१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बेहुली बन्ने एकदिन अघिमात्र अर्नाको आक्रमणमा परी जब रञ्जुको मृत्यु भयो...

फाइल तस्बिर

सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए।

मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो।

सोमबारको बिहेका लागि आइतबारदेखि नै निम्तालुहरु आउनेक्रम सुरु भइसकेको थियो। छरछिमेकीहरु पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए भने आगन्तुक एवं जन्तीलाई भोजभतेरका लागि आवश्यक सबै सामग्रीको जोहो भइसकेको थियो।

गुलाबी विपन्न परिवारको भए पनि छोरीलाई धुमधामका साथ अन्माउने तयारीमा थिए। तर गुलाबीको परिवारमा अकस्मात परेको बज्रपातले अहिले उनको परिवारमात्र होइन गाउँ नै स्तब्ध भएको छ।

गुलाबीकी २१ वर्षीया छोरीलाई कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली अर्नाले आक्रमण गरी ज्यान लिएपछि गुलाबीको परिवारमा बज्रपात भएको हो। रञ्जुको मृत्युको खबर सुनेपछि गुलाबी मुखियाको परिवार मुर्छित छ। गुलाबी परिवारले माछा मारेर जीविकोपार्जन गर्दै आएको छ।

घरबाट करिब डेढ किलोमिटर पश्चिम कोसी किनारमा घाँस काट्न पुगेकी रञ्जुलाई आइतबार अर्नाले आक्रमण गरेको थियो। सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीय हरिराम यादवले बताए।

घाइते भएर ढलेपछि पनि अर्नाले आक्रमण गरिरहेकाले रञ्जुको घटनास्थलमै निधन भएको थियो। बिहेको एकदिनमात्र अघि भएको यो दुःखद् घटनाका कारण रञ्जुको बेहुली बन्ने सपना पनि अधुरै रह्यो।

पीडित परिवारलाई क्षतिपूर्ति दिने कोशीटप्पु वन्यजन्तु आरक्षले आश्वासन दिएको छ। आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई जनही रु १० लाख उपलब्ध गराउँदै आएको छ।

आर्थिक वर्ष २०७०/७१ देखि हालसम्ममा हात्तीको आक्रमणले ३४ जना घाइते भएका छन् भने १६ को मृत्यु भएको कोसीटप्पु वन्यजन्तु आरक्ष प्रशासन शाखाले जनाएको छ। अर्नाको आक्रमणमा परी ४३ घाइते भएका छन् भने रञ्जुसहित चार जनाको मृत्यु भएको छ। रासस

प्रकाशित: २३ माघ २०८० १७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App