९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

मौसमको खराबीले उडान प्रभावित, शिवरात्रिमा वर्षा हुने!

काठमाडौं – मौसममा आएको बदलीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य सबै उडान प्रभावित भएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धावनमार्ग आसपासमा हुस्सु लागेका कारण उडान र अवतरण प्रभावित भएको हो। अपराह्नसम्म पूर्णरुपमा प्रभावित भएको विमानस्थल केही समय खुले पनि साँझ पुनःसमस्या दोहोरिएको छ। विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रियतर्फका अधिकांश उडान प्रभावित भएको जानकारी दिए। 

आन्तरिकतर्फका धेरै उडान आज हुन सकेनन् भने अन्तर्राष्ट्रियतर्फका उडानका धेरै उडान लखनउतर्फ पठाइएको थियो। दैनिक आन्तरिकतर्फ १०० भन्दा बढी तथा अन्तर्राष्ट्रियतर्फ ४५ उडान हुने गरेका छन्। जहाज नउडेपछि विमानस्थलको आन्तरिक तथा बाह्य उडान कक्ष बाहिर यात्रीको चाप बढेको थियो। 

शिवरात्रिमा वर्षा !

पश्चिमी वायुको प्रभावका कारण काठमाडौँसहित देशैभर मौसम बदली भएको तथा केही स्थानमा छिटफुट वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका कारण बनेको पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभर मौसममा बदली भएको र पश्चिमी भेगमा वर्षासमेत भएको छ। 

मौसमविद् शान्ति कँडेलका अनुसार मंगलबार बिहानदेखि नै राजधानीलगायत देशका अरु भागमा वर्षा हुने र अपराह्नदेखि मौसममा सुधार आउनेछ। मौसममा आएको बदलीका कारण राजधानीमा चिसो बढेको छ। महाशाखाका अनुसार सोमबार सुर्खेतमा १५.९, डडेल्धुरामा ११, दिपालयमा ६, जुम्लामा १४, बाँकेमा सात, दाङमा दुई र कैलालीमा ४.२ मिलिलिटर वर्षा भएको छ। काठमाडौँको अधिकतम तापक्रम २० र न्यूनतम सात डिग्री सेल्सियस छ। 

प्रकाशित: २९ माघ २०७४ १६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App