५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

म्याद सकिएका सामान नष्ट

फाइल तस्बिर : नागरिक

जिल्ला अनुगमन समितिले शनिबार ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेका बजार तथा पसलको अनुगमन गरी म्याद सकिएका सामान नष्ट गरेको छ। अनुगमनका क्रममा दर्ता तथा नवीकरण नभएका पसललाई एक महिनाभित्र वैधानिक प्रक्रिया पूरा गर्न समयावधिसमेत दिइएको छ।

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साइले अधिकांस पसलहरूमा मूल्य सूची राखेको नपाइएको, कसैको दर्ता तथा कसैको नवीकरण नभएको, एउटा प्रकृतिको व्यवसाय दर्ता गरी विभिन्न सामान बिक्री हुँदै आएको पाइएकाले एक महिनाभित्र वैधानिक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको बताए।

अनुगमन समितिले प्रयोगयोग्य म्याद हेरेर मात्र सामान खरिद गर्न उपभोक्तालाई समेत सचेत गराएको घोर्साइले जानकारी दिए। ताप्लेजुङमा अहिले जिल्ला अनुगमन समिति कार्यतालिका बनाएरै अनुगमनमा काममा सक्रिय हुँदै आएको जिल्ला अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले बताए।

उनले जिल्लाका अधिकांस बजार तथा पसलहरूको नियमित अनुगमन गर्ने कार्यतालिका अनुसार सदरमुकाम बाहिरका पालिकाहरूमा समेत अनुगमन गर्नेलाई तीव्रता दिईएको जानकारी दिए। अनुगमन समितिले प्रचलित दररेटमा बिक्री भए नभएको, होटलहरूले न्यूनतम व्यावसायिक मापदण्डको पालना गरे नगरेको बारे समेत अनुगमन गरिरहेको जनाएको छ।

सदरमुकामभित्रका पसलहरूमा भने खाद्यान्न, पेयपदार्थ, मासु तथा माछाजन्य, तरकारी तथा सागसब्जी, किराना तथा अन्य पसलको कार्यतालिका बनाएर अनुगमन भइरहेको समेत सहायक प्रजिअ भट्टराईले बताए।

स्वास्थ्य कार्यालयको संयोजनमा निजी अस्पताल तथा मेडिकल हलहरूको समेत अनुगमन हुँदै आएको अनुगमन समितिले जनाएको छ। मौसमी रूपमा गरिने अनुगमनको अन्त्यका लागि सम्बन्धित स्थानीय तहसँगसमेत सहकार्य गरेर नियमित र प्रभावकारी अनुगमन गर्ने नीति लिएको र सोहीअनुसार अनुगमन कार्यदल सक्रिय भइरहेको घोर्साइले बताए।

अनुगमनपछि अनुगमन संयन्त्रले समिक्षा गर्ने गरेको र सोहि अनुसार अनुगमन प्रभावकारी बनाउने योजनासमेत तय गर्ने जिल्ला अनुगमन समितिले बताएको छ।

प्रकाशित: २२ पुस २०८० ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App