२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रामधुनी मन्दिरलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं : चौधरी

रामधुनी नगरपालिकाको नेतृत्वमा रहेको डेढ वर्ष बितिसकेको छ, यो अवधिमा केके काम भए त ?

रामधुनी नगरपालिकाको मुख्य पूर्वाधार नै पर्यटन हो। पर्यटन पूर्वाधार विस्तारलाई नै फोकस गरेका छौं। रामधुनी मन्दिरलाई पहिलो प्राथमिकतामा राखिएको छ। यहाँ शंकरबेली, जुडी ताल, प्रेम ताल र राशा ताल छन्। यी पर्यटकीय क्षेत्रको सुन्दरता बढाउनु छ। भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको निर्माण कार्य दू्रत गतिमा भइरहेको छ। नौवटै वडामा सडक कालोपत्रे भइरहेको छ। चालु आर्थिक वर्षमै शंकरबेली तालको सौन्दर्य बढाउन एक करोड ३० लाख रुपैयाँ र रामधुनी मन्दिरका लागि एक करोड रुपैयाँ निकासा भएको छ। यो मन्दिर जनकपुरी मोडलमा निर्माण गर्ने तयारी हुन लागेको छ। त्यसको डिपिआर तयार भइसकेको छ, यहाँ ६० फिटको मूर्ति बन्ने छ। एक सय ८ वटा धारा बन्ने छन्। यहाँ गाई गोठ छन्। त्यसलाई आधुनिकीकरण गरिनेछ। धर्मशाला बनाइने छ।

यस पालिकामा ५० भन्दा बढी सहकारी छन्। त्यहाँ कार्यरत कर्मचारीलाई तालिम दिएका छौं। यसैगरी एउटा मुस्लिमसहित २७ वटा सरकारी विद्यालय छन्। ती विद्यालयको अनुगमन भइरहेको छ।  

त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन होमस्टेको अवधारणा ल्याएका छौं। यसको उद्देश्य कोशी नदी, विष्णुपादुका, बराहक्षेत्र, धरान पिण्डेश्वर, मुक्तिघाट इटहरी घुमफिर गरी फर्कने पर्यटकलाई मनोरञ्जन दिई अड्याउनु हो।

नगरपालिकाको आन्तरिक आम्दानी बढाउन पर्यटकीय क्षेत्रको योगदान कति रहेको छ ?

धेरै योगदान छ। यस नगरपालिकामा थुप्रै पर्यटकीय स्थल छन्। ती स्थलको भ्रमण गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। उनीहरूको आगमन जति बढाउन सक्यो, उति नै यस नगरपालिकाको आम्दानी बढ्छ। यही नै यस पालिकाको आम्दानीको स्रोत हो। पर्यटकको आगमनले यी क्षेत्र वरपरका पसल चल्छन्। कृषिजन्य उत्पादन बिक्री हुन्छ। यसले नगरपालिकाको आम्दानीमा टेवा पु¥याउँछ।

विद्यालय अनुगमन भइरहेको छ भन्नुभयो, केकस्ता सुधारका प्रयास भइरहेका छन् त ?

अनुगमन गरिरहँदा सरकारी विद्यालयको शैक्षिक गुणस्तर उठाउन पहल थालिहाल्न जरुरी छ भन्ने महसुस गरेका छौं। यसको पहिलो पाइला अंग्रेजी पढाइमा जोड दिएका छौं। केही विद्यालयले अंग्रेजी माध्यमबाट पढाइको सुरुवात गरिसकेका छन्। भादगाउँ सिनुवारी माध्यमिक विद्यालयमा अघिल्लो वर्षबाटै अंग्रेजी माध्यमबाट पढाइ सुरु भइसकेको छ। शैक्षिक सुधारका लागि पाँच लाख रुपैयाँ अनुदानको व्यवस्था गरिसकेका छौं। यो वर्ष पनि व्यवस्था गरिसकेका छौं। यसलाई प्रभावकारी बनाउन स्थानीय पाठ्यक्रम तयारी गरिसकेका छौं। छपाइ कार्य हुँदै छ। वैशाख १ गते पञ्चायन भन्ने ठाउँमा सिरुवा मेला लाग्छ। यस्ता विषयलाई स्थानीय पाठ्क्रमले समेटेको छ। आफ्नो ठाउँका बारेमा पढ्न पाउँदा विद्यार्थीले पनि चाँडो बुझ्न सक्छन् भन्ने हाम्रो भनाइ छ।  

रामधुनीलाई उर्वर कृषि भूमि मानिन्छ, यसतर्फ केकस्ता कार्य भइरहेका छन् त ?

कृषि उत्पादन बढाउन आधुनिकीकरणमा जानुपर्छ भन्नेमा दुईमत छैन। औजारीकरणको सुरुवात भइसकेको छ। यसविना कृषि अगाडि बढ्ने स्थिति छैन। अघिल्लो वर्ष मात्रै हामीले २७ जना किसानलाई हाते ट्याक्टर, औषधी छर्ने स्प्रे, धान काट्ने मेसिन, बीउ छान्ने मेसिन वितरण गरेका छौं। यसपालि पनि पम्पसेट वितरण गर्ने तयारी छ।

स्वास्थ्य क्षेत्रमा केकस्ता काम भइरहेका छन् ?

केपी ओली शर्मा प्रधानमन्त्री हुँदा तीन सय ९६ वटा हस्पिटल भर्चुअल रुपमा शिलान्यास भए। त्यसमध्ये रामधुनी अस्पताल पनि एक हो। त्यो बक्लौरीमा छ। त्यो १५ बेडको रहने छ। यतिखेर ठेकेदारको लापरबाहीका कारण अस्पताल निर्माण कार्य अगाडि बढ्न सकेको छैन। यो विषय मन्त्रालयसम्म पुगेको छ। अर्को टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ। स्वास्थ्य बिमाको व्यवस्था छैन। त्यो अस्पताल बिना नहुँदो रहेछ। यसका लागि काठमाडौंस्थित स्वास्थ्य बिमा बोर्डसँग समन्वय भइरहेको छ। स्वास्थ्य बिमा स्वीकृति नहुँदा सर्वसाधारणले इटहरी र इनरुवा जानु परेको छ। स्वास्थ्य चौकीबाट पनि सेवा पुगिरहेको छ। तर पनि हामीले स्वास्थ्य सेवालाई थप राम्रो बनोस् भनेर बर्सेनि बजेट छुट्याइरहेका छौं।

गाउँ विकास समिति हुँदा पनि तपाई नेतृत्वमा रहनुभयो, बाँकी समयमा रामधुनी नगरपालिकालाई कस्तो बनाउने योजना छ ?

रामधुनीका मुख्य सडक चारैतिरका पालिकासँग जोडिएको छ, ती सबैलाई कालोपत्रे गरिने छ। रामधुनी मन्दिर आकर्षक बनाउन संघीय सभासद् ज्ञानेन्द्र कार्कीसँग जोडिएको छु। अर्का सभासद् भीम आचार्यसँग जोडिएको छु। उहाँहरूले रामधुनी मन्दिर निर्माणका लागि हामीले कल्पना गरेभन्दा बढी ३५ करोड बजेट जुटाइदिनु भयो भने हाम्रो लक्ष्य पूरा हुनेछ। त्यस्तै क्याम्पस निर्माणमा लागिपरेका छौं। यो क्याम्पस भादगाउँ सिनुवारी माध्यमिक विद्यालयसँगै छ। आगामी वर्षमै आफ्नै भवनमा क्याम्पस सर्नेछ। इलाका प्रहरी कार्यालय ल्याएका छौं। त्यसका लागि भवन बनाउन बाँकी छ। बाँकी कार्यकालभित्र सबै वडाका कुनाकाप्चालाई झुम्कासँग जोड्ने हाम्रो लक्ष्य पुरा हुनेछ। यसैगरी झुम्कासँगै डुम्राहा बजार चोक, सिंघिया बजार चोक, लालपुर बजार चोक र बक्लौरी बजार चोकमा सडक बत्ती जडान गरिने छ। कारागार अगाडि पनि सडक बत्ती देख्न पाउनुहुनेछ।

रामधुनीको समग्र विकासका लागि संघीय सांसद कार्की र आचार्यसँग जोडिएको छु भन्नुभयो, यसका लागि केकस्ता पहल भइरहेका छन् त?

पहिलो कुरा त उहाँहरूले रामधुनीको विकासका लागि पहल गरिरहनुभएको छ। यसकारणले पनि झुम्कादेखि रामधुनी मन्दिरसम्मको दुई लेन सडक विस्तारका लागि छलफल अगाडि बढाइरहेको छु। व्यक्तिगत रुपमा पनि भेट गरिरहेको छु। मैले भारतका धेरै राज्य घुमेँ। नेपालकै धेरै जिल्ला घुमेँ, तर यहाँको जस्तो अमर आगो कहीँ पाइनँ। यो ऐतिहासिक धुनी हो। यसकारणले पनि हामीले रामधुनी  मन्दिर बनाउन बढी जोड दिएका हौं। राम भनेका भगवान् र धुनी भनेको आगो हो। त्यो धुनी त्रेता युगमा भगवान् राम वनवास गएका  बेला ताप्नका लागि धुनी जगाएको भन्ने भनाइ छ, जुन अहिलेसम्म अमर छ। नगरपालिकाले आफ्नै लगानीमा संरक्षण गर्ने नीतिअनुरुप काम गरिरहेको छ।  

रामधुनी क्षेत्र विकासका लागि स्थानीय राजनीतिक दल र संघसंस्थासँग पनि समन्वय भइरहेको छ कि ?

उहाँहरूसँग पनि समन्वय र सल्लाह गरिरहेको छु। अब बजार क्षेत्रको विकास र ट्राफिक प्रहरी व्यवस्थापन गर्न उद्योग वाणिज्य संघ झुम्कासँग समन्वय गरेर अघि बढ्नुपर्ने अवस्था छ।

तपाईं स्वच्छ छविको व्यक्तिका रुपमा चिनिनुहुन्छ, नगरपालिकाको सुशासनका निम्ति केकस्ता काम गरिरहनुभएको छ ?

सवैभन्दा पहिले वडापत्र बनाएका छौं। वडापत्रमा लेखिएअनुसार समयमै सेवाग्राहीले सेवा पाउने गरेका छन्। वडापत्रमा लेखिएका सेवा दिन सकियो भने सुशासन राम्रो हुन्छ। सेवा राम्रो भयो भने सुशासन राम्रो हुन्छ र नगरपालिका मेरै घरसम्म आइपुग्यो भन्ने अनुभूति सर्वसाधारणले गर्ने छन्।  त्यसमा म सचेत छु।

कर्मचारीबाट कत्तिको सहयोग पाउनुभएको छ?

कर्मचारी व्यवस्थापनमा ध्यान दिन आवश्यक ठानेका छौं। यसलाई ध्यानमा राखेर हालै नयाँ अधिकृत फेरेका छौं। यसमा उपमेयरले बढी ध्यान दिनुभएको छ।

प्रकाशित: २६ माघ २०८० १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App