इलाम – इलाम सदरमुकाम अहिलेको स्थानमा आएर बसेको २ सय वर्ष पुगेको अवसरमा तामझामसहित महोत्सव आयोजना गरिने भएको छ। इलाम नगरपालिकाले ‘इलाम हाम्रो गौरव’ नारासहित आउँदो २०७५ सालभर विभिन्न कार्यक्रम आयोजना गरी महोत्सव मनाउने तयारी गरेको छ।
आउँदो ०७५ साल वैशाख १, २ र ३ गते सदरमुकाममा भव्य रूपमा महोत्सव आयोजना गर्ने र यही अवसर पारेर वर्षभर विभिन्न कार्यक्रम गर्ने नगरपालिकाले जनाएको हो। महोत्सव आयोजना गर्न १ हजार सदस्यीय मूल आयोजक समिति, ३३ सदस्यीय सचिवालय र विभिन्न १३ उपसमिति गठन गरिएको छ। महोत्सव आयोजक सञ्चार उपसमितिले सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाले सदरमुकाम अहिलेको स्थानमा सरेको २ सय वर्ष पुगेको अवसरमा गरिने कार्यक्रमबारे जानकारी दिएको छ।
महोत्सवका लागि नगरपालिकाका प्रमुख महेश बस्नेतको संयोजकत्वमा मूल समारोह समिति, बस्नेतकै संयोजकत्वमा सचिवालय गठन गरिएको छ। प्राज्ञ कोमल निरौलाको संयोजकत्वमा संगीत तथा कला व्यवस्थापन, नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकालको संयोजकत्वमा प्रचारप्रसार, नराज शंकरको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन तथा संयोजन, इतिहासकार युद्धप्रसाद वैद्यको संयोजकत्वमा स्मारिका प्रकाशन, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) अध्यक्ष विकास कर्माचार्यको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ।
सहप्राध्यापक जसबहादुर लुंगेलीको संयोजकत्वमा विचार गोष्ठी व्यवस्थापन, रीना घिमिरेको संयोजकत्वमा अतिथि सत्कार तथा सजावट, उद्योग वाणिज्य संघ अध्यक्ष आनन्द कट्टेलको संयोजकत्वमा स्रोत व्यवस्थापन, अभिषेक एक्तेनको संयोजकत्वमा संस्कृति प्रदर्शनी, अमृता घिमिरेको संयोजकत्वमा खेलकुद व्यवस्थापन र डा. देवी क्षेत्री दुलालको संयोजकत्वमा साहित्य सम्मेलन व्यवस्थापन उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख महेश बस्नेतले जानकारी दिए। ‘इलामबासी सम्पूर्णको साझा चाडका रूपमा वैशाख १ गते राष्ट्रपति वा प्रधानमन्त्रीबाट महोत्सव उद्घाटन गरिने छ,’ बस्नेतले भने, ‘वैशाख १, २ र ३ गते महोत्सवको सुरुआत मात्रै हो, यही अवसरमा वर्षभर कार्यक्रम आयोजना गरिनेछन्।’
वैशाख १ गते धार्मिक संस्थाहरूको ध्वनि र बाजागाजासहित महोत्सव उद्घाटन, स्मारक÷स्तम्भ उद्घाटन, झाँकी प्रदर्शन, गुम्बा, मन्दिर, चर्च, मस्जिद आदिमा पूजापाठ, विशिष्ट व्यक्तिलाई सम्मान, इलामले उत्पादनको प्रदर्शन गरिने र इलाम झल्किने तस्बिरसहितको हुलाक टिकट प्रकाशनको घोषणा गर्ने कार्यक्रम छ।
भोलिपल्ट इलामको विकास सम्भावना, चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गर्ने, साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ।
वैशाख ३ गते इलामको भगिनी सम्बन्धको धरान नगरपालिकासहित छिमेकी नगरपालिकासँग आपसी साझेदारीबारे छलफल, खेलकुद र सांस्कृति समारोह आयोजना गर्ने तय भएको प्रमुख बस्नेतले जानकारी दिए। ‘महोत्सवका लागि सबै उपसमितिले सक्रिय रूपमा काम गरिरहेका छन्,’ उनले भने, ‘इलामलाई देश र विदेशमा समेत चिनाउन २०० औं वर्षको कार्यक्रम कोसेढुंगा हुने अपेक्षा छ।’
सुगौलीको सन्धिपछि १८७५ सालमा इलामकै करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको इतिहास छ। आदिवासी लेप्चा र लिम्बू जातिको पुरानो थातथलोका रूपमा रहेको इलामको इतिहास झल्काउने, इतिहासबारे नयाँ पिँढीलाई जानकारी दिनेलगायत उद्देश्यले २००औं वर्षको कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ।
सदरमुकाम बसेको २०० औं वर्षको अवसरमा यहाँको चिया, नेपालकै पुरानो उद्योग (इलाम चिया उद्योग), शैक्षिक इतिहास, कृषिमा आधारित जीवनशैलीलगायतलाई परिचित गराइने प्रमुख महेश बस्नेतले बताए। त्यस अवसरमा जिल्लाको इतिहाससँगै शिक्षा, कृषि, पुराना खाद्यबालीलगायत समेटेर जिल्ला र जिल्लाबाहिर प्रचारप्रसार गर्ने कार्यक्रम छ।
इतिहासकारका अनुसार चौथो शताब्दीतिर इलाममा राज्य गरेको लेप्चा जातिको इतिहास र सातौं शताब्दीतिर लिम्बू जातिका ‘इमेहाङ’ले राज्य गरेको इतिहासबाट ‘इलाम’ नाम रहेको हो । इतिहासकार युद्धप्रसाद वैद्यका अनुसार उत्तरबाट बर्मा हुँदै भारतको आसमतर्फबाट आएका इमेहाङले यहाँ शासन गरेका थिए। त्यतिबेला यो क्षेत्रलाई १० लिम्बुवान क्षेत्रकै भाग मानिने गरेको उनले बताए। इलाममा बस्ती विकास चाहिँ कहिलेदेखि भयो भन्ने पत्तो लाग्न सकेको छैन। अहिलेको माइजोगमाई गाउँपालिका–५ सोयाङस्थित सरस्वती माध्यमिक विद्यालय भएको स्थानमा केही वर्षअघि घडेरी खन्ने क्रममा एउटा धातु भेटिएको भन्दै उनले त्यसको अध्ययन गर्दा अनुसन्धानकर्ताले ७ हजार वर्षपहिला त्यहाँ खोलो भएको र जीवको बास भएको भन्नेसम्म भेटिएको बताए।
चौथो शताब्दीदेखि भेटिएको लाप्चा जातिको इतिहासअनुसार रोङ लिपिमा ‘इ’ को अर्थ पुत्का (मौरी) र ‘लोङ’को अर्थ उडेको, बसेको ठाउँ हुने भएकाले ‘इलोङ’ नाम थियो। अहिले अपभ्रंश भएर इलाम भएको वैद्यले बताए। ‘१६ औं शताब्दीमा पाल्पाका राजा मकुन्द सेनले विजयपुर जितेपछि इलाम पनि नेपाल राज्यभित्र प¥यो, त्यसबेला दश लिम्बूवानअन्तर्गत यो स्थानमा आशदेव शासक थिए,’ उनले भने, ‘इलाम रहेको राज्य पनि सेनहरूले जितेपछि त्यसबेला मुकुन्द सेनले उनका कान्छा छोरा लोहान सेनलाई यो विजयपुरपूर्व अंश दिए।’
अंग्रेज–नेपाल युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम ग¥यो। मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिले इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बस्यो। मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो। इलामको यही इतिहासबारे सबैलाई जानकारी गराउन जरुरी रहेको वैद्य बताउँछन्। ‘इलामको यो इतिहास नेपालको इतिहासमा समेत लेखिएको छैन,’ इतिहासकार वैद्य भन्छन्, ‘इलाम नेपालमा गाभिनु पृथ्वीनारायण शाहको राज्य एकीकरणको सुरुआत थियो।’
सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका हुन्। पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अंग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा नामसालिङको हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलामको माइस्थान ल्याइएको थियो। माइस्थान मन्दिर १८८० स्थापना भएको अनुमान छ।
प्रकाशित: २२ फाल्गुन २०७४ ०८:१६ मंगलबार