रौतहट जिल्लाको सबैभन्दा पुरानो नगरपालिका गौर हो। यो रौतहट जिल्लाको सदरमुकाम सहर पनि हो। तत्कालीन गौर, टिकुलिया, पुरेनवा, सिर्सिया र सबगढा गरी पाँच गाउँ विकास समिति (गाविसहरू) मिलेर २०४८ चैत ३० गते गठन भएको गौर नगरपालिका २०४९ वैशाख २४ गतेदेखि कार्यालय स्थापना भई विधिवत सञ्चालनमा आएको छ। क्षेत्रफल घटबढ र सिमाना हेरफेर हुँदै आएको वर्तमान गौर नगरपालिकाको क्षेत्रफल २१.५३ वर्ग किलोमिटर र नौ वडा रहेका छन्।
नामकरण
गौरको मुख्य बजारको उत्तरपूर्वमा बरहवा ताल छ। लोरिकायन लोकमहाकाव्यमा बरहवा ताललाई गौरा दह भनिएको छ। यही गौरा दहको किनारमा बसेको प्राचीन बस्तीको नाम गौर रहन गएको हो। कतिपयले प्राचीन कालमा गौर नामको एक प्रजातिको जंगली गाईको बसोबास रहेको क्षेत्र भएकाले सोही जनावरको नामबाट यस स्थानको नाम गौर रहन गएको बताउँछन्।
भौगोलिक अवस्थिति
रौतहट जिल्लाको दक्षिणी सिमानामा अवस्थित गौर नगरपालिका पूर्वपश्चिम राजमार्गभन्दा ४० किलोमिटर दक्षिणमा अवस्थित छ। पूर्वपश्चिम राजमार्गदेखि सबैभन्दा दक्षिणको सीमा सहर र सदरमुकाम गौर नै हो।
गौर नगरपालिकाको पूर्वमा राजदेवी नगरपालिका, पश्चिममा ईशनाथ नगरपालिका, उत्तरमा राजपुर नगरपालिका तथा दक्षिणमा भारत विहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया पर्छ। दशगजासित जोडिएको गौरको जनसंख्या २०७८ को राष्ट्रिय जनगणनाअनुसार ३९ हजार आठसय ४६ रहेको छ।
ऐतिहासिक पृष्ठभूमि
सदरमुकाम गौरमा आउनुअघि गौर एउटा सामान्य बजार थियो। गौरमा सदरमुकाम आउनुअघि रौतहटको सदरमुकाम कट्टरवन थियो। बागमती नदीको पश्चिमी किनारमा अवस्थित कट्टरवनमा बाढीको डर सधैं रहन्थ्यो।
१९९० माघ २ मा आएको महाभूकम्पले सदरमुकाम कट्टरवनलाई क्षतिग्रस्त तुल्याएको र बागमती नदीको कटानमा पर्दै गएकाले तत्कालीन सरकारी कार्यालयहरू गौर बजारमा सार्ने निर्णय १९९० चैतमा भई १९९१ वैशाखदेखि कार्यालयहरू सञ्चालनमा आएको उल्लेख पाइन्छ।
गौरको इतिहास कति पुरानो छ भन्ने विषयमा इतिहास मौन छ। लोकमहाकाव्य लोरिकायनलाई इसापूर्वको मानिन्छ। यस लोकमहाकाव्यमा गौरको सन्दर्भ पाइन्छ।
यसै गरी राजा कर्नाटकालीन राजा शिवसिंह (सेवई सिंह)ले गौरमा निर्माण गराएको मानिएको बानेश्वर महादेव मन्दिर अद्यापि छँदैछ। यद्यपि यस मन्दिरलाई अझ प्राचीन छ भनी तर्क दिनेहरू पनि रहेका छन्।
कर्नाटकालीन सुवर्णा माई मन्दिर पनि रहेको छ। प्राचीन तथा मध्यकालीन मन्दिरहरू तथा अवेशषहरू भेटिनुले गौर पुरानो बस्ती रहेको तथ्यलाई साबित गर्छ।
राणाशासनको समयमा जाडो छल्न हजमिनिया दरबारमा आउँथे र यहींबाट देशको शासन केही महिना सञ्चालन गर्थे। त्यस समयमा गौर गुल्जार थियो। यही गौरकै छिमेकी भारतीय बजार बैरगनियामा नेपाली कांग्रेसको सम्मेलन भएको थियो, जसले नेपालमा सशस्त्र क्रान्ति गरी राणा शासन हटाउने निर्णय लिएको थियो।
राणा शासनलाई ढाल्न गौरले निकै ठुलो बलिदान दिएको छ। ३ मंसिर २००७ मा सदरमुकाम गौरमा ठुलो आन्दोलन भएको थियो। तत्कालीन सेनाले सर्वसाधारणको जुलुसमाथि अन्धाधुन्ध गोली चलाउँदा दर्जनौं आन्दोलनकारी सहिद भएका थिए। यसैले गौरलाई क्रान्तिभूमि पनि भनिन्छ।
२०४६ को जनआन्दोलन, माओवादी सशस्त्र द्वन्द्वदेखि मधेस आन्दोलनसम्म गौरले रगत बगाएको छ। जिल्लाको सदरमुकाम हुनुको नाताले पनि सबै आन्दोलनको केन्द्रबिन्दु गौर हुनु स्वाभाविक हो तर हरेक जसो आन्दोलनमा गौर आफैं पनि सहभागी हुने गरेको छ। २००७ को आन्दोलनदेखि नै गौरको राजनैतिक चेतना उच्च रहेको छ।
ऐतिहासिक धरोहर
गौर बजार आफैंमा ऐतिहासिक बजार हो। नेपाल–अंग्रेज युद्ध हुनुभन्दा पहिलेदेखि नेपाल र अंग्रेजबिच विवादास्पद जमिनमध्ये गौरको जमिन पनि हो। सुगौली सन्धिपश्चात् नेपाल–अंग्रेज युद्ध समाप्त भई नेपालको नयाँ सिमाना निर्धारण हुनुभन्दा पहिलेदेखि नै गौर बजार लाग्दै आएको छ।
भन्सार कार्यालय नजिक लाग्दै आएको हाट यस क्षेत्रको प्राचीन हाट बजार हो। यस बजारको संरक्षण हुन नसक्दा यसको अस्तित्व लोप हुन थालेको छ तर सदरमुकाम गौरमा भने व्यापारिक प्रतिष्ठानहरू निरन्तर बढिरहेका छन्। गौरको पुरानो बजारको मौलिकता संरक्षण गर्नु आवश्यक छ।
राणाकालीन समयमा निर्माण भएको पुरेनवा दरबार एउटा ऐतिहासिक धरोहर हो। भवन निर्माणको एउटा उत्कृष्ट कला पनि हो।
राणा खलकका तुंग शमशेरले निर्माण गराएको पुरेनवा दरबारको वास्तविक नाम विलासकुञ्ज थियो। अहिले यस दरबारमा नेपाली सेनाको एउटा टोली रहने गरेको छ।
हाल रौतहट जिल्ला अदालत परिसरमा रहेको सहिद स्तम्भ त्यो ठाउँ हो, जहाँ राणा शासनविरुद्ध संघर्ष गर्दागर्दै केही आन्दोलनकारीहरू सहिद भएका थिए। गौरका प्रथम सहिद शिवप्रसाद कुँवरको स्मारक यही रहेको छ।
यहाँ हरेक वर्ष मंसिर ३ मा बलिदान दिवसका रूपमा मनाइने चलन छ। माघ १६ र फागुन ७ का दिन पनि सहिदको सम्झना गर्नेहरूले यही स्मारकमा बलिदानीको स्मृति गर्छन्।
राणाकालमा स्थापना भएको जुद्ध माध्यमिक विद्यालय गौरको ऐतिहासिक धरोहर हो। देशको चौथो पुरानो विद्यालयको मान्यता पाएको यस विद्यालयको स्थापना १९९४ सालमा भएको हो।
यसै विद्यालयमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रसिद्ध प्रगतिवादी दार्शनिक गोविन्द भट्ट, समाजवादी विचारक नारायणमान बिजुच्छेले अध्ययन गरेका थिए। केही राणाहरूको सक्रियता र संलग्नतामा जुद्ध शमशेरको पालामा स्थापना भएकाले विद्यालयको नाम जुद्ध मावि राखिएको हो।
राणा शासनकालमा नै खोलिएको कलाकुञ्ज पुस्तकालय आफैंमा देशको धरोहर हो। गौरको मुख्य बजारमा रहेको यस पुस्तकालयले आयोजना गरेको साहित्यिक कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा र प्रगतिशील लेखक संघका अध्यक्ष श्यामप्रसाद शर्मासमेत आएका थिए। यसले वीणा र वाणी नाममा साहित्यिक–सांस्कृतिक पत्रिका प्रकाशन गरेको थियो, जसमा नेपाली र हिन्दी भाषाका रचनाहरू प्रकाशित हुन्थे। यसले सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गर्थ्याे।
नेपाल–अंग्रेज युद्धमा प्रयोग भएको र नेपाली पक्षले अंग्रेजसित खोसेको तोप पनि यहाँको ऐतिहासिक धरोहरका रूपमा भन्सार कार्यालयनजिक प्रहरी चौकीमा राखिएको थियो तर माओवादी सशस्त्र द्वन्द्वको समयमा भन्सार कार्यालयनजिकबाट वीरगन्ज पुर्याइएको थियो। गौरमा रहेको बालमन्दिरलाई पनि ऐतिहासिक महत्त्वको मानिन्छ।
सामाजिक अवस्था
देशमा अल्पसंख्यक समुदायमा पर्ने गौर नगरपालिकामा कानु जातिको वर्चस्व छ। यहाँ कानु, यादव, मुस्लिम, तेली, कलवार, मल्लाह, बिन, ब्राह्मण, दुसाध, पासवान, मारवाडी, कुर्मी, कायस्थ, बनिया, राजपुत, कोडरी, तत्मा आदि जातजातिको बसोवास रहेको छ।
केही परिवार ढाँगर जातिको पनि रहेको छ। पहाडी समुदायको पनि यहाँ बसोबास रहेको छ। केही बाहुन, क्षेत्री तथा नेवार समुदाय यहाँ निकै पहिलेदेखि रहँदै आएका छन्। ढाँगरलाई यस नगरपालिकाको सबैभन्दा पछाडि परेको जातका रूपमा मान्न सकिन्छ।
बज्जिका यहाँको मुख्य मातृभाषा हो। केही सङ्ख्यामा यहाँ मैथिली, नेपाली र नेवारी भाषा बोल्नेहरू पनि छन्। हिन्दी र नेपाली दुवै यहाँ सम्पर्क माध्यमको भाषा हो। सबै सरकारी कार्यालयमा नेपाली भाषा नै प्रचलनमा रहेको छ।
छठ यहाँको मुख्य पर्व हो। छठपछि दोस्रो पर्वका रूपमा होलीलाई लिइन्छ। दीपावली र दसैं पनि धुमधाम र श्रद्धापूर्वक मनाइन्छ। मुस्लिम समुदायले इद, बकरइद तथा मुहर्रम मनाउँछन्।
नेवारहरूले पनि आफ्नो संस्कृति मान्ने गरेका छन्। सांस्कृतिक विविधताको दृष्टिकोणले गौर निकै सम्पन्न छ। यहाँ सांस्कृतिक सम्मिलन पाइन्छ, एक धर्म र समुदायले अर्को धर्म र समुदायको चाडपर्वमा सहभागी हुन्छन् र आफ्नो घरमा पनि मनाउँछन्।
धार्मिक क्षेत्र
गौर नगरपालिकामा विभिन्न धार्मिक क्षेत्रहरू रहेका छन्। करिब सात सय वर्ष पुराना कैयौं मन्दिर यहाँ रहेका छन्। महादेवपटि गाउँमा बकैया नदीको पूर्वी किनारमा रहेको बालेश्वर महादेव मन्दिर राजा शिवसिंहको पालामा स्थापना भएको मानिन्छ।
राजा शिवसिंहले शंकराचार्यलाई उपस्थित गराई उनैबाट पहिलोचोटि विधिवत पूजा गराएको लोककथ्य अहिले पनि रहेको छ। बालेश्वर महादेव मन्दिरमा बर्सेनि हजारौं श्रद्धालु नेपाल र भारतबाट आउने गर्छन्।
राजा शिवसिंहकै पालामा स्थापना भएको सुवर्णा माई मन्दिर पनि निकै पुरानो छ। गौरको टिकुलिया गाउँमा रहेको यस मन्दिरप्रति दुई देशका नागरिकको आस्था छ।
यस मन्दिरसँगै सपही मन्दिर पनि रहेको छ। सपही माईले भक्तजनलाई अद्यपर्यन्त पनि साक्षात् दर्शन दिने गरेको मान्यता ग्रामवासीमा रहेको छ।
यसै गरी शिवालय मन्दिर र विष्णु मन्दिर पनि गौरका धार्मिक धरोहरहरू हुन्। विष्णु मन्दिर पनि प्राचीन मन्दिर हो। हाल जीर्ण भइसकेको जिल्लाको एक मात्र विष्णु मन्दिर कहिले र कसले बनायो भन्ने विषयमा अनुसन्धान हुन बाँकी रहेको छ।
पर्यटन
अनन्त पर्यटकीय सम्भावना बोकेको बजार हो गौर। मुख्य बजारको उत्तर र पूर्वमा करिब अढाई किलोमिटरमा नदी आकारले फैलिएको बरहवा ताललाई पर्यटकीय दृष्टिकोणले संरक्षण गर्ने काम कछुवा गतिमा भइरहेको छ।
तालको संरक्षण गर्ने काममा नेपाल सरकार, मधेश प्रदेश सरकार र गौर नगर सरकार मिल्नु आवश्यक छ। तालको किनारलाई सजाएर घुम्ने, बस्ने, तालको माछा हेर्ने, समय बिताउने र तालको पानीमा जलक्रिडा गर्न सकिने व्यवस्थापन हुन सकेमा नेपाली र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना रहेको छ।
संघ सरकार र गौर नगरपालिकाबाट यस क्षेत्रमा केही प्रारम्भिक काम भएको पनि छ। यहाँका शिवालय पोखरी र लालबकैया नदीको बगरलाई पनि पर्यटकीय दृष्टिकोणले महŒवपूर्ण बनाउन सकिन्छ। बालेश्वर मन्दिरको धार्मिक पर्यटनबाहेक अन्य पर्यटकीय गतिविधि यहाँ खासै भएको पाइँदैन।
व्यापार व्यवसाय
जिल्लाको सदरमुकाम भएकाले यहाँ व्यापार व्यवसाय सञ्चालन हुनु स्वाभाविक हो। यहाँ कपडा, विदेशी सामग्री, साना होटल तथा किराना र दैनिक जीवनसित जोडिएका सैकडौं पसलहरू रहेका छन्। सीमा जोडिएको हुनाले मदिराको बिक्री पनि यहाँ खुब हुने गरेको छ। जिल्लास्तरमा हुने अधिकांश सरकारी कार्यालयहरू गौरमै रहेको हुनाले दैनिक यहाँ मानिसहरूको आवागमन भइरहने र व्यापार व्यवसायलाई भरथेग गरिरहने हुन्छ। गौर आउने अधिकांश मानिस भारतको बैरगनिया गएर सामान किनेर घर फर्कन्छन्।
यातायात र सञ्चार
जिल्लाको सदरमुकाम गौर भएकाले यहाँबाट देशका सबै प्रमुख सहरसम्म सार्वजनिक यातायात सञ्चालनमा रहेका छन्। यहाँबाट जिल्लाका सबै स्थानीय तहमा पुग्न सकिने बाटो रहेको छ।
जिल्लाको हरेक पालिकासम्म साना र ठुला सार्वजनिक यातायात सञ्चालन भइरहेका छन्। यातायातका दृष्टिले गौरलाई सम्पन्न मान्न सकिन्छ। नेपाली अखबार मुस्किलले बिक्री गौरमा भारतीय अखबारको ग्राहक धेरै छन्। यहाँबाट दैनिक तथा साप्ताहिक अखबारहरू प्रकाशन हुने र बन्द हुने क्रम निरन्तर चलिरहेको छ।
यहाँ झन्डै आधा दर्जन एफएम रेडियोहरू सञ्चालनमा छन्। केही अनलाइन र एउटा टेलिभिजन च्यानल पनि सञ्चालनमा छन्। सञ्चारको क्षेत्रमा जिल्लाको सबैभन्दा समृद्ध नगरपालिका गौर नै रहेको छ।
विषय विविध
चार ओटा माध्यमिक विद्यालय रहेको गौरमा साधारण सामुदायिक विद्यालयको संख्या १६ रहेको छ। एउटा विद्यालय गौर कारागारमा छ। यहाँ संस्थागत विद्यालयको संख्या पनि पर्याप्त छ। तीनवटा मदरसा सञ्चालनमा छन्। तीन क्याम्पस र तीन प्राविधिक विद्यालय रहेको गौर साधारण र प्राविधिक दुवै शिक्षामा निरन्तर अगाडि बढिरहेको छ।
२०७८ को जनगणनाअनुसार गौरको साक्षरता ६९.४६ प्रतिशत रहेको छ जसमा पुरुष साक्षरता ७७.१४ प्रतिशत र महिला साक्षरता ६१.४० प्रतिशत रहेको देखिन्छ।
गौरमा सुविधासम्पन्न प्रादेशिक अस्पताल र सुविधासम्पन्न आँखा अस्पताल छन्, जहाँ नेपाल र भारतबाट हरेक दिन सयौंको सङ्ख्यामा मानिसहरू उपचारका लागि आउने गरेका छन्।
यहाँका मानिसको आजीविका तथा रोजगारीको मुख्य क्षेत्र कृषि, व्यापार–व्यवसाय, नोकरी तथा यातायात रहेका छन्।
प्रकाशित: ९ माघ २०८० ०५:२२ मंगलबार