बनेपा – खोरेत रोग(फुट एन्ड माउथ डिजिज–एफएमडी) धुलिखेल–१, देवीटारका पशुबस्तुमा फैलिएको छ । यसबाट गरी नौवटा गाई र भैंसी प्रभावित र एउटा बाच्छीको मृत्यु भइसकेको छ ।
‘६ वटा गाई, एउटा भैंसी, पाडी र बाच्छी एक–एक गरी नौवटा पशु संक्रमित भएका छन् । १४ दिनको एउटा बाच्छी मरिसकेको रहेछ । ठूला पशुमा प्रकोप भएकोले मृत्यु भएको छैन, तर दूध उत्पादनमा ठ्याक्कै ह्रास आएको पाइयो,’ वरिष्ठ पशु विकास अधिकृत डा. नारायण श्रेष्ठले भने ।
देवीटार, केन्द्रडाँडाका रमेश गौतम, महेश गौतम, सुरेश गौतम र दिनेश गौतमका गोठहरुमा एफएमडीकै लक्षणहरु देखिएको श्रेष्ठको भनाइ छ । ‘फागुन १ गतेबाटै संक्रमण सुरु भएको रहेछ । हामीले शनिबारमात्रै खबर पायौं । प्राविधिक टोलीसहित स्थलगत अवलोकनपछि रोगी पशुको गिजा र जिब्रोबाट स्याम्पल संकलन गरी ल्याएका छौं,’ उनले भने, ‘कुन स्ट्रेनको भाइरसले संक्रमण गरेको हो भन्ने यकीनका लागि राष्ट्रिय खोरेत तथा महामारी रोग प्रयोगशाला, बुढानीलकण्ठमा पठाएका छौं ।’
गाउँकै सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध रहेका गौतम दाजुभाईले अघिल्लो वर्ष सहकारीकै मार्फत सबै पशुबस्तुमा एफएमडी विरुद्धको भ्याक्सिन लगाएका थिए । तर, यस वर्ष भने उनीहरुले लगाएनन् । ‘भ्याक्सिनले ६ महिनासम्ममात्रै रोकथाम गर्ने हो । प्रत्येक ६–६ महिनामा यो भ्याक्सिन लगाउनु पर्ने थियो । तर, किसानले बेलैमा नलगाउँदा समस्या आएको देखियो,’ श्रेष्ठले भने ।
विगतमा जिल्लामा सोझै बजेट आउँदा खोरेत रोग पहिचान, रोकथाम, उपचार र जैविक सुरक्षासम्बन्धी प्रचारप्रसार सामग्रीहरु उत्पादन गर्दै किसानस्तरसम्म पठाइने गरिएको भएपनि यसै आर्थिक वर्षबाट सबै बजेट स्थानीय तहमा गएकाले कार्यक्रम नै नभएको श्रेष्ठले गुनासो गरे । ‘स्थानीय तहमा पशु स्वास्थ्यलाई गएको बजेटबाट उहाँ(नगर÷गाउँपालिका)हरुले अन्य विकास निर्माणमा खर्च गर्नु भएको पाइएको छ,’ उनले भने, ‘हामीले आर्थिक वर्षकै सुरुमा विगतमा गर्दै आएका कार्यक्रमलाई नगर÷गाउँ सभाबाट पारित गर्न सहज होस भनेर कार्यक्रम नै बनाएर पठाएका थियौं ।
तर, उहाँहरुले यसमा ध्यानै दिनु भएन ।’हाल एफएमडी देखा परेको देवीटारक्षेत्र बनेपा र पाँचखाल नगरपालिकालगायत केन्द्रमा रहेकाले अन्यत्र रोग फैलन नदिने उपायका लागि र निरोगी पशुलाई भ्याक्सिनको व्यवस्था मिलाउनका लागि ती नगरपालिकाहरुमा लेखिपठाएको श्रेष्ठले जानकारी दिए । ‘हामीले धुलिखेलसहित काभ्रेका ६ वटै नगरपालिकाहरुलाई यस रोग फैलन सक्नेबारेमा जानकारी दिइसकेका छौं । हामीले प्राविधिक सहयोग दिन सक्छौं ।
तर, सबै काम उहाँहरुले नै गर्नुपर्ने हुन्छ,’ उनले थपे, ‘रोगको महामारी भइसकेका क्षेत्रमा संक्रमणलाई फैलन नदिनका लागि किसानहरुले जैविक सुरक्षा, पर्याप्त सरसफाइ, चरिचरण रोक्ने र पशुवस्तुलाई हिँड्डुल नगराउने काम गर्दा उपयुक्त हुन्छ । यसमा स्थानीय तहले निर्देशन दिन सक्छन्,’ श्रेष्ठले सुझाए ।पशु सेवा विभागअन्तर्गत केन्द्रीय जैविकी उत्पादन प्रयोेगशालामा भेटेरिनरी भ्याक्सिन तथा जैविक पदार्थको उत्पादन तथा विकास हुने भएपनि एफएमडी भ्याक्सिन भने उत्पादन हुँदैन । यसका लागि नेपाली किसानले भारतीय भ्याक्सिनकै भर पर्दै आएका छन् ।
भ्याक्सिन लगाउँदासमेत चार वर्ष अघि बनेपा नपा वडा नं ४ र ११, पनौती नपा–१०, तत्कालीन कुशादेवी–७, च्याम्राङवेंशी–२ र ९, पाँचखाल, देवभूमि बालुवा, सिपाली चिलाउने र उग्रचण्डी नाला गाविसमा खोरेत रोगले महामारीकै रुप लिएको थियो । यसलगत्तै किसान एफएमडी भ्याक्सिनप्रति निराश भएका थिए । ‘भ्याक्सिन लगाएर पनि रोग देखा पर्नु भनेको भ्याक्सिनमा रहेको भाइरसको स्ट्रेन नमिल्नु हो । नयाँ स्ट्रेन पनि देखिएकाले अब सबै भाइरसविरुद्ध सुरक्षा दिने (एफएमडी ट्राइभ्यालेन्ट) भ्याक्सिन लगाउनु पर्ने हुन्छ,’ डा. श्रेष्ठले सुझाए ।
प्रकाशित: ७ फाल्गुन २०७४ ०३:५१ सोमबार