२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

माघ १ देखि मेलम्चीको पानी वितरण हुन्छ : मन्त्री यादव

फाइल तस्बिर

खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ देखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने बताएका छन्।

सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, ‘मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ देखि बिहान ९ बजेदेखि काठमाडौंमा वितरण सुरु हुन्छ।’

उनले लक्ष्यभन्दा पहिल्यै सुन्दरीजलमा पानी आइपुगेको भन्दै अब बाह्रै महिना काठमाडौंमा मेलम्चीको पानी वितरण हुने दाबी गरे। काठमाडौंका विभिन्न ठाउँमा पानी विरतण हुने पाइप बिग्रिएकाले मर्मत गर्न र खानेपानी मिटर जडान गर्न निर्देशन दिए।

त्यस अवसरमा मेलम्ची खानेपानीको आपूर्ति निर्बाधरूपमा सुनिश्चित गर्न मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको थियो।

मेलम्चीको पानी माघ १ देखि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिक रूपमा वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए। उनले भने, ‘सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको छ, खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने छ।’

सुन्दरीजलमा पानी जम्मा गरी प्रेसर पुगेपछि यसलाई प्रशोधन गरिने र दुई दिनपछि वितरण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरले बताए।

बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी बुधबार साँझबाट फेरि आपूर्ति सुरु गरिएको हो। यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने गरी भएको सहमतिअनुसार बुधबार साँझबाट सुन्दरीजलमा पानी आउन सुरु भएको सुन्दरीजल पानी प्रशोधन शाखाका प्रमुख दीपेश ढकालले जानकारी दिए।

कुल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिएको भए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजल पानी पथान्तरण गरिएको उनको भनाइ छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए।

प्रकाशित: २८ पुस २०८० १४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App