाजिक सञ्जालको  दुरुपयोग समेत हुने गरेको बताए। 

प्रकाशित: २६ माघ २०८० १८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App