१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

‘सावधान ! मंगल ग्रहमा अझ बढी बाँच्न सक्छ ब्याक्टेरिया’

नासाको परसरभरेन्स रोभरले खिचेको तस्बिर।

अन्तरिक्षयात्रीहरू सावधान रहनुपर्ने देखिएको छ। मानिसको शरीरमा आश्रित रहेर भविष्यमा मंगल ग्रह पुग्ने ब्याक्टेरिया उक्त ग्रहको प्रतिकूल वातावरणमा बाँच्ने मात्र होइन, अझ बढी फैलन र फस्टाउनसमेत सक्ने पाइएको छ।

पानीको अभाव, न्यून वायुमण्डलीय चाप, खतरनाक अल्ट्राभाओलेट विकिरण तथा विषाक्त नुन भएको मंगल ग्रहकै जस्तो वातावरण बनाएर पृथ्वीमा गरिएको एक वैज्ञानिक अध्ययनले मानिसलाई बिरामी पार्ने ब्याक्टेरिया मंगल ग्रहमा बाँच्न सक्ने देखाएको छ।

मानिसलाई रोग निम्त्याउने चारथरी ब्याक्टेरिया यस प्रकारको वातावरणमा लामो समयसम्म बाँच्नसक्ने र कतिपय अवस्थामा उनीहरूको वृद्धिसमेत भएको सो अध्ययनले देखाएको छ। 

अस्ट्रोवायोलोजी नामक वैज्ञानिक जर्नलमा हालै प्रकाशित उक्त अध्ययनका अनुसार यो नतिजाले यस्ता ब्याक्टेरियाका कारण भविष्यमा अन्तरिक्ष यात्रीको स्वास्थ्य प्रभावित हुने तथा अर्काे ग्रह पनि दूषित हुने सम्भावना देखाएको छ।  

प्रतिकूल अवस्थामा समेत बाँच्नसक्ने ब्याक्टेरिया पृथ्वीमा अर्बाैं वर्षदेखि रहँदै आएका छन्।यसअघि मंगल ग्रहमा सूक्ष्म जीवाणुहरू बाँच्नसक्ने सम्भावनाको खोजी गर्ने अध्ययन मुख्यगरी प्रतिकूल वातावरणमा बाँच्नसक्ने जीवमा केन्द्रित रहेका थिए।

सन् २०२० मा गरिएको एक अध्ययनले मानिसका शरीरमा पाइने ब्याक्टेरियाहरू पोषणतŒव कम रहेका उल्का पिण्डमा बाँच्नसक्ने देखाएको थियो। त्यसपछि कतिपय अनुसन्धानकर्ताले मंगलग्रह जस्तो प्रतिकूल अवस्थामा कसरी सूक्ष्म जीवहरू बाँच्न सक्छन् भन्नेमा थप अध्ययन गरेका थिए।

अध्ययन टोलीकी सदस्य टोमासो जाकारियाले मंगल ग्रहको सतहको विषाक्त वातावरणमा ब्याक्टेरिया प्रभावित हुने र यसको वृद्धि रोकिने ठानिएकामा नतिजाले त्यसको ठिक उल्टो देखाएको बताइन्।

अध्ययन गरिएका ४ ब्याक्टेरिया विनाकुनै हानि बाँच्न सफल रहेका थिए भने तनावग्रस्त हुँदा झन् बढी रोगजनक देखिएका थिए। अध्ययनअन्तर्गत मंगल ग्रहको वातावरणसँग मिल्दोजुल्दो रहेको एक वाकसमा यी व्याक्टेरियालाई राखिएको थियो। चार व्याक्टेरिया मध्ये पी. एरुजिनोसा नाम गरेको प्रजाती २१ दिनसम्म लगातार बढेको पाइएको थियो।

‘यो विकासक्रम उल्लेखनीय थियो,’ जाकारियाले भनिन्। मंगल सतहमा रहेका स–साना प्वालमा रहेका पानी, पोषणतŒवमा यी ब्याक्टेरियाले आफ्नो भरणपोषण गर्न र डरलाग्दो विकिरणबाट जोगाउन सफल रहेको हुनसक्ने जाकारियाको तर्क छ।

यसैगरी अनुसन्धानकर्ताले अन्तरीक्ष यात्राको क्रममा मानव प्रतिरक्षा प्रणाली पनि कमजोर हुने भएकाले यस प्रकारका सूक्ष्म जीवप्रति मानव शरीरले कस्तो प्रतिकार्य देखाउनेछ भन्ने विषयमा समेत अध्ययन गरेका थिए।

अध्ययनकर्ताले भविष्यमा मंगल ग्रहमा जाने अन्तरिक्षयात्रीले विभिन्न खाले एन्टिवायोटिक्स औषधी प्रशस्त मात्रामा लग्नुपर्ने सुझाव दिएका छन्। यसैगरी मंगलग्र हका खास क्षेत्रलाई राष्ट्रिय निकुन्ज जस्तो बनाएर अन्तरिक्षयात्री नभई रोबोट मात्र पठाउन सकिने अनुसन्धानकर्ताको तर्क छ।

मानिसको शरीरले ब्याक्टेरिया निकाल्ने भएकाले यो क्षेत्रलाई सुरक्षित राख्न यसो गर्नुपर्ने उनीहरू बताउँछन्। अध्ययनमा सहभागी नरहेकी अमेरिकाको एटलान्टास्थित मर्सर विश्वविद्यालयकी माइक्रोवायोलोजिस्ट समान्था वाटर्स यस प्रकारको संकट समाधान गर्न वैज्ञानिकले भविष्यमा कुनै उपाय निकाल्ने बताउँछिन्।

‘मानव चातुर्यले कुनै न कुनै उपाय निकाल्ने भएकाले अन्तरिक्षयात्रीले त्यति डराउनुपर्ने देखिँदैन,’ उनी भन्छिन्, ‘हामी हाम्रो सौर्यमण्डलको थप अन्वेषण गर्न चाहन्छौं। त्यही कारण नयाँ इतिहास रच्ने यो विषयमा पनि नयाँ आविष्कार हुने आशा गर्न सकिन्छ,’ उनी थप्छिन्।  

(साइन्सन्युजबाट साभार)

प्रकाशित: २५ माघ २०८० ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App