२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गौर विकासबारे के भन्छन् नागरिक अगुवा?

बालबालिकालाइ अनिवार्य रूपमा विद्यालय पठाउनेअभियानमा गाैर नगरपालिका। स्राेत: गाैर नगरपालिका वेवसाइट।

रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका व्यापारिकस्थल पनि हो। गौरले व्यापार तथा व्यवसाय र सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरिरहेको छ। गौर नगरपालिकामा खेलकुदको विकास भइरहेको छ।

यहाँको शिक्षालाई जिल्लाको स्तरीय शिक्षा मानिन्छ। देशको चौथो शिक्षालय जुद्ध माध्यमिक विद्यालय गौरमै छ। सबै धार्मिक समुदायका लागि यहाँ तीर्थ र व्रतस्थल रहेका छन्। यहाँ आआफ्ना चाडपर्व र उत्सवलाई मिलेर मनाइन्छ। अनेक जातजाति तथा सम्प्रदायको बसोबास रहेको गौरको मुख्य विशेषता साम्प्रदायिक सद्भाव हो।

गौरमा देशकै पुरानो मानिने ‘कलाकुञ्ज पुस्तकालय’ रहेको छ। सञ्चारको क्षेत्रमा गौरले राम्रो प्रगति गरेको छ। जिल्लामा रहने अधिकांश सरकारी कार्यालयहरू गौरमै रहेका छन्। निजी तथा सरकारी अस्पतालहरूले गौरको सामाजिक विकासमा ठुलो सहयोग प्रदान गरेको देखिन्छ।

गौरमा कृषि र व्यापार तथा नोकरी गरी तीन व्यवसाय मुख्य रूपमा रहेका छन्। शिक्षामा अन्य पालिकाको तुलनामा अगाडि रहेको गौरमा कोरोनाकालदेखि व्यापारमा गिरावट आएको व्यवसायीहरूको भनाइ छ।

यसबारे गौर नगरपालिकाले पनि विचार गरिदिनुपर्ने यस क्षेत्रका बुद्धिजीवीहरूको आग्रह रहेको छ। गौरको प्रभाव समग्र जिल्लामा नै पर्ने गरेको छ। यसै अर्थमा सदरमुकाम गौरको सामाजिक तथा आर्थिक विकाससँग सम्बन्धित रहेर सम्बन्धित केही व्यक्तिहरूको राय बुझ्ने प्रयास गरेका छौं। प्रस्तुत छ, गौरप्रति केही प्रबुद्ध व्यक्तिहरूको दृष्टिकोण र सुझाव, जस्ताको तस्तै:

बाबुलाल साह कानु, प्रथम नगरप्रमुख

बाबुलाल साह कानु, प्रथम नगरप्रमुख

वर्तमान नगर कार्यपालिकाले गौरको विकास र समृद्धिका लागि राम्रो काम गरिरहेको छ।

सबैतिरबाट प्रशंसा नै सुनिएको छ र राम्रो भएको देखेको पनि छु। गौरवासीको सुखदुःखमा नगरपालिका साथी बनिरहेको छ। गौर नगरपालिकाको प्रथम नगरप्रमुखका दृष्टिले म वर्तमान कार्यपालिका सक्षम र सफल देख्छु।

गौरमा गरिबीको रेखामुनि रहेका विपन्न समुदायका लागि आवासको सुविधा, पानी–निकासको सुविधा, आर्थिक विकासका लागि कसरी नयाँ किसिमले सोच्न सकिन्छ भन्नेतिर विचार गर्नुपरेको छ। गौरको व्यापार–व्यवसाय अहिले करिब ठप्प छ। स्थानीय स्रोतसाधनको दुरूपयोग भइरहेको छैन तर सदुपयोग पनि हुन सकेको छैन। यी सबैतिर नगरपालिकाको ध्यान जान जरुरी देख्छु।

विजयकुमार झा, अध्यक्ष, ज्येष्ठ नागरिक समाज

विजयकुमार झा, अध्यक्ष, ज्येष्ठ नागरिक समाज

गौरमा विकास निर्माणको काम अगाडि बढिरहेको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पहलमा टाउन हल तथा टावरको निर्माण कार्य अगाडि बढिरहेको छ तर संघीय सरकारको जति सहयोग हुनुपर्ने हो, त्यति बजेट नआइरहेकाले विकास निर्माण प्रभावित भइरहेको छ।

नगर सरकारले प्रयास गरेर अझ बढी बजेट ल्याएर काम गर्नुपर्ने आवश्यकता देखिन्छ।

गौरको जति र जस्तो विकास हुनुपर्ने हो, त्यसका लागि संघ र प्रदेश सरकारले पनि समन्वय गर्नुपर्ने हो। शिक्षा क्षेत्रमा अझ सुधार गर्नुपर्ने देखिन्छ।

पण्डितप्रसाद जयसवाल, अध्यक्ष रौतहट उद्योग वाणिज्य संघ

सामाजिक विकासको क्षेत्रमा गौरले निकै सह्राहनीय काम गरिरहेको छ। गौरका वर्तमान नगरप्रमुख शम्भु साह कानुले सुझबुझपूर्ण तरिकाले यहाँको विकास र निर्माणलाई अगाडि बढाइरहेका छन्।

जनता दरबार कार्यक्रममार्फत जनताको समस्या सुन्ने तथा समाधान गर्ने प्रयास पनि गरेका छन्। विकास निर्माणको सोझै निर्देशन दिने र अनुगमन गर्ने कामलाई उनी तन्मयताका साथ गरिरहेका छन्। यति हुँदाहुँदै पनि गौरमा उद्योगी तथा व्यवसायी खासै सन्तुष्ट हुन सकेका छैनन्।

पण्डितप्रसाद जयसवाल, अध्यक्ष रौतहट उद्योग वाणिज्य संघ

व्यवसायमा निकै समस्या रहेको छ। मूलतः व्यवसायीलाई व्यवसायसित सम्बन्ध रहेको हुन्छ। जिल्लाको मुख्य नाका गौरमा नै धेरै समस्या रहेको छ। भन्सार तथा क्वारेन्टाइनमा समस्या रहेको छ। नेपालको भन्सार कार्यालय तथा भारतको पनि कस्टम अफिसको अपग्रेड हुनु जरुरी छ। भारतबाट सहज रूपमा मालसामान गौरमा आउन नसक्नु र उपभोक्ता सोझै भारतको बजारमा पुग्नु पनि यहाँको समस्या हो।

किरण ठाकुर, पूर्व नगरउपप्रमुख

समग्र विकासका लागि स्वास्थ्य क्षेत्रमा सेवाग्राही सन्तुष्ट भएको देखिएन। शिक्षाको क्षेत्रमा पनि खासै परिवर्तन भएको देखिएको छैन। महिलाको सिप विकासका लागि मेरो समयमा धेरै भएको थियो तर अहिले भने सिप बढाउने कुनै कार्यक्रम भएको देखिएन। मेरो समयमा महिला विकासका लागि धेरै काम भएको थियो र संस्कृतिको क्षेत्रमा धेरै काम भइरहेको थियो।

किरण ठाकुर, पूर्व नगरउपप्रमुख

संस्कृतिको क्षेत्रमा पनि कुनै प्रयास भएको देखिएको छैन। किसानलाई राहत दिने काम पनि हुुनुपर्ने आशा रहेको छ।

किसानलाई मोडमोडमा सहुलियत हुनुपर्ने हो। मेरो चाहना यो पनि रहेको छ कि किसानले खेतीपाती छाडेर जाने वातावरण नहोस्, किसानले पैसा आउने वातावरण हुनु आवश्यक छ।

समग्रमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा उद्यमशीलताका साथै उद्योगी र व्यापारी वर्गको हकहितका लागि पनि केही गर्नुपरेको छ। सबै क्षेत्रलाई राजनीतिभन्दा अलग राखेर पूर्व, वर्तमान तथा पछि आउने जनप्रतिनिधिले पनि हेर्नु उचित हुन्छ।

प्रकाशित: ९ माघ २०८० ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App