१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चिम्पाञ्जीको रजोनिवृत्ति

यस्तो पनि !

मानिस मात्र यस्तो प्राणी हो, जसको प्रजनन समयावधि सकिइसकेपछि पनि धेरै वर्षसम्म बाँचिरहन्छ। स्तनधारी प्राणीका अन्य शाखामा यस्तो हुन्छ कि हुँदैन भन्ने अध्ययनै नभएकाले प्रायः के मानिन्थ्यो भने अन्य प्राणीहरूमा त्यस किसिमको प्रवृत्ति छैन होला। तर पछिल्लो एउटा अध्ययनले चिम्पाञ्जीमा पनि यस्तै प्रवृत्ति रहेको वैज्ञानिकहरूले खुलासा गरेका छन्। रोचक त, रजोनिवृत्तिको अनुभव चिम्पाञ्जीमा समेत हुने गरेको देखिएको उनीहरूको दाबी छ।

युगाण्डाका चिम्पाञ्जीहरूको जीवनशैलीलाई लामो समयदेखि अध्ययन गरिरहेका वैज्ञानिकहरूले अमेरिकन साइन्टिस्ट पत्रिकामा लेखेका छन्, ‘चिम्पाञ्जीहरूको एउटा खास समूह नगोगोमा रहेका ५० वर्ष वा त्योभन्दा माथिको उमेरका स्त्रीलिङ्गी चिम्पाञ्जीले रजोनिवृत्तिको अनुभव गर्ने गर्छन्।’

प्रायः ३० वर्षको उमेरसम्म मात्र तिनको गर्भधारण गर्ने उर्वर समय हुने गर्छ। त्यसपछि क्रमशः उनीहरूको सन्तान जन्माउने क्षमतामा ह्रास आउँछ। जब उनीहरू उमेरमा ५० वर्षभन्दा उकालो चढ्न थाल्छन्, उनीहरूले पनि रजोनिवृत्ति अनुभव गर्न थाल्छन्।

वैज्ञानिकहरूले २१ वर्ष लामो अध्ययन र त्यहाँ पाइएका जनसांख्यिक तथ्यांकहरू जाँच गर्दा यस्तो प्रवृत्ति देखिएको बताएका छन्। वैज्ञानिकहरूले १२ वर्षदेखि ६७ वर्ष उमेरका स्त्री चिम्पाञ्जीहरूको मूत्र परीक्षण गरेका थिए। ती सबै नमूना विश्लेषण गर्दा चिम्पाञ्जीमा पनि मानिसमाझैं हार्मोनजन्य परिवर्तन अनुभव गरेको पाइएको थियो।

जनावरहरूको संसारमा रजोनिवृत्ति निकै दुर्लभ मानिन्छ। त्यस्ता दुर्लभताको अध्ययन गर्दा खास किसिमका ह्वेलका केही प्रजातिहरू खासगरी ओर्कासमा यस्तो पाइएको थियो। बाँदरका विभिन्न प्रजातिमा परीक्षण गर्दा भने पाइएको थिएन।

अर्को एउटा रोचक पक्ष के पनि देखिएको छ भने, प्रजनन क्षमता सकिएपछि मानव तथा ह्वेलमा ‘हजुरआमा संस्कृति’ देखिन्छ। हजुरआमाहरूले शिशुको पालनपोषण गर्ने काम गर्छन्। तर चिम्पाञ्जीमा भने त्यो संस्कृति देखिदैन। रजोनिवृत्तिपछि चिम्पाञ्जी आफ्ना छोरीसँग बस्दैनन् र जन्मजात समूह छाडेर निस्कन्छन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २२ पुस २०८० ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App