९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सुकुम्बासी बस्तीमा सामूहिक च्याउ खेती

बर्दिबास नगरपालिका ६ स्थित चारघरे सुकुमबासी टोलमा टनेलमा लगाइएको च्याउ खेती। तस्बिर : नागरिक

महोत्तरी – बर्दिबास नगरपालिका ६ चारघरे टोलका सुकुम्बासी बस्तीका स्थानियहरुले सामूहिक च्याउ खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन्।

पहिले रातु नदिको बगरमा गिट्टी कुटने, बालुवा संकलन गर्ने, अरूको घरमा भाडा वर्तन माज्ने र खेतबारीमा बनिबुतो गरेर कष्टकर जिवन यापन गर्दै आएका चारघरे टोलका सुकुम्बासी बस्तीका स्थानिय अचेल सामूहिक च्याउ खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुँन्। सामूहिक च्याउ खेती गरेर मनग्य आम्दानी गर्न थालेपछि उक्त बस्तीका अधिकांसको दिनचर्या फेरिएको छ।

अब उनीहरु नदीको बगरमा गिट्टी कुट्न जाँदैनन् भने अरुको घरमा भाडावर्तन माज्ने र खेतमा बनिबुतो गरेर जीविको पार्जन गर्नुपर्ने बाध्यात्मक अवस्थाको पनि अन्त्य भएकोमा सुकुम्बासी बस्तीका अधिकांसको मुहार अहिले खुसीले गदगद छन्।  

जिल्ला भूमि अधिकार मञ्च महोत्तरीले कृषि उद्यम अन्र्तगत च्याउ खेतीका लागि चारघरे टोलका सुकुम्बासीहरुलाई आर्थिक र च्याउ खेती बारे प्राविधिक तालिम समेत दिएर सहयोग गरेपछि २ वर्ष देखि उक्त बस्तीमा च्याउ खेती गर्न थालिएको चारघरे भूमि अधिकार मञ्चकी सदस्य सरिता बस्नेतले बताएकी छिन्।

३१ घर धुरी रहेको सो सुकुम्बासी बस्तीका १३ जना मिलेर २ वर्ष देखि सामूहिक रुपमा च्याउ खेती गर्न थालेपछि बस्तीमा नयाँ रोजगारीको सृजना भएको मञ्चकी सदस्य बस्नेतको भनाई छ। च्याउ खेतीमा संलग्न सबै सदस्यहरुले पराल हालेर टनेल निर्माण गरी पालैपालो च्याउ खेतीको स्यहारसुसार गर्न सबै एक जुट भएर लागेका छन्।

चारघरेबस्तीमा बास बसेका ३१ घर परिवारमध्ये कसैको पनि सम्पत्तिको नाममा एक धुर पनि जग्गा जमिन छैन्। जिल्ला भूमि अधिकार मञ्चले बस्तीमै पुगेर चार घरे भूमि अधिकार मञ्च गठन गरेर उनीहरुलाई संगठित गरिदिएर च्याउ खेती सम्बन्धी तालिम समेत प्रदान गरेपछि सुकुमबासी बस्तीका स्थानियको परिस्थिती परिवर्तन भएको छ।

२०७३ मंसिरमा ३ दिने च्याउँ खेती सम्बन्धी तालिम संचालन गरिएको र सोही तालिमबाट सिकेको च्याउ खेती गर्ने सिपलाई सुकुम्बासी बस्तीका स्थानीयले व्यवहारमा उतार्दै बस्ती भित्रै च्याउ खेती गर्न थालेका छन। २ वटा टनेल निर्माण गरी अहिले च्याउ खेती गरिएको र खेती पनि राम्ररी सप्रिएकोले आम्दानी बढेको बस्तीका स्थानिय बासिन्दा समेत रहेकी मञ्चकी सदस्य बस्नेतले बताएकी छिन्।

गत साल ८५ हजार लगानी गरेर च्याउ खेती शुरू गरेपछि एकै सिजनमा १ लाख ९५ हजार आम्दानी भएको थियो। आम्दानी भएको रकममध्ये ३० हजार रुपैंया अर्को वर्षको बिउको लागि छुट्याएर बाँकी रकम समूहमा सहभागिहरुलाई वितरण गरिएको थियो। थोरै लगानीमा राम्रो आम्दानी हँुने देखेर च्याउ खेतीप्रति बस्तीका स्थानिय हौसिएका छन्। यस वर्ष पनि गएको वर्षको ३० हजार र थप ३० हजार ऋण लिएर ६० हजारको लगानीमा पुष महिनामा दुईवटै टनेलमा ३ सय १३ पोका च्याउको खेती लगाएपछि फेरी पनि राम्रो आम्दानी भएको चार घरे भूमि अधिकार मञ्चका अध्यक्ष नेत्र कार्कीले बताए।

काठमाडौंबाट ६ सय ग्रामको एक पोका ८० रुपैंयाको दरले खरिद गरी ल्याएको र अहिले दुईवटै टनेल मिलाएर ३ सय १३ पोका च्याउ उत्पादनका लागि राखिएको उनले बताएको छ । खेती गरेको एक महिना नबित्दै दुईवटै टनेलबाट दिनको ५५ किलो सम्म च्याउ उत्पादन भएको कार्कीले बताएका छन्।

उत्पादित च्याउ सुकुम्बासी बस्तीकै स्थानियलाई विक्रि गर्ने जिम्मा समेत दिइने गरिएको छ। टनेलबाट उत्पादन भएको च्याउ बस्तीकै स्थानियले १ सय ६० रुपैंयाको दरले खरिद गर्ने र गाउँमै २ सय रुपैंयाको दरले  विक्रि हुँने गरेको उनले बताए। सामूहिक खेती भएकोेले टनेलबाट सोझै खुद्रा विक्रि गरिदैन। समूहकै कुनै एक सदस्यलाई एक सय ६० रुपैंयाको दरले विक्रि गर्ने जिम्मा दिएर प्रतिकिलो ४० रुपैंया मुनाफा खुद्रामा विक्रि गर्ने नियम समेत बनाइएको छ। ४० रुपैंया प्रतिकिलो मुनाफा विक्रि गर्नेलाई हुँने भएपछि समुहकै सदस्यलाई पालैपालो विक्रि गर्ने अवसर समेत दिईने गरिन्छ।

पुस देखि चैत्र सम्ममा च्याउ खेती हुँने र शुरूमा ५३ किलो सम्म उत्पादन हुँदै आएकोमा गर्मी शुरु भएदेखि उत्पादनमा भने कमि आएको कार्कीले बताएका छन्। च्याउ अहिले दिनको १० किलो सम्म उत्पादन हुँने गरेको उनले बताए। आफूहरुले उत्पादन गरेको च्याउको माग धेरै भएपनि २ वटा टनेलमा मात्रै च्याउ खेती लगाइएकोले माग अनुसार च्याउ उत्पादन हुन नसकेको उनीहरुको भनाई छ।

उत्पादन गरिएको च्याउ गाउँबाटै विक्रि हुँने भएकोले बजार सम्म पु¥याउने झन्झट भने ब्यहोर्नु नपरेको कार्कीले बताएका छन्। दिनको एक क्विन्टल सम्म च्याउको माग रहेपनि त्यति उत्पादन गर्न पुँजीको अभाव, च्याउ खेतीको लागि पानीको अभाव रहेको छ। ३१ परिवारलाई पिउन एउटै इनारको सहारा रहेकोले त्यही पानिबाट च्याउ खेती समेत गर्नुपर्ने हुँन्छ, त्यहि भएर खेती थप्न नसिकएको बस्तीका स्थानियको भनाई छ।

जिल्ला कृषि विकास कार्यालयबाट खेतीकालागि अनुदान दिने सुने पनि अहिले सम्म आफ्नो सुकुम्बासी बस्तीका लागि त्यस्तो अनुदान सहयोग भने नपाएको मञ्चका अध्यक्ष कार्कीले बताए। जिल्ला कृषि विकास कार्यालय लगायत अन्य सरोकारवाला निकायले च्याउ खेतीका लागि थप सहयोग गरे अझ बढी च्याउ खेतीमा लाग्ने र राम्रो आम्दानी गरेर परिवारको भरणपोषण गर्न सजिलो हुँने बस्तीका अधिकांसको भनाई छ।

प्रकाशित: २३ फाल्गुन २०७४ ०९:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App