२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्वर्णकार हत्या आरोपमा ११ जना माथि अभियोग पत्र दायर

तस्बिर: अदालत पेश गर्न लैजान लागिएका रुपेश हत्याका अभियुक्तहरू। 

कलैया उपमहानगरपालिका ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा सोमबार ११ जना माथि बारा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले पेश गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गराएको बारा जिल्ला अदालतले जनाएको हो।

बारा जिल्ला अदातलक श्रेस्तेदार लालबाबु कार्कीले जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा दर्ता गराएको अभियोग पत्रमा लागु औषध र सङ्गठित अपराध गरी दुई प्रकाशको मुद्दा रहेको बताए।

सङ्गठित अपराध मुद्दा भित्रमा कर्तव्य ज्यान, हात हतियार तथा खर खजाना,सुन तस्करीको अभियोग पत्र पनि रहेको कार्कीले बताए।

अदालतमा पेश गरिएको अभियुक्तहरू मध्ये रुपेश स्वर्णकारको हत्यामा संलग्नता देख्नुको साथै लागुऔषध कारोबारी त कोही सुन तस्करीमा समेत संलग्न रहेको अभियोग पत्रमा उल्लेख गरिएको श्रेस्तेदार कार्कीले बताए।

अदालतमा पेश गरिएका अभियुक्तहरू माध्ये राधा गुप्ता, कौशल किशोर यादव, बिगु साह, अरुण यादव, चन्द्रिका यादव, प्रविण साह र संतोष प्रसाद गरी सात जना रहेका कार्कीले बताए।

दुई जना अभियुक्तहरूलाई जिल्ला सरकारी वकिल कार्यालयले हाजिर जवानीमा छोडेको छ भने दुई जना अभियुक्तहरू फरार रहेको उनले बताए।

गत कात्तिक १३ गते रुपेश स्वर्णकारको भारतीय सुटरहरुले गोली हानि हत्या गरेका थिए। हत्या भएको तीन घण्टा नबित्दै घटनाको मुख्य कारक रहेकी रुपेशकी प्रेमी राधा गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

अदालतमा दायर गरिएको अभियोग पत्रमा राधा गुप्ता भारतीय अपराधीक मनोज गुप्ता र रुपेश दुबै जनासँगको अनैतिक सम्बन्धमा रहेको उल्लेख छ।

‘राधा गुप्तालाई श्रीमती बनाएर भारतीय अपराधीक मनोज गुप्तको भारतीय आधार काड समेत बनाएको  र त्यस आधार काडलाई पनि प्रहरीले अनुसन्धान प्रतिवेदनमा  पेश गरेको छ’, जिल्ला सरकारी वकिल कार्यालयको प्रमुख जिल्ला न्यायधिवक्ता कैलाश खत्रीले भने, ‘अर्का तर्फ राधासँग रुपेशको रहेको अनैतिक सम्बन्धको धेरै प्रमाणहरू फोटो सहित एक अर्कालाई पठाइएको संदेशहरुलाई पनि प्रहरीले पेश गरेको छ।’

प्रहरीले पेश गरेको प्रतिवेदनमा राधासँग मनोज र रुपेशको रहेको अनैतिक सम्बन्धलाई पनि हत्याको कारण रहेको देखाइएको खत्रीले बताए।

अभियोग पत्र अनुसार राधाको जीवनबाट नहटेमा यो संसारबाट नै तिमीलाई हटाई दिने छु भनी बाल एकता बोर्डिङ स्कुल परिसर मै मनोजले रुपेशलाई धम्की दिएका थिए।

घटनाको केही दिन पहिला पनि मनोजले राधाको मोबाइलमा सन्देश पठाएर एक दुई दिन भित्रमै रुपेशलाई मारी दिनेछु भनी धम्की समेत दिएको थियो।

मृतक रुपेशको कारोबार बोर्डिङ स्कुको बाहेक अबैध सुन, चाँदीको तस्करी पनि रहेको कारण रुपेशलाई मन नपराउने व्यक्तिहरुले सङ्गठित भएर मनोजलाई अघि सारेर उनको हत्या गराएको अभियोग पत्रमा उल्लेख गरिएको छ।

सुटर सिँहलाई अदालतमा पेश गरिएन 

बारा, पर्सा, रौतहट, सर्लाही र भारत पूर्वी चम्बारणमा अपराधीक गिरोह बनाएर हत्या, लुटपाट र फिरौती माग्ने गतिविधि गरेका भारतीय अपराधीक सुजित सिँहलाई मुसहर्वा गाउँबाट गोली प्रहार गरेर प्रहरीले पक्राउ गरेको थियो।

सुजित सिँह रुपेशको हत्यामा मुख्य सुटरको रुपमा देखिए पनि प्रहरीले उनलाई अदालतमा पेश गरेको छैन।

सुजित सिँहलाई अदालत समक्ष किन पेश नगरिएको प्रश्नमा बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले सुजित सिँहको अहिले उपचार भइरहेको र डाक्टरहरूले सिँहको शारीरिक अवस्था राम्रो नभएको बताए पछि उनलाई  अदालतमा पेश नगरिएको बताए।

सुटर सिँहले एक बर्ष भित्रमा बारा जिल्लामा तीन हत्या गरेको पाइएको छ। 

प्रकाशित: १७ पुस २०८० ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App