१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुनसरीमा लागुऔषध कारोबारी बढ्दो

फाइल तस्बिर : नागरिक

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टरले कोसी गाउँपालिका क्षेत्रबाट गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरीको टोलीले कोसी गाउँपालिका–८ मा परालभित्र लुकाइराखेको अवस्थामा ३३ किलो गाँजा बरामद गरेको हो। विशेष सूचनाका आधारमा खोजी गर्दा उक्त परिमाणको गाँजा फेला परेको सो गणका एसपी लकेशकुमार तुम्बाहाम्फेले बताए।

सुनसरीमा पछिल्लो ६ महिनाको अवधिमा लागुऔषध कारोबार गरेको आरोपमा १२१ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। जसमा अहिलेसम्म २१ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले साउनदेखि पुस मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै ४९ जना धरौटीमा र पाँचजना साधारण तारेखमा छुटेको जनाएको छ। सो अवधिमा पक्राउ परेकामध्ये ४६ जनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।  

सुनसरीका लागुऔषध कारोबार हुने मुख्य स्थान सीमावर्ती भारतीय बजार नै हो। भारतीय बजारमा धरान, इटहरी, झुम्का, बराहक्षेत्र, इनरुवा, लौकहीलगायत स्थानका युवा लागुऔषध सेवन र किनमेलका लागि पुग्ने गरेका छन्। यो अवधिमा प्रहरीले सबैभन्दा बढी गाँजा बरामद गरेको छ। ७८२ केजी ७९१ ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। यस्तै, १९५ ग्राम ३२४ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। यीबाहेक अन्य लागुऔषध एक हजार ४३ थान एम्पुल र दुई हजार ३२१ थान विभिन्न लागुऔषधका ट्याबलेट पनि बरामद गरिएको छ। प्रहरीका अनुसार सुनसरीमा ब्राउन सुगर प्रयोगकर्ताको संख्या बढिरहेको छ। विशेषगरी लागुऔषधको लतमा फस्नुको कारण आफूभन्दा सिनियरको सिको, रहर अनि बिस्तारै बानी बस्नु नै हो। यही ढंगले अधिकतर कुलतमा फस्ने गरेका छन्। कतिपय भने घरपरिवारको वातावरण बिथोलिएर मानसिक तनाब कम गर्ने निहुँमा पनि कुलतमा फस्ने गरेको पाइएको छ। लागुऔषध सेवनकर्ताको हातखुट्टाको हड्डी चिलाउने, खानाप्रति रुचि नहुनेलगायत समस्या हुने गर्छन्। कसैकसैमा हातखुट्टा फ्याँक्ने, कराउने र निन्द्रा नलाग्ने समस्या पनि देखिन्छ। यी समस्याले कुलतमा फसेकालाई पिरोलेपछि उनीहरू चिन्तामा डुबेर थप लागुऔषध सेवन र प्रयोगमा लाग्ने जानकार बताउँछन्।

लागुऔषध सेवन गर्ने युवाको संख्या बढ्दा कारोबारीमा संलग्नले तस्करी गर्ने अनेक उपाय रच्ने गरेको केही दिनअघि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयप्रसाद आचार्यद्वारा आयोजित पत्रकार भेटघाटमा जनाइएको थियो। सो क्रममा एसपी विपीन रेग्मीले समय परिवर्तनसँगै तस्करीका अनेक उपाय रच्ने गरेको बताए। उनका अनुसार तस्करी गर्दा फरकफरक रुट पनि प्रयोग गर्ने गरेको पाइएको छ। लागुऔषधबाहेक जिल्ला प्रहरी कार्यालय सुनसरीले पछिल्लो ६ महिनाको अवधिमा एक हजार ८७ वटा विभिन्न घटनाका मुद्दा दर्ता गरेको छ। दर्ता भएका मुद्दामध्ये ७२९ वटा फस्र्योट भएको पनि जनाइएको छ।

प्रकाशित: १५ माघ २०८० ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App