२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी र भन्सारको भर छ, तस्करलाई केको डर छ !

तस्करको उर्वर भूमि मधेस

नम्बर प्लेट बिनाको मोटरसाइकल सिरहाको विभिन्न सुरक्षा पोष्ट बेरोक पार गर्दै गोदामसम्म प्याजको बोरा पुर्याउँदै तस्कर। तस्बिर: मिथिलेश यादव/नागरिक

तीन महिनाअघि राजश्व अनुसन्धान कार्यालय इटहरीले तस्करको गोदाममा छापा मारेर करिब तीन करोड रुपैयाँ बराबरको तस्करीको सामान बरामद गरेपछि सिरहामा कार्यरत सशस्त्र प्रहरीका तीन जना अधिकारी मुख्यालय तानिए।

सशस्त्र प्रहरी बल ७ नम्बर गणका तत्कालीन गणपति प्रमोद भारती, बोर्डर आउटपोष्ट माडरका डिएसपीद्वय रामहरी खतिवडा र पवन खड्का जिम्मेवारीबाट हटाइए। नेपाल प्रहरीका एसपी टेकुनन्द इवा लिम्बु, सिडिओ राजेन्द्रदेव पाण्डे र भन्सार प्रमुख रामराज प्रसाद चौरसीयामाथि कुनै कारबाही भएन।

सशस्त्रका तीन जना अधिकारी बदलेर जिल्लामा नयाँ अधिकारी पठाइयो। सशस्त्र प्रहरी बल ७ नम्बर गणको गणपतिमा (एसपी) शिव गैरे र बोर्डर आउटपोष्ट माड्रमा डिएसपी राजु दाहाल आएका छन्। जिल्लामा प्रहरी र प्रशासनका अधिकारीहरू फेरबदल हुनु नौलो होइन। प्रहरी प्रशासनका अधिकारीहरू फेरिए पनि नफेरिएको धन्दा हो  ‘तस्करी’। मधेस प्रदेशका जिल्लामा नयाँ जिल्ला सुरक्षा प्रमुख हाजिर भएपछि केही समय सुस्ताउने र सेटिङ मिलेपछि फस्टाउने आकर्षक धन्दा ‘तस्करी’ हो।

तस्करीजन्य बेथितिले हद नाघेपछि सिरहाका बुद्धिजीवीहरू गृह मन्त्रालयमा गुनासोको पोको पुर्‍याएर नियन्त्रणका लागि आग्रह गरेका छन्। मिटर व्याजीको आडमा थर्काएर व्यक्तिगत लाभ लिने, तस्करलाई सङ्गठित बनाएर लाभ लिने, अवैध क्रसर र चुरे दोहनमा आँखा चिम्लेर लाभ लिनेलगायतका बेथितिले आजित बनेका छन्, स्थानीय।

यसैबीच, गृह मन्त्रालयले सिरहाका सिडिओलाई राजेन्द्रदेव पाण्डेलाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयमा तानेको छ। उनी शुक्रबार तोकिएको जिम्मेवारीमा जाँदै छन्। राजेन्द्रदेव पाण्डे गत असार १८ गते मात्र जिल्ला प्रशासन कार्यालय सिरहामा हाजिर भएका थिए।

बेथितिबाट आजित सिरहाली जनताले संवाद यात्राको क्रममा सीमावर्ती गाउँ सोनवार्सा र बरियारपट्टी पुगेका नेपाली काँग्रेसका महामन्त्री गगन थापासमक्ष समेत जिल्लामा तस्करी, लागूऔषध ओसारपसारले सीमा नाघेको सुनाउन भ्याए। यहाँ सेटिङमा तस्करी, लागूऔषध ओसारपसारलगायतका बेथिति उकालो लागेको स्थानीयले गुनासो गरे।

तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको  टोलीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी दर्शक बनिदिँदा तस्करी बढेको सिरहा केन्द्रित पत्रकार देवकुमार यादवले बताए।

सीमादेखि सहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको धापका कारण सीमा क्षेत्रमा तस्करहरू सलबलाएका छन्, उनले भने, ‘दिउँसै नम्बर प्लेट बिनाको मोटरसाइकल तस्करीका सामान बोकेर बेरोक प्रहरी पोष्ट पार गर्नुले ‘सेटिङ’ लाई प्रस्ट्याउँछ।’

‘प्रहरी र भन्सारको भर पाएपछि तस्करलाई केको डर हुनु’, उनी भन्छन्,‘नियन्त्रणकारी निकायले नै आँखा बन्द गरिसकेपछि बाँकीले देखेर पनि के गर्न सक्छन्!’

जिल्लास्थित राजश्व चुहावट नियन्त्रण समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुन्छ। यस समितिको बैठक एक महिनामा एक पटक गर्नुपर्ने प्रावधान छ। माड्र भन्सार कार्यालय सिरहाका प्रमुख रामराज प्रसाद चौरसियाका अनुसार बैठकमा राजश्व चुहावट र राजश्व वृद्धि कसरी गर्ने विषयमा छलफल केन्द्रित हुन्छ जसको अध्यक्षता सिडिओले गर्छन्।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे सिरहामा हाजिर भएको सात महिनामा पटक–पटक समितिको बैठक अध्यक्षता गरे। तर, राजश्व उकालो लाग्नुको साटो झन्–झन् ओरालो झर्दै गयो। राजश्व ओरालो झर्नुका कारणहरूमध्ये चुहावट अर्थात् तस्करी प्रमुख रहेको भन्सार प्रमुख चौरसीया स्विकार्छन्। पारीबाट वारी आउजाउ गर्ने धेरै बाटोहरू छन् जसमा निगरानी र नियन्त्रणका लागि सुरक्षाकर्मीहरू तयनाथ छन्।

तस्करी नियन्त्रणका लागि भन्सारसँगै सुरक्षा र प्रशासनको पनि भूमिका रहन्छ चौरसीयाले भने, ‘भेट्टाएको बखत सामान बरामद गरेर भन्सारमा बुझाउने गरिएको छ। बाटा प्रशस्त छन्, कतै न कतैबाट मालबस्तु छिराइहाल्छन् कहाँ कहाँ नजर दौडाउनु ?' उनले भने।

चौरसीयाले भन्सार राजश्वमा प्रगति उन्मुख भएको दाबी गरेपनि यर्थात फरक छ। चौरसियाले चालु आर्थिक वर्षको ६ महिनामा (साउनदेखि पुष मसान्तसम्म) ५० प्रतिशत राजश्व सङ्कलन भएको दाबी गरेपनि यर्थातमा सङ्कलन २४ प्रतिशतमात्र देखिन्छ। यस वर्षको लक्ष्य ११ करोड ९९ लाख ५६ हजार रुपैयाँ रहेकोमा पुष मसान्तसम्म २ करोड ८३ लाख ६५ हजार मात्र राजश्व सङ्कलन भएको भन्सारको तथ्याङ्कले देखाउँछ।

नेपाल सरकारले मुलुकभरका १५ वटा भन्सारमा खाद्य क्वारेन्टिन तोकेको छ जसमा सिरहाको कुनैपनि नाका पर्दैन। बिना क्वारेन्टिन पास गरी खाद्यवस्तु आयात गर्नु अवैध ठहरिने भन्सार प्रमुख चौरसीया बताउँछन्। तर, उनी प्रमुख रहेकै माड्र भन्सारबाट दैनिक सैयौं बोरा प्याज राजश्व छली गरी भित्रिरहेको छ। 

सिरहाको माड्र भन्सारबाट भारतीय नम्बर प्लेट र बिना नम्बर प्लेटको मोटरसाइकलमा लोड गरी दिउँसै आलु र प्याजका बोरा तस्करी भइरहेकोबारे चौरसीया अनवीज्ञ छैनन्। उनी भन्छन्, ‘पालिकाहरुको सिफारिसमा कतिपयलाई आँखा चिम्लिनुपर्छ।’

एउटा मोटरसाइकलमा ५० किलोका कम्तिमा चार वटा प्याजका बोरा लोड गरी तस्करका भरियाहरु भन्सारबाट बेरोक विभिन्न सुरक्षा पोष्ट पार गर्दै मिर्चैया, गोलबजार र लहान स्थित तस्करका गोदामसम्म पुर्याउँछन्।

पारिदेखि गोदामसम्म पुर्याइदिए वापत भरियाले तस्करबाट प्रति टिप एक हजार पाउँछन्। यस कार्यमा सीमादेखि सहरसम्मका सैयौं युवा भरियामा प्रयोग भएका छन्। पारि ३० रुपैयाँ किलो पाइने प्याज वारिको बजारमा ६० देखि ७० रुपैयाँमा विक्री भैरहेको छ। मूल्यको अन्तरले फाइदा बढी भएपछि पछिल्लो समय मधेस प्रदेशका सीमा नाकामा प्याज तस्करी व्यापक बनेको छ।

दिउँसो मोटरसाइकलमा हुने आलुप्याज तस्करी रात परेपछि टेम्पो, पिकअप र मिनि ट्रकमा सीमा पार हुने भारतीय सहर लौकहाका एक किराना पसलले बताए।

‘अहिले ट्रकका ट्रक प्याज पारि (नेपाल) गइरहेको छ’ उनले भने, ‘यहाँदेखि लहानसम्म उनीहरुको सेटिङ छ। दिउँसो मोटरसाइकलमा र राती मिनि ट्रकमै प्याज सीमा पारि पुग्छ, उनले भने, ‘भन्सार र सुरक्षा मिलेपछि डर कस्कोरु’

लौकहा नजीकको ठाढी भन्सारका निमित प्रमुख रामेश्वरप्रसाद चौधरीका अनुसार यस भन्सारबाट भारतीय सवारी साधनको पास मात्र जारी हुन्छ। त्यसो भए आलु, प्याज, धान, लताकपडालगायत दैनिक उपभोग्य बस्तु थोकमा कसरी भित्रिन्छरु उनले जवाफ दिए,‘खै, हामी कहाँ त आउँदैन। यहाँ एउटै बाटो छैन नी, कतै न कतैबाट जादोहोला, उनले थपे।’

ठाढी भन्सारले लक्ष्यको २० प्रतिशत पनि राजश्व संकलन गर्न सकेको छैन्। यस भन्सारले ९ करोड ९ लाख ९३ हजारको लक्ष्यमा पुससम्म  १ करोड ६० लाख ६० हजार मात्र असुली गर्न सकेको छ।

तस्करको उर्वर भूमि मधेस

सोमबार जनकपुरधामबाट जयनगर हुँदै माड्र भन्सार पुग्दा प्याजको बोरा लोड गरिएको भारतीय नम्बर र नम्बर प्लेट नै नभएको मोटरसाइकल बेरोक सिरहातर्फ हुइँकिदै अघि बढ्यो। पछ्याउँदै जाँदा उक्त मोटरसाईकल सिरहाको माडरस्थित बोर्डर आउटपोष्ट, माडर प्रहरी, नगर प्रहरी कार्यालयलाई बेरोक पार गर्यो। त्यसपछि त्यो मोटरसाइकल सिरहास्थित हेमनारायण चोक हुँदै गुलरिया नजीक सिरहा–चोहर्वा सडकमा चोहर्वातर्फ अघि बढ्यो। नम्बर प्लेट नै नभएको सो मोटरसाइकलमा चार वटा प्याजका बोरा लोड थियो। सो मोटरसाइकल प्रहरी चौकी नरहा, इलाका प्रहरी कार्यालय विष्णुपुर र सडकमा ट्राफिक र प्रहरीको चेक पोइन्ट पार गर्दै चोहर्वा पुग्यो। त्यहाँ तायनाथ प्रहरीको अगाडि बाटै पश्चिम मिर्चैयातर्फ लाग्यो।

यो दृश्यबारे चोहर्वा चोकको एक पान पसललेसँग जिज्ञासा राख्दा उनले भने, ‘मोटरसाइकलमा प्याज तस्करी देखेर आश्चर्य नमान्नुस्। राती आउनुस् पूरा फिल्म हेर्न सक्नुहुनेछ उनले भने, ‘मँ चोकमा व्यपार गर्ने मान्छे हो, धेरै बोले मेरो चुलो बन्द हुन्छ। अहिले भईरहेको तस्करीमा पावरफुल मान्छे संलग्न छन्। यसलाई धेरै नकोट्याउनुस्, सबै मिलेका छन्, उनले भने।’

मधेस प्रदेशमा सुरक्षाकर्मीको उपस्थिति रहेकै ठाउँबाट तस्करको राज चलेको उल्लेखित दृश्य सिरहाको भएपनि मधेसका आठ वटै जिल्लाको कथा उस्तै छ। सबै जिल्लाको सीमा भारतसँग जोडिएका छन्। सबै जिल्लामा कमबेस तस्करीको संगठित सञ्जाल चलेकै छ।

सिरहाको ठाढी, नगरी, कुसन्डी, झाझपट्टी, मडर, बुधौरा, लगडीगोठ, चतरी, कल्याणपुर, बरियारपट्टी, औरही, पटेर्वा नाका अहिले तस्करलाई जिम्मा लगाइदिए जतिकै अनुभूति गर्छन्, स्थानीयबासी।  

यी नाकाबाट नुनदेखि सुनसम्म तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीय बताउँछन्। यी नाकाबाट प्याज, आलु, कपडा, मोटरपार्टस्, लताकपडा, किराना सामान, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा) भन्सार राजस्व छली गरी भित्रिन्छ। वारिबाट मदिरा, चिनियाँ स्याउ, मटर, ग्याँस लाइटर, गाँजा पारि पु¥याइन्छ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा ९लाइन मिलाएर० यहाँ तस्कर राज चलेको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन्।

मधेस प्रदेशको सप्तरी जिल्लाको सीमा नाका तस्करको उर्वर भूमि बनेको छ। यहाँको विभिन्न नाकाबाट गाँजा, स्याउ, मटर, मरिच, मदिरा, छोकरासहितका सामग्रीको भारत तस्करी फस्टाएको छ। पारिबाट आलु, प्याज, चिनी, दाल, चामल, मोटरपार्ट्सदेखि कस्मेटिक्सलगायत दैनिक उपभोग्य मालबस्तु तस्करी व्यापक छ। सप्तरीको बलान बिहुल गाउँपालिकाको बेल्ही नाकाबाट आलु, प्याज, स्याउ र मदिरा तस्करी व्यापक छ। यो सहितको सीमा नाकाबाट पछिल्लो समय तस्करी व्यापक छ। पातो, छिन्नमस्ता, सोभरणपटी र बेल्ही लगायतका नाकाबाट स्याउ, सुन, सुपारी, मदिरा तस्करीको सुरक्षित नाका मानिन्छ।

सुरक्षाकर्मीको उपस्थिति रहेकै सीमा नाकाबाट तस्करको राज चलेको मधेस प्रदेशको अर्को नामी जिल्ला हो, धनुषा। नाता सम्बन्धका कारण धनुषा र महोत्तरी बाक्लै आउजाउ गर्ने अरजीत यादव भन्छन्, ‘धनुषा र महोत्तरीका सीमानाका अहिले तस्करलाई जिम्मा लगाइदिए जतिकै महसुस हुन्छ।’

यहाँका नाकाबाट प्याज, आलु, चिनी, कपडा, मोटरपार्टस्, पान मसाला, तेल, दाल, चामल, मैदा, कुखुरा, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुट्खा) देखि हरेक सामान भन्सार राजश्व छली गरी भित्रिन्छ। यताबाट (वारिबाट) मदिरा, चाइनिज स्याउ, गाँजा पारि पु¥याइन्छ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा (लाइन मिलाएर) यहाँ तस्कर राज चलेको बताउने स्थानीय सीमावर्ती क्षेत्रमा प्रशस्त भेटिन्छन्। सुरक्षाकर्मीबाट (घुमुवा) ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि अन्धाधुन्ध वारिपारि सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि (घुमुवा) खटिएका हुन्छन्।

सीमावर्ती क्षेत्रका स्थानीयको सीधा बुझाइ छ सीमादेखि सहरसम्मका प्रहरी तस्करसँग नमिल्ने हो भने भन्सार राजश्व छलेर सामान वारपार गर्ने आट पुग्दैन। पछिल्लो मधेस प्रदेशका धनुषा, महोत्तरी, सप्तरी, सिरहा, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लाका सीमा नाकामा तस्करी बढिरहेको घटनाक्रमबाट पुष्टि हुन्छ।

सप्तरीको बेल्ही, छिन्नमस्ता, कुनैली, गोबरगाढा, बरसाइन, धनुषाको मैनाथपुर, भररिया, खौना, जटही, इनर्वा, दुहबी, अकौरा, दिबदिहा, खजुरी, महोत्तरीको सम्सी, इटहर्वाकटी, मरुवाही, मटिहानी, जलेश्वर, भिठामोड, सर्लाही पर्सा, रौतहटको बंकुल, सरमुजवा, रामपुरखाप, लक्ष्मनपुर बेलबिचवा, सेरवाब्रहमपुर, बाराको कचोरवा, सिमरौनगढ, बेलदारी, कबही, मटिअर्वा, छतवा, गण्डक र पर्साको इनर्वा, छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, भिस्वा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाकामा तस्करको रजाइँ छ।

यी नाकाबाट पछिल्लो समय मदिरा, चाइनिज स्याउ, सुन, छोकरा पारि तस्करी हुने र पारिबाट आलु, प्याज, धान लगायत दैनिक उपभोग्य सामानसहित लत्ताकपडा र मोटरपार्टस वारि तस्करी हुने गरेको छ। सुरक्षाकर्मी र भन्सार कर्मचारीसँगको सेटिङमा तस्करको संगठित सञ्जालमार्फत सीमा वारिपारि तस्करी फस्टाएको सीमा क्षेत्रवासी बताउँछन्।

तस्करलाई लाइनमा ल्याउन भन्सारका कर्मचारी र राजमार्गतिरका प्रहरीले कहिलेकाहीँ केही सामान समात्ने गरेको पाइन्छ। लाइन मिलेपछि सबै नदेखे झैँ गरेर चुप बस्ने गरेको सीमा क्षेत्रवासी बताउँछन्।

प्रदेश प्रहरी र सशस्त्र प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, राष्ट्रिय अनुसन्धानको प्रदेश र जिल्ला कार्यालयका सादा पोशाकका प्रहरी (घुमुवा) सीमा क्षेत्र र सहरमा अखाडा बनाएर तस्करको लाइन मिलाउँछन्।

सीमाबाट सहरका गोदामसम्म तस्करलाई सघाउने काम यीनै घुमुवाहरुले (सशस्त्र, नेपाल र अनुसन्धानका सादा पोसाकधारी) गर्छन्। घुमुवाहरु बारम्बार विवादित भइरहँदा पनि उनीहरुलाई केही समय ब्रेक दिएर पुनः जिम्मेवारमा फर्काइने गरिएको छ।

सशस्त्र प्रहरीका मधेस प्रदेश प्रमुख दीपेन्द्र शाहका अनुसार सशस्त्र प्रहरी तस्करी नियन्त्रणका लागि मात्र परिचालित नभएको बताउँछन्। ‘अन्य निकाय पनि छन्। हामीले थाहा नपाएको ठाउँमा अन्य निकायबाट पनि कारबाही भएका छन्। हामीले थाहा पाएको ठाउँमा हामीले पनि गरेका छौं। तस्करीमा हाम्रो कहीँ कतै मिलेमतो छैन’, शाहले भने।

प्रकाशित: १८ माघ २०८० ०७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App