५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरी छल्न खोज्दा राप्तीमा खस्यो बस

दाङमा १२ जनाको ज्यान जानेगरी भएको बस दुर्घटना प्रहरी बिटलाई छलेर भाग्न खोज्दा लिइएको तीब्र गतिका कारण भएको प्रहरीले जनाएको छ। ‘दुर्घटनास्थल नजिकै भालुवाङमा प्रहरी बिट छ। 

प्रहरीले भालुवाङमा बसको चेकजाँच गर्दै आएका छन्,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक मल्लले भने,‘शुक्रबार राती त्यहाँ दुईवटा बसको चेकजाँच भइरहेको थियो। दुर्घटनामा परेको बस हुइकिएर आयो, प्रहरीले रोक्न खोजे तर रोकिएन, अनि तिब्र गतीमा रहेको बस प्रहरीको चेकपोष्ट नजिकै पुलबाट सिधै नदीमा खसेको हो।’

भालुवाङस्थित ट्राफिक चेकपोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक९असई० हरिभक्त रोकायले पनि गाडी भगाउन खोज्दा नदीमा गएको बताए। ‘अगाडी भे १ ख ३९१३ नम्बरको बसको चेकजाँच भइरहेको थियो। त्यो बस हुइकिएर आयो। त्यो बसलाई रोक्न खोज्दा चालक झन स्पिडले अघि बढे।

ड्युटिमा खटिएका प्रहरी अमरबहादुर शाहीलाई त्यो बसले झण्डै ठक्कर दिएको रहेछ,’ उनले भने, ‘त्यो बसको स्पिडले चेकजाँचमा खटिएका प्रहरीहरुको समेत भागाभाग भएको थियो। चेकपोष्ट छलेर भाग्दा बस अनियन्त्रित बनेको बस पुलबाट खसेको हो।’

ड्युटिमा खटिएका प्रहरी जवान शाहीका अनुसार सिट्ठी बजाएर रोक्न खोज्दा बसको स्पिडले आफूलाई नै उडाउने स्थिती देखिएपछि आफू भागेर ज्यान जोगाएको बताए। उनले भने,‘यति स्पिडमा थियो कि मलाई नै उडाउला जस्तो गर्यो अनि म भागेँ। बसको गती ७० भन्दा बढि थियो।’

प्रहरीका अनुसार दुर्घटनामा परेको बस नेपालगन्जबाट लमहीसम्म २ घण्टामै पुगेको थियो। जुन बाटो सामान्य अवस्थामा ३ घण्टा भन्दा बढी लाग्ने प्रहरीले जनाएको छ। ‘नेपालगन्जबाट छुटेको बस दुई घण्टामै लमही पुगेको रहेछ। बाँके राष्ट्रिय निकुन्जमा लागु भएको टाईमकार्ड समेत लिएको रहेनछ,’ ट्राफिक असई रोकायाले भने। निकुन्जको चेकपोष्टमा समेत बस नरोकिएको पाइएको उनले बताए। बसले ‘टाइम कार्ड’ समेत नलिएको रोकायाले जानकारी दिए।

उता बसका चालक लालबहादुर नेपालीले सापट बिग्रिएकाले बस दुर्घटना भएको बताएका छन्। ‘सापट बिग्रेपछि बस मोडिएन, त्यसैले दुर्घटना भयो भन्ने चालकको बयान छ,’ डिएसपी मल्लले भने,‘समस्या भए नभएको बारे बसको प्राविधिक जाँच गरेपछि थाहा होला।’ चालक नेपालीले यसो भनेपनि सापटमा समस्या भए बस नमोडिने भन्दा नकुद्ने समस्या हुने अन्य चालकहरू बताउँछन्।

दुर्घटना भएको बस नमस्ते यातायात प्रालिद्वारा सञ्चालित बस हो। नमस्तेले उक्त बस चालकको लापरवाहीका कारण दुर्घटना भएको बताएको छ। प्रालिका अध्यक्ष निरज चलाउनेले चालकको लापरवाहीका कारण नै बस दुर्घटना हुन पुगेको बताए। उनले भने,‘बस दुर्घटनाको कारण चालकको कमजोरीले नै हो। प्रहरीको बिटमा समेत चालकले नरोकेको र बस सुरुमा पिलरमा ठोक्किएको देखिन्छ।’

प्रकाशित: २८ पुस २०८० १५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App