जुम्लाको हिमा गाउँपालिका– ४ चिउडी गाउँका गोरबहादुर रोकाया कुलदेवका धामी हुन्। अहिले उनी बाल विवाहविरुद्धको अभियानमा परिपक्व अभियन्ताका रूपमा देखिन थालेका छन्।
कलिलै उमेरमा विवाह गरेका हिमाका महिलामा अहिले स्वास्थ्य समस्या जटिल देखिन थालेको छ। पाठेघर खस्नेदेखि महिला स्वास्थ्यमा विभिन्न समस्या देखा परेको उनले बताए।
धर्मगुरु रोकाया महिलामा देखिएका समस्या बाल विवाहको उपज भएकाले यसलाई रोक्न आफू दत्तचित्त भएर लागेको बताए। ‘बाल विवाहले महिलामा ठूलाठूला समस्या झाँगिंदै गए। अब यो हुन दिनुहुन्न’, उनले भने, ‘भावी सन्ततिले सुख र सन्तोषको जीवनयापन गर्न पाउने व्यवस्था मिलाउन ढिलाइ गर्नु हुँदैन।’
हिमा– १ का ८८ वर्षीय कल्से शाही गाउँमै कहलिएका अर्का धामी हुन्। अहिले उनी घरदैलो हिँड्दै बाल विवाह गर्न हुँदैन भन्ने सचेतना दिइरहेका छन्। पहिले उनी धामी मात्रै थिए। अहिले त सामाजिक कुरीतिविरुद्धको असल अभियन्ताका रूपमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन्।
‘कम उमेरमा विवाह गर्दा मानव स्वास्थ्य बिग्रने, लेखपढ गर्न नपाउने, उनीहरूबाट जन्मिने बालबालिका कुपोषित हुने जोखिम छ’, उनले भने, ‘त्यही अनुभव बाँडेर सचेत गराइरहेको छु।’
गोरबहादुर र कल्से सामाजिक कुरीतिविरुद्ध उभिएका धर्मगुरुका प्रतिनिधि पात्र हुन्। उनीहरूजस्ता झन्डै दर्जन धर्मगुरु यहाँ बाल विवाहलगायतको सामाजिक कुरीति रोक्न कम्मर कसेर लागिपरेका छन्।
महिनावारी भएका बेला विभेद नगर्ने, विवाहको लगन हेर्दा २० वर्ष पुगेनपुगेको जान्न जन्मदर्ता मागेर हेर्ने, महिनावारी भएका महिलालाई घरभित्र बोलाउने, मन्दिरमा सहजै प्रवेश दिने अठोट उनीहरूले सार्वजनिक रूपमै व्यक्त गरेका छन्। हिमा– ३ मोफ्लाका ४० वर्षीय रामचन्द्र रोकायाको बाल विवाहविरुद्धको वकालत र पैरवी अझ लोभलाग्दो छ।
पहिले धामीझाँक्रीका कारण कुसंस्कार झेल्नुपरेको पीडा सुनाउने मोफ्लावासी अहिले धामीझाँक्री नै कुसंस्कारको जालो तोड्न लागेको देख्दा दंग छन्। ‘म मष्टोको धामी हुँ। २० वर्ष ननाघेकाको विवाहको लगन हेराउन आउनेको म आफू पनि हेर्दिनँ र अरू धर्मगुरुलाई पनि लगन नहेर्न अनुरोध गर्दै आएको छु’, उनले भने, ‘हामी रुढीवादी संस्कृतिमा हुर्कंदै आए पनि यो प्रथा अब छाड्न चाहन्छौं।’
स्थानीय मनवीरे नेपाली गाउँबस्तीमा धर्मगुरुले थालेको सामाजिक विकृतिविरुद्धको अभियान रहरलाग्दो भएको प्रतिक्रिया दिन्छन्। पहिले दलित र महिनावारी भएका महिलाका बारेमा विभेदको खाडल निकै फराकिलो रहेकोमा अहिले धर्मगुरुहरूकै कारण त्यो पुरिने अवस्थामा पुगेको उनी बताउँछन्।
‘पहिले हरेक नौला काम गर्दा धर्मगुरुहरू वाधक बनिरहेका हुन्थे’, उनले भने, ‘अहिले कानुनी व्यवस्था, स्वास्थ्य र महिला सुरक्षाका विषयमा जानकारी बाँडिरहँदा निकै सहज भएको छ।’
उनका अनुसार देवताका धाममा सहजै प्रवेश दिनेदेखि पूजाकोठामा सरसफाइ गरेर छोरीबुहारीलाई धर्मगुरुले नै निम्ता दिइरहेका छन्। बिरामी हुँदा धर्मगुरुकहाँ भन्दा पहिले अस्पताल लैजान, महिनावारी भएका बेला गोठमा नबस्न धर्मगुरुहरूले बाँडिरहेको उपदेशले गाउँबस्तीमा एकताको सन्देश दिइरहेको उनले बताए।
‘यहाँका धर्मगुरु र धामीले बिगार्ने होइन, सभ्य र लोभलाग्दो समाज बनाउने अभियान चलाएका छन्’, कालिका मन्दिरका धामी रत्नबहादुर शाहीले भने, ‘रुढिगत अन्धविश्वासजन्य प्रथा र संस्कार हटाएर युगसुहाउँदो संस्कार र संस्कृतिमा घुलमिल हुनुपर्ने आजको आवश्यकता हो।’
प्रकाशित: २० माघ २०८० ०८:०४ शनिबार