९ असार २०८१ आइतबार
image/svg+xml
समाज

अध्यारो सडक, दुर्घटनाको भय

६ महिनामा २२ जनाको ज्यान गयो

बुधबार बिहान पोखरा महानगरपालिका–१८ चिसाखोला नजिक जीप दुर्घटना भयो। दुर्घटनामा एकजनाको ज्यान गयो। मेथलाङबाट पोखरा बजार झरिरहेको ग ३ च २६०३ नम्बरको दूध बोक्ने गाडी नियन्त्रण गुमाएर दुर्घटनामा पर्दा चालक पोखरा–१८ ग्यारजाती बस्ने ४९ वर्षिय कृष्णबहादुर थापाको ज्यान गएको प्रहरीले बताएको छ। दुर्घटनामा परेर अरु दुइजना यात्रु घाइते भए।

पुस दोश्रो साता पोखरा महानगरपालिका–५ पस्र्याङमा तिब्रगतिमा रहेको गाडीले सडकमा हिडिरहेका पैदलयात्रीलाई ठक्कर दियो। दुर्घटनामा दुइजनाको ज्यान गयो। बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको तिब्रगतिको कारले मध्यरातमा पैदलयात्रुलाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा परेर ज्यान गुमाएका मध्ये एकजनाको मात्र सनाखत भएको र अर्का एकजनाको अहिलेसम्म पनि पहिचान हुन नसकेको प्रहरीको भनाई छ। दुर्घटनापछि भागेका चालक भोलिपल्ट आफै प्रहरी सम्पर्कमा पुगेका थिए।  

प्रहरीले पस्र्याङको घटनापछि जिरोकिलोमिटरदेखि विन्ध्यवासिनीसम्म (करिब ३ किलोमिटर) को अवस्थाबारे आफैले अध्ययन गरेको थियो। प्रहरीको अध्ययनको एउटा निष्कर्ष थियो–सडक बत्ती नहुँदा यो खण्डमा अध्यारोका कारण दुर्घटना बढेका हुन्। कास्कीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक भानु शर्माका अनुसार जिरो किलोमिटरदेखि विन्ध्यावासिनीसम्मको दुरीमा मात्र चालु आर्थिक वर्षको ६ महिना अवधिमा ६ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा ६ जनाकै ज्यान गएको छ।  

‘पोखरामा सवारी दुर्घटनाका लागि सबैभन्दा डरलाग्दो सडक खण्ड नै जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्मको बनेको छ। यो खण्डमा दुर्घटना बढी हुने गरेका छन। फराकिलो सडकमा तिब्रगतिमा गाडी कुदाउने गरिएको छ,’ शर्माले भने, ‘सडक फराकिलो भएपनि सडकछेउमा कतैपनि सडकबत्ती राखिएको छैन। सडकबत्ती नभएकै कारण त्यस क्षेत्रमा बढी दुर्घटना भएको प्रहरीको बुुझाई छ।’  

उनका अनुसार पैदलमार्गमा बत्ती नभएपछि सर्वसाधारण सडकबाट हिड्ने गरेका छन। अध्यारोका बेला तिब्र गतिको गाडीले बत्तीको भरमा भेउ नपाउँदा दुर्घटना हुने गरेको उनले बताए। ‘बेलुकी ६ बजेदेखि राती ११ बजेसम्म अधिक दुर्घटना हुने गरेका छन,’ उनले भने। उक्त खण्डमा दुर्घटना बढेपछि सडक डिभिजन कार्यालयलाई सडकबत्ती राख्न अनुरोध गरेको समेत उनले बताए।  

ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार कास्कीमा मात्र चालु आर्थिक वर्षको ६ महिना अवधिमा ५० वटा सवारी दुर्घटना भएका छन। ती दुर्घटनामा परेर २२ जनाको ज्यानै गईसकेको छ भने ४७ जना गम्भिर घाईते भएका छन। ‘सबैभन्दा बढी मानवीय क्षति हुने मार्ग नै अहिले जिरोकिलोमिटर–विन्ध्यवासिनी हो,’ उनले भने, ‘जहाँ ६ महिनामा ६ जनाले ज्यान गुमाएका छन्।’

प्रहरीका अनुसार कास्कीमा सवारी दुर्घटनाको संख्या हरेक वर्ष बढिरहेको छ। ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार कास्कीमा आर्थिक वर्ष २०७७÷७८ मा भएका सवारी दुर्घटनाको संख्या ६४ थियो । ती दुर्घटनामा परेर ४३ जनाको ज्यान गएको र ३२ जना गम्भिर घाईते भएका थिए। त्यस्तै आर्थिक वर्ष २०७८÷७९ मा कास्कीमा ९८ वटा दुर्घटनामा परेर ५५ जनाको ज्यान गएको र ७९ जना घाईते भएका थिए। आर्थिक वर्ष २०७९÷८० मा भने कास्कीमा ११७ दुर्घटना हुँदा ४४ जनाको ज्यान गएको र १२३ जना घाईते भएका थिए।  

‘पर्यटकीय सहरभित्रको सवारी दुर्घटनाको अवस्था निकै नै डरलाग्दो छ। यतिसम्मकी दुर्घटनामा ज्यान गएका व्यक्तिको सनाखत समेत हुन गाह्रो हुने गरेको छ,’ कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विक भन्छन, ‘पोखरामा सानातिना दुर्घटनाको त कुनै नगरौं। ज्यानै जानेगरि दुर्घटना हुँदा प्रहरीलाई पनि टाउको दुखाई बन्ने गरेको छ।’ डिएसपी विकका अनुसार पछिल्लो समय बजार क्षेत्र र राजमार्गमा सवारी दुर्घटना बढी हुने गरेका छन। राजमार्ग क्षेत्रमै बढी दुर्घटना हुने गरेको उनले बताए।  

‘तिब्र गति, मादकपदार्थ सेवन, साँघुरो बाटो, सडक उज्यालो नहुनु लगायत कारणले गर्दा सहरभित्र बढी दुर्घटना भएका छन,’ विकले भने, ‘अध्यारो बाटोमा पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने गरेका छन। त्यसले मानवीय क्षति नै हुने गरेको छ।’ डिएसपी विकका अनुसार पुस दोश्रो साता पस्र्याङमा भएको दुर्घटना सडकमा बत्ती नहुँदा पनि घटेको एउटा घटना हो। किनभने पैदलमार्गमा बत्ती नभएपछि सर्वसाधारणले सडकबाट हिडेका थिए । मध्यरातको समयमा गाडी नआउने अनुमान गर्दै सडकबाट हिडेको बेला दुर्घटना भएको उनले बताए।  

‘पस्र्याङमा अध्यारोकै कारण पनि दुर्घटना भएको हाम्रो ठहर छ। त्यही भएर अहिले त्यस क्षेत्रमा सडकमा बत्ती राख्न लगाएका छौं,’ उनले भने, ‘अध्याराको समयमा पैदलमार्गमा हिड्ने अप्ठेरो हुने भएपछि सर्वसाधारण सजिलोका कारण सडकबाट हिड्ने गरेका छन। पैदलमार्गमा खाल्डाखुल्डीको डर पनि छ।’ पैदल यात्रुलाई ठक्कर दिएर अध्यारोको मौका पारेर सवारी साधन भगाउने समेत गरिएको उनले बताए।  

प्रकाशित: १० माघ २०८० १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App