११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

शोकमा बरहथवा: आमाले गुमाइन एकलो सन्तान, निषेधित क्षेत्रमा प्रदर्शन

सर्लाहीको बरहथवामा अस्पतालको विषयमा जारी आन्दोलनको क्रममा प्रहरीको गोलीबाट ज्यान गएका युवकको शव आज दिउँसो सम्म उठ्न सकेको छैन।

लामो समयदेखि अस्पताललाई प्रादेशिक अस्पताल बनाउनु पर्ने माग गर्दै नेपाली काङ्ग्रेस सहित पाँच दल आन्दोलनमा होमिएपछि शुक्रबार आन्दोलनको क्रममा स्थानीय २८ वर्षीय जय शङकर साहको प्रहरीको गोली लागेर ज्यान गएपछि बरहथवा आज दोस्रो दिन पनि अशान्त छन्।

आन्दोलनको क्रममा गाउँको निर्दोष होनहार एवं युवा व्यवसायी युवाको अनाहकमा प्रहरीको गोली लागेर ज्यान गएपछि मृतक परिवार सहित पाँच दलित गठबन्धनका नेताहरू आज दोस्रो दिन पनि स्थानीय प्रशासनले जारी गरेको निषेधित तोडेर टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। 

अस्पताल माग गर्दै जारी आन्दोलनको क्रममा ज्यान गुमाएका साहको आफन्त एवं दलका नेताहरूले ज्यान गुमाएका साहलाई सहिद घोषणा, मेयर कल्पना कटवालको राजीनामा, घटनामा गोली चलाउन आदेश दिने इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गङ्गा बहादुर थापालाई निलम्बन, मृतकको नाममा अस्पताल घोषणा गरि सालिक बनाउनु पर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका छन्।

गाउँको होनहार होटेल व्यवसायी एवं युवाको प्रहरीको गोली लागेर ज्यान गएपछि सर्लाहीको बरहथवा बजार शोकमग्न भएको छ।आज दोस्रो दिन पनि बजार पूर्ण रुपमा बन्द रहेको छ भने यातायात समेत ठप्प भएको छ। बरहथवा नगरपालिकाका नगर प्रमुख कल्पना कटवालको हठको कारण बरहथवामा तनाव उत्पन्न भएको नेपाली काङ्ग्रेसका मेयर प्रत्याशी बिगु चौधरीले बताए। 

मेयरले कार्यपालिकाबाट निर्णय गरेर स्थानीय १५ शय्याको अस्पताललाई ५० शय्यामा परिणत गरि प्रादेशिक अस्पताल बनाउन निर्णय गरे पनि हच्किएपछि काङ्ग्रेस सहितका जसपा, लोसपा, जनमत, बहुजन एकता पार्टी सहितका दलहरू निर्णय कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएको काङ्ग्रेस नेता बिगुको भनाइ छ।

प्रकाशित: २१ पुस २०८० ०८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App