९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

टेम्पोसँगै गुडिरहेका एक ट्रान्सम्यान

आफ्नो लैंगिक तथा यौनिक अल्पसंख्यक पहिचान लुकाएर वैदेशिक रोजगारीमा जाने मानिस धेरै छन्। उनीहरू बाध्यताले यसो गर्छन्। आर्थिक बाध्यताले उनीहरूलाई आफ्नो पहिचान गुमाएर पनि वैदेशिक रोजगारीमा जानुपर्ने हुन्छ।

कतारमा करिब ६ वर्ष काम गरेर फर्किएका सुर्खेतका ४० वर्षीय ज्ञानु यस्तै एक व्यक्ति हुन्। परिवारमा एक दाजु र चार दिदीबहिनीसँगै साहिँली छोरीका रूपमा ज्ञानुको जन्म भएको हो। जन्मले महिला भए पनि ज्ञानु आफूलाई पुरुष ठान्छन्। बाबुआमाले राखेको ‘ज्ञानु’ नाम उनले कहिल्यै परिवर्तन गर्न चाहेनन्। उनका लागि त्यो नाम अझै प्रिय छ। वैदेशिक रोजगारीमा जाँदा भने उनी महिला पहिचानमा बिदेसिएका थिए।

करिब १४ वर्षअघि वैदेशिक रोजगारीका लागि ज्ञानु कतार पुुगेका थिए। उनी महिला भए पनि सानै उमेरबाट पुरुषजस्तै भएर हिँड्ने गर्थे। उनले अनुहारमा कहिल्यै शृङ्गार प्रयोग गरेनन्। ज्ञानु एक्लै थिएनन्। उनीसँग कतारमा जीवनसँगिनी पनि थिइन्। करिब १८ वर्ष अघिबाट जोडिएको उनीहरूको वैवाहिक सम्बन्धले जिन्दगीमा बहार ल्याएरहेको ज्ञानुले बताउँछन्। उनीहरू अझै एकआपसमा खुसी भएर बसेका छन्।

ज्ञानु र उनकी श्रीमतीको वैदेशिक रोजगारीका क्रममा कतारमा आम्दानीको स्रोत राम्रो थियो। उनी साह्रै मेहनती भएर पनि कमाइ गर्न सकेका हुन्। ज्ञानुको वैदेशिक रोजगारीको पारिश्रमिकले परिवार तथा साथीभाइ सबै खुसी थिए। कतारको कमाइबाट ज्ञानुले सुर्खेतमा जग्गा जोडेर घर पनि बनाएका थिए।

‘बलेको आगो सबैले ताप्छन्। ऊर्जा सकिएपछि वरिपरि भएकाहरूले छाडेर जान्छन्,’ उनले भने, ‘आफ्नै जीवनलाई पछाडि फर्केर हेर्दा अहिले आफू निभेको आगो पाउँछु।

कुनै बेला अरूको प्रिय थिएँ, जुन बेला बलेको थिएँ। कतार पुगेर काम गरें। पैसा कमाएँ। विदेशको कमाइ रहँदासम्म सबैको प्रिय नै भएँ। पैसा सकिँदै गयो, नजिक भएकाहरू टाढिए।’

उनले भने, ‘खाडीको दुःख कसलाई भनौं ? त्यहाँ गएर काम गरेकाले त्यो बुझ्छन्। त्यसरी कमाएको पैसासमेत ल्याएर परिवार र साथीभाइ रमाए। ६ वर्षको कमाइलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरेर अघि बढेको भए आज मेरो हातमा टेम्पोको स्टेरिङ हुँदैनथ्यो होला।’

कतारमा उनी सेक्युरिटी गार्डका रूपमा काम गर्थे। सानैदेखि पुरुषको स्वभाव देखाए पनि आफू को हो भन्ने थाहा नभएको ज्ञानुले बताए। सानै उमेरबाट उनकै जीवनसँगिनीसँगको लामो सहयात्रा थियो। सँगै बस्ने, खाने, हिँड्ने हुँदा उनीहरू एकापसमा मन पराएर विवाहमा परिणत भयो। ज्ञानु श्रीमतीसँग खुसी छन्।

‘मेरो असल साथी भनेकै श्रीमती हुन्। उनलाई आफ्नो मनको कुरा भन्न सक्छु। हाम्रो आफ्नै लवाइखवाइको पहिचानमा मानिसले चिन्ने हो। हामी यस्तोउस्तो भनेर कसैलाई भनिरहनुपर्दैन। सरलता मानवीय सुन्दर गुण हो, तर यसलाई मानिसहरूले दुरूपयोग गरिदिन्छन्। वर्णमाला ‘ज्ञ’ बाट अन्त्य हुन्छ। म ज्ञानु हुँ। म चाहिँ अन्त्यबाट सुरु भएँ,’ उनले भने।

‘मानिसहरूले तपाईं के हो भनेर सोध्ने गर्थे,’ ज्ञानुले नागरिकसँग भने, ‘मलाई चिन्न ज्ञानु भन्ने नाम मात्रैले पुग्दैन र? पिपल देखेपछि त्यो के हो भनेर सोध्न जरुरी छ? आकाश भन्ने थाहा हुदाँहुँदै त्यो आकाश हो भन्नुपर्छ ? नाम भन्नु त पहिचान रहेछ। मान्छेले चिन्ने भनेको मान्छेलाई हो। उसको पौरखलाई हो।’

जीवनमा पढेको कुराले धेरै दिन्छ। तर परेर वा भोगेर पाएको ज्ञानले जीवन बदल्ने सूत्र सिकाउँछ। तर त्यो सूत्रको उपयोग आफ्नै हातमा हुने उनले बताए।

‘बुद्धि भनेको बेलैमा आउँदैन। कमाइ हुँदा बुद्धि पुगेको भए अहिले यस्तो हुने थिएन। प्रत्येक मान्छेको जीवनमा एकपटक मौका आउँछ। त्यो मौकाको सदुपयोग गर्न सक्यो भने बाँकी जीवन सहज हुन्छ। मौकाको दुरूपयोग गर्दा त्यसको मूल्य जीवनभर चुकाउनुपर्छ,’ उनले भने।

कतारको मरुभूमिको के कुरा गर्नु ? सम्झिँदा पनि उराठ लाग्छ। मुस्किलले कुनै जीवन बित्छ। कतारमा पैसा र पौरख खन्याएर फूल फुल्ने गर्छ। नेपाली त हो। कमलो मन। चाँडै विश्वासमा पर्ने। अरूको माया लाग्ने। कमाएको पैसा पनि यही मनले सिध्यायो। अहिले पैसा त छैन तर टेम्पो स्टेरिङ भएको ज्ञानुले बताए।

वैदेशिक रोजगारबाट फर्किएर वीरेन्द्र नगरका सडकमा ज्ञानुले टेम्पो गुडाउने गरेको ८ वर्ष भयो। ‘वीरेन्द्रनगरमा यात्रीभन्दा टेम्पो बढी भएपछि यसले जीवन धान्न मुस्किल परेको छ,’ उनले भने, ‘मजस्तै गरी टेम्पो चलाउने अरू धेरैको यो साझा समस्या हो। आठ वर्षदेखि टेम्पो–जिन्दगीले मर्न दिएको छैन। कुनै सपना पूरा गरेको पनि छैन। हामी श्रीमान्–श्रीमती खुसी छौं।’

बिहानदेखि बेलुका ६ नबज्दासम्म वीरेन्द्रनगरका सडकमा उनको टेम्पो गुड््ने गरेको छ। ‘सूर्य उदाएदेखि नअस्ताएसम्म म र मेरो टेम्पो सडकमै हुन्छौं। सूर्यदेव प्रकट भएपछि मेरो दिनचर्या सुरु हुन्छ। सूर्यास्त भएपछि मेरो पनि काममा विराम लाग्छ,’ ज्ञानुले भने।

ज्ञानुको जिन्दगीमा श्रीमतीको ठुलो भूमिका छ। उनको जिन्दगी अर्को महŒवपूर्ण पाटो टेम्पो पनि हो। टेम्पो चल्दा जीवन चल्ने गरेको ज्ञानुले बताए। वीरेन्द्रनगरमा उनले टेम्पो चलाएको वर्षौं भयो। तर, यौनिकताले काममा खास समस्या नपारेको उनको अनुभव छ।

यौनिकताकै कारणले मानिसहरूले धेरै दुःख पाएको बताउने गरेका छन्। तर, ज्ञानुले त्यस्तो समस्या भोग्नुु नपरेको बताए।

‘यौनिकताकै कारण धेरै साथीले भोगेको पीडा र समस्याबारे थाहा पाएको छु,’ ज्ञानुले भने, ‘मेरो हकमा केही भिन्न छ। यस्तो किन भयो होला? कहिलेकाहीं मनन गर्दा के पाउँछु भने आफ्नो काम र मतलबमा ध्यान दिने हो। बाँकी दुनियामा कसले के भन्छ, त्यो मेरो सरोकारमा पर्दैन।’

उनले थपे, ‘मेरो पार्टनर केटी हुन्। उनी र मबिच सहयात्रा केही वर्षदेखि चलिरहेको छ। कसैले अपशब्द बोल्यो वा कसैले नराम्रो केही भन्यो भने त्यो कुरा स्वीकार नै गर्दिनँ। त्यो कुरा मनमा नलिए कसैले भनेर के हुन्छ? वीरेन्द्रनगरको कमाइले खासै केही दिएको त छैन तर जिन्दगी चलिरहेको छ।’

‘बसिआएको ठाउँ छाड्न अलि गाह्रो हुन्छ,’ ज्ञानुले भने, ‘बसिरहे लेउ लाग्छ, हिँडे छेउ लाग्छ। यहाँबाट नेपालगन्ज एक सय किलोमिटर टाढा छ। नेपालगन्जबाट पनि अगाडि दक्षिणतिर गयो भने भारत पुगिन्छ। कतार नै पुगेर फर्केको मान्छेका लागि भारत आकर्षक गन्तव्य होइन। नेपालमै गर्ने भएपछि कतिपयले काठमाडौंतिर जाने कि भन्ने पनि  योजना बनाउँछन्।’

ज्ञानु वर्षौंवर्षदेखि बाआमाको स्याहार गर्दै आएका थिए। केही वर्षअघि मात्र ज्ञानुले आफ्ना बाआमाको दाहसंस्कार गरेका थिए। ‘आफू कमजोर भएका बेला बाआमा हुनुहुन्छ नि भन्ने ढाडस हुँदो रहेछ। जब आफूलाई जन्म दिने बाआमा दुवैले सधैंका लागि छाडेर जान्छन्, त्यो बेला एक्लो अनुभव हुन्छ। अब म मात्रै छु भन्ने हुँदो रहेछ। मान्छेको कठोर संघर्ष त्यही बिन्दुबाट सुरु हुन्छ,’ उनले भने।

‘बाआमाबाट धेरै साथ सहयोग पाएको थिए। उहाँहरू नरहेपछि जिन्दगी नभएजस्तो भयो। अर्कै भयो। भएको एक दाजु पनि बित्नुभयो। आफ्नो भन्ने को नै रहेछ र ? श्रीमतीबाहेक। ती श्रीमती पनि रहिनन् भने जिन्दगीमा पूर्णविराम लाग्छ,’ निराश हँुदै उनले भने।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार सामान्यतया लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिस रोजगारदाताको मागभित्र पर्दैनन्। तर कुनै मुलुकमा कामका लागि जान श्रम स्वीकृत लिन आए दिन तत्पर रहेको उप्रेतीले जानकार गराए।

मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीका अनुसार वैदेशिक रोजगारीमा गएका लैंगिक तथा यौनिक अल्पसंख्यक धेरैले समस्या भोग्नुपरेको छ।

 दुईचारजनाबाहेक धेरैले लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारण विदेशबाट स्वदेश फर्काइने गरेको उनले सुनाइन्। आफ्नो वास्तविक पहिचान लुकाएर विदेश जानेमध्ये धेरैले घरेलु काम गर्ने र पढ्ने गरेको मितिनी नेपालकी केसीले बताइन्।

उनले भनिन्, ‘यो समुदायका मानिसलाई विदेश जान पनि सजिलो छैन ।’ यो समुदायका मानिस आफ्नो पहिचान लुकाएर विदेश जान खोज्छन्। तर उनीहरूलाई एजेन्ट तथा म्यानपावर कम्पनीले विदेश जान मिल्दैन भनेर सुरुमै अस्वीकार गर्ने सरिताले बताइन्। पहिचान लुकाएर विदेश पुगे पनि वास्तविकता खुल्ने डरले सताउने लैंगिक तथा यौनिक अल्पसंख्यकहरू बताउँछन्।  

प्रकाशित: २१ पुस २०८० ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App