२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरमा साता दिनभित्र डेढ सय बढी बाख्रा मरे

एकै दिन मरेका प्रेम खड्काको फार्मका १३ माउ बाख्रा। तस्बिर : नागरिक

केही दिनयता उदयपुरमा बाख्रामा अज्ञात रोगको प्रकोप (देसान) बढेको छ। देसानले बाख्रापालन गर्दै आएका व्यावसायिक किसानका डेढ सय बढी बाख्रा एक साताभित्र मरिसकेका छन्।

अघिल्लो दिउँसो मात्र सदरमुकाम त्रियुगा नगरपालिका १० गाईघाट बोक्सेस्थित प्रेमबहादुर खड्काको एउटा खोर पुरै रित्तिएको छ। चारवटा अलगअलग खोरमा पालेका बाख्रामध्ये एउटा खोरका १३ वटा घण्टाभरमै मरेको उनले बताए। बिहान-दिउँसो आनन्द चरेर खोरमा पस्ने बेला बाख्रा भकाभक ढलेको.पीडित किसानले बताए।

बोक्से आदर्श टोलका खड्काले हिमचुली बाख्रा फार्ममार्फत व्यावसायिक पालन गर्दै आएका छन्, जसमा ५६ वटा बाख्रा रहेकोमध्ये १३ वटा मरेको र मर्ने सबै गाभिनो (गर्भवती) रहेको उनले बताए। ‘माउ मात्र भएको भए त्यति धेरै क्षति हुँदैनथ्यो’, खड्काले भने, ‘सबै गाभिनो थिए, त्यसमाथि हरेक बेतमा जम्ल्याहा पाठा जन्माउने माउ बाख्रा मर्दा व्यापक क्षति पुग्यो।’ 

यसैगरी त्रियुगा नगरपालिका १४ निपानेस्थित रामकुमार राईले गरेको कृषि फार्मका दर्जन बढी बाख्रा पनि मरेका थिए। फार्म सञ्चालक राईका अनुसार हरेक महिना ४-५ वटाका दरले बाख्रा मर्ने गरेको तर कारण पत्ता लागेको छैन।

उनका अनुसार चराएर घरमा खोर हाल्ने बेला, कोही चर्दाचर्दै र कोही खोरभित्र थरर काप्ने र भ्वाक्क ढल्ने गरेका छन्। बितेको ६ महिनाको अवधिमा ५० भन्दा बढी बाख्रा बोका मरिसकेको उनले बताए।

बाखा बिरामी भएको खबर गर्दा पनि समयमै सम्बन्धित निकायले उपचार गर्ने प्राविधिक टोली नपठाउँदा किसान क्षति बेहोर्न बाध्य हुनुपरेको गुनासो किसानको छ। राईले पनि बाख्रा मर्ने गरेको भन्दै नगरपालिका र भेटनरी अस्पतालमा खबर गर्ने गरेको तर समयमा प्राविधिक नआउने गरेको दुःखेसो गरे।

पटकपटक खबर गर्दा नआएको तर, बाख्रा मरेपछि भने प्राविधिक आएको उनले बताए। ‘कतिपटक बोलाउँदा आएनन्, मरेपछि भने आएछन्’, राईले भने, ‘मरेको बाख्रा हेर्न आएर अब पोस्ट्र्माटम गर्नुपर्छ भन्दै गए।’

खड्काले पनि बाख्रा बिरामी हुन थालेदेखि नै निवेदन र मौखिक जानकारी गराए पनि प्राविधिक नआएको गुनासो गरेका छन्। ‘मैले बेलैमा नगरपालिकाका र भेटनरी अस्पतालमा खबर गरेको थिएँ’ खड्काले भने, ‘तर, आउँदै आएनन्। अहिले मरेको बाख्रा हेर्न आए र अव पोस्र्टमार्टम गरेर के रोग हो पत्ता लगाउनुपर्छ भनेका छन्।’

त्रियुगा नगरपालिका पशु विकास शाखाले भने बाख्रा मरेपछि मात्र खबर आएको जनाएको छ। नगर पशु शाखा प्रमुख इन्द्रनारायण चौधरीले रामकुमार राईको फर्ममा पाँचवटा बाख्रा मरेपछि मात्र खबर आएको र आपूmसहितको प्राविधिक टोली गएर हेर्दा विषालु घाँस खाएर मरेको भन्ने प्रमाणित भएको बताए। त्यसैगरी प्रेमबहादुर खड्काको फार्मका बाख्रा पनि मरेपछि मात्र खबर आएको चौधरीले बताए।

चोधरीका अनुसार सुरुमा प्राइभेट भेटनरीलाई बोलाएर उपचार गर्ने बानी किसानको रहेको छ। सुरुमै सरकारी कार्यालयलाई सम्झे धेरै क्षति नहुने भए पनि किसानमा त्यो चेतना अभावले यस्तो दुर्घटना हुन पुग्ने चौधरीको भनाइ छ।

‘सुरुमा किसान हामीलाई खबर गर्दैनन्, पशु चौपाया बिरामी भयो कि प्राइभेट जेटिए बोलाइहाल्छन्’, चोधरीले भने, ‘उनीहरूले के औषधि दिन्छन्, कस्तो उपचार गर्छन्, पशु मर्न थालेपछि पो हामीलाई सम्झन्छन्।’ खड्का र राईको फार्ममा पनि त्यस्तै भएको भन्ने उनले सुनेका छन्।

भेटनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरका प्रमुख रामनारायण साहले राईको बाख्रा मरेको भन्ने खबर थाहा नभएको तर खड्काका बारेमा ढिलो खबर आएको बताए। खड्काले खबर गरेको तर नगर पशु शाखामा गरेको तर, त्यसबेलासम्म बाख्रा मरिसकेको साहले बताए।

बाख्रा मर्नुमा विषालु घाँस नै प्रमुख कारण हुन सक्ने भन्दै साहले मरेका बाख्राको रोग अहिलेसम्म अज्ञात रहेकाले पोस्टमार्टमपछि मात्र के हो भन्ने पत्ता लाग्ने बताए। कार्यालय प्रमुख साहले मरेका बाख्राको क्षतिपूर्ति दिन मिल्ने प्रावधान नभएको तर, बिमा गरेको भए बिमा रकमको ९० प्रतिशत हिस्सासम्म फिर्ता पाउने व्यवस्था रहेको बताएका छन्।

किसानहरूले बाख्रामा यस्तो रोग यसअघि कहिल्यै नदेखेको बताएका छन्। जंगलमा चर्दाचर्दै, घर ल्याउँदाल्याउँदै र खोरमा सुतेका बेला बाख्रा मर्ने गरेको भन्दै रोग पत्ता लगाएर किसानलाई क्षति गर्नबाट बचाउनुपर्ने बोक्सेका किसान ओम खड्काले बताए।

प्रकाशित: १८ पुस २०८० ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App