२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बाँदरले दिएको पीडा भनिसाध्य छैन

पोखरा–१९ घार्मीमा बस्ती पसेको बाँदर। तस्बिरः नागरिक

पोखरा महानगरपालिका–१९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान चलाउने भन्दै सोमबार एउटा सूचना जारी गरे। ‘मेरो रुख म काट्छु’ अभियान भन्दै १० दिनभित्र रुख काटिसक्न पनि उनले वडाबासीलाई आग्रह गरे। वडाभित्रको लामाचौर, पुरुन्चौर क्षेत्र बाँदर आतंकबाट पीडित भएको सूचनामा उल्लेख छ। 

वडा कार्यालयले सूचना जारी गरेलगत्तै रातारात सामाजिक सञ्जालमा भाईरल भयो। सकारात्मक भन्दा नकारात्मक टिप्पणी सुरु भए। धेरैजसोले ‘मेरो रुख म काट्छु’ अभियानको खोइरो खने। तर, केही त्यस्ता टिप्पणी थिए, जसमा बाँदरले साच्चै नै सर्वसाधारणलाई पीडित बनाएको बारे उल्लेख थियो। रुख काट्ने कुराको विरोधस्वरुप भाइरल भईरहँदा बाँदरबाट पीडित भएको गुनासो ओझेलमा परेको उनीहरुको टिप्पणी थियो।  

पोखरा–१९ सँगै जोडिएको वडा हो पोखरा–१६। त्यही वडा (पोखरा–१६)ले गत आर्थिक वर्षमा बाँदरबाट सताइएका नागरिकका लागि भन्दै दुईलाख रुपैयाँ खर्चेर बाँदर धपाउने यन्त्र खरिद गरेको थियो। वडाध्यक्ष अमृत शर्मा तिमिल्सेनाका अनुसार राष्ट्रिय आविश्कार केन्द्रसँग ती यन्त्र किनेर किसानलाई दिइयो। सुरुमा त बन्दुकको झै आवाज निस्कँदा बाँदर तर्सिएर भागेका पनि थिए। तर, पछि त्यही आवाजसँग पनि बाँदर तर्सिन छाडे।  

‘बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियानै चलाऔं भन्नु गलत हो। तर, बाँदरबाट सताइएको पीडा भनिसाध्य छैन। हामीले नै बजेट खर्चेेर गाउँलेका लागि बाँदर धपाउने यन्त्र किनेका हौ,’ तिमिल्सेनाले भने, ‘गाउँलेलाई बाँदरले हदैसम्मको दुख दिएको छ ।’ पोखरा–१६ र पोखरा १९ जोडिएका वडा हुन । ती वडाको केही खण्ड पुरै ग्रामिण बस्ती छ। जहाँ सामुदायिक वन पनि छन। बढेमानका रुख हुर्किएकोले पनि बाँदरलाई बस्न सहज भएको उनले बताए।

तिमिल्सेनाका अनुसार बाँदरकै त्रासका कारण गाउँलेले खेतबारीमा खेती लगाउन छाडेका छन। गाउँलेले खेती गर्नुको साटो खेतबारी बाँझै राख्न थालेका छन। बाँदरले खेती सखाप पारेपछि दुख गर्ने अवस्था गाउँलेलाई नरहेको उनले बताए। ‘खेतीपाती गरेर गाउँलेलाई गाउँमा अडाउन नसकिने अवस्था छ। खेती नै नहुने अवस्था आएको छ। बाँदरकै डरले गाउँलेले बसाई सर्ने बारे विकल्प खोज्ने बेला भएको छ,’ उनले भने, ‘हजारौं रोपनी जग्गा बाँझो छ। बाँदरको समस्याबाट निकास पाउन सकिएन।’ बाँदरबाटै सताइएपछि वडा कार्यालयले नै धपाउने यन्त्र खरिद गरेर दिएपनि अहिले तिनै यन्त्रलाई पनि बाँदरले टेर्न छाडेको उनले बताए।  

पोखरा–१९ का बासिन्दाहरु बाँदरबाट साह््रै नै पीडित भएको बताउँछन। ‘बाँदरले स्थानीयलाई धेरै नै दुख दिएको छ। ‘वडाअध्यक्षले स्थानीयको पीडा ओकलिदिएका हुन, तर रुट काट्ने कुरा आउँदा अचाक्लि आलोचना खेप्नुपरेको हो, तर, बाँदरबाट सताइनेको पीडा सुन्न कोही तयार छैनन,’ पोखरा–१९ घार्मीका स्थानीय शिशिर पौडेल भन्छन, ‘बाँदरले यतिसम्म दुख दिएको छ की धपाउन बिहानैदेखि बेलुकीसम्म एकजना खटिनु परेको छ। पुराना घरभित्र पसेर मकै लगेको छ। कोसेबाली त ध्वस्त पारेको छ। बाँदरले दिएको दुख भनिसाध्य छ।’  

पौडेलका अनुसार पोखरा– १९ को तल्लो भेग लामाचौर क्षेत्रमा उत्ति समस्या छैन, किनकी त्यहाँ पक्कि घर छन। तर, माथिल्लो भेग घार्मी, पुरुन्चौर क्षेत्र बाँदरबाट निकै नै सताइएको छ। ग्रामिण क्षेत्र भएकोले त्यहाँ सामुदायिक जंगल रहेको र त्यही जंगलको नजिकका बस्ती अहिले बाँदरबाट सताइएको उनले बताए। उनका अनुसार भूमेपुज्ने तिखेढुंगा, हाडेबन, पारिलोपाखा, गायत्रीकुञ्ज सामुदायिक वन हुन। जहाँ जंगल बाक्लो छ। जंगलमा चिलाउने र कटुसका रुख छन्।  

‘जंगलको बीचमा बारी छ। जंगलमा बढेमानका रुख छन। तिनै रुखको टुप्पोमा बस्ने बाँदरलाई गुलेलीले हानेर धपाउन सकिएन,’ उनले भने, ‘मान्छे रुन मात्र नसकेको हो। मान्छेमाथि आक्रमण गर्ने त्रास छ। एक्लै त धपाउन जान पनि सकिन्न।’ पौडेलका अनुसार त्यही बाटो भएर विद्यालय आउने बालबालिका पनि बाँदरबाट त्रसित छन । बाँदरका डरले विद्यार्थी स्कुल आउन डराउने अवस्था रहेको उनले सुनाए।  

‘बाँदरले आक्रमण गर्छ भनेर बालबाबालिका एक्लै हिड्न डराउँदैनन। घरमा पनि मान्छे भेटिन्नन, विहान सबेरैदेखि बेलुकी अबेरसम्म बाँदर आउने भन्दै कुरेर बारीमा बस्छन,’ उनले भने, ‘बजारमा बस्नेलाई गाउँलेको बाँदरको पीडा थाहा छैन। गाउँमा बस्ती कम भएको र वनजंगल बढ्दै गएकोले बाँदर बस्तीमा आउँछन। बाँदरले आतंकले गाउँमा घर खालि हुँदै गएका छन्।’  

पोखरा महानगरपालिकाकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया बाँदरबाट ग्रामिण क्षेत्र निकै नै सताइएको बताउँछन। केही महिना अघि पोखरा–१९ ले आव्हान गरेको भेलामा बाँदरको समस्याबारे स्थानीयले निकै नै गुनासो गरेको उनले सुनाए। वडाले सर्वदलीय भेला राखेर किसानसँग छलफल गर्दा सबैभन्दा बढी समस्या बाँदरले पारेकोबारे गुनासो गरेको उनले बताए। उनका अनुसार महानगरभित्रका धेरै वडा अहिले बाँदरबाट सताइएका छन।  

‘महानगरभित्रका धेरै ठूलो क्षेत्र कृषिका सम्भावित क्षेत्र हुन। जहाँ बादरले सताइएको छ। सुन्तलादेखि आलु सबै खाएको छ । केही बालिनाली सुरक्षित रहन दिएको छैन,’ कडरियाले भने, ‘महानगरले नै बन्दुक किनेर धपाउने गरि सर्वसाधारणलाई दिएको थियो। बाँदर पक्रेर राख्ने गरि खोर पनि बनाएका हौ। तर, व्यव्स्थापनमा समस्या भएपछि खोरको काम रोकियो।’ 

महानगरका वडा २२ का टोली बाँदर नियन्त्रणको अभ्यास हेर्न पर्वतको महाशिला गाउँपालिका गएको समेत उनले बताए। ‘बाँदरले निकै नै सताएको छ। बाँदरको दुखले किसान निकै नै चिन्तित छन,’ उनले भने, ‘बाँदर नियन्त्रणबारे संसदमा पनि कुरा उठेको हो। त, त्यत्तिकै ओझेलमा परेको छ।’  

डिभिजन वन कार्यालय कास्कीका प्रमुख पूर्णेश्वर सुवेदी पनि बाँदरबाट जनता पीडित भएको बताउँछन। ‘बाँदरले कोपर्यो भनेर उजुरी पनि पर्ने गरेको छ। बाँदरले सर्वसाधारणलाई निकै नै दुख दिएको छ,’ उनले भने, ‘तर, बाँदर मार्न पाइएन। संघीय सरकारले जनतालाई परेको यो मर्काबारे सम्बोधन गर्नुपर्छ।’ बाँदरले सताएकै कारणले किसान बिस्थापित हुने अवस्था आएको उनले बताए।  

प्रकाशित: १६ माघ २०८० ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App