२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँच महिनामा १६८ जनाको मृत्य, ७२५ घाइते

लुम्बिनी प्रदेशमा सवारी दुर्घटना बढ्दो

गत मंसिर ३० मा दाङको घोराही–तुलसीपुर सडकको झारबैरामा टिप्परको ठक्करबाट दुई युवाको ज्यान गयो। रातिको समयमा मोटरसाइकलमा सवार प्युठान झिम्रुकका १७/१८ वर्षका विशाल जिसी र सागर केसीलाइ तीव्र गतिको टिप्परले हानेको थियो। दुर्घटनाको मुख्य कारण तीव्र गति भएको प्रहरी अनुसन्धानले देखाएको छ। टिप्पर चालक २६ वर्षका ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंसिर २९ गते बाँकेको कोहलपुरमा बलेरो जिपको ठक्करबाट प्रहरी जवानको ज्यान गयो, एकजना घाइते भए। मदनचोकको प्रहरी बिटमा कार्यरत प्रहरी जवान विशाल वली र प्रहरी सहायक हवल्दार लालबहादुर बुढालाई तीव्र गतिको जिपले ठक्कर दिएको थियो।

ठक्करबाट प्रहरी जवान वलीको मृत्यु भयो, गम्भीर घाइते बुढाको अहिले पनि उपचार चलिरहेको छ। सो घटनामा संलग्न जिपचालक २० वर्षका अर्जुन बस्नेत प्रहरी नियन्त्रणमा छन्।

मंसिर २८ गते प्युठानको ऐरावतीमा जन्ती बोकेको स्कोर्पियो दुर्घटना हुँदा मल्लरानी–३ का वडा सदस्य दामोदर नेपालीले ज्यान गुमाए। जन्ती हिँडेका अन्य घाइते भए।

मंसिर १६ मा रूपन्देहीको ग्रामीण सडक लुम्बिनीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गयो। एकजना गम्भीर घाइते भए।

सिद्धार्थ प्रतिभा बोर्डिङ स्कुलको बसको ठक्करबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाका २१ वर्षका मोहम्मद इरसाद र रुक्साना खातुनको मृत्यु भयो।

अप्सरा खातुन गम्भीर घाइते भइन्। मंसिर ४ गते बुटवल–भैरहवा ६ लेन सडकको ड्राइभरटोलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार सहकारी अभियन्ता माधवलाल देवकोटा र यादा क्षेत्रीको ज्यान गयो।

प्रत्यक्षदर्शीका अनुसार फराकिलो र सुविधासम्पन्न सडकमा सामान्य गतिमा गुडिरहेको मोटरसाइकलाई तीव्र गतिमा हुँइकिएको ट्रकले पछाडिबाट टक्कर दिएको थियो।

लुम्बिनी प्रदेशमा दिनहुँजसो यी र यस्तै सडक दुर्घटनाका खबर सुनिन्छ। जसले बढ्दो सवारी दुर्घटनाको अवस्थालाइ दर्शाउँछ। दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान चलाइएको भनिए पनि दुर्घटना घटेका छैनन्। बढेका छन। प्रहरीको तथ्यांक केलाउने हो भने यो प्रदेशमा एक दिनमा चारवटाभन्दा धेरै सवारी दुर्घटना हुने गर्छ।

हरेक दिन एकजनाले ज्यान गुमाउँछन्। पछिल्लो पाँच महिनाको तथ्यांकअनुसार लुम्बिनीमा सरदर ३० दिनमा ३३ जनाका दरले ज्यान गुमाएका छन्। दैनिक पाँजना यात्रु चोटपटक लागेर अस्पताल पुग्छन्। दुर्घटनामा ज्यान गुमाएका र घाइतेको परिवारले त्यसपछि भोग्नुपर्ने मानसिक, आर्थिक समस्यालाई केलाउने हो भने स्थिति झन भयावह देखिन्छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन लुम्बिनी प्रदेश कार्यालय बुटवलका अनुसार लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षका पाँच महिनामा (साउन–मंसिर) मात्रै ६ सय ८३ वटा सवारी दुर्घटना भएका छन्।

पाँच महिनामा एक सय ६८ जनाले ज्यान गुमाएका छन्। सात सय २५ जना घाइते भएका छन्। तीमध्ये चार सय ५५ जना गम्भीर अवस्थाका घाइते हुन्। दुर्घटनाले मानवीय क्षतिसँगै करोडौं मुल्यका वारीसाधनको क्षति भइरहेको छ।

गत आर्थिक वर्षमा एक हजार दुई सवारी दुर्घटनामा चार सय ६२ जनाको ज्यान गएको थियो। सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा क्रमशः रूपन्देही, दाङ र कपिलवस्तु छन्।

उपकरणविहीन ट्राफिक

दुर्घटना रोकथामका लागि जनचेतना जगाउने, जाँच, नियम उल्लघंन गर्नेलाई कारबाही जस्ता काममा ट्राफिक प्रहरी सक्षम र सक्रिय भए पनि उपकरण अभावमा सोचेजस्तो सफलता हासिल गर्न नसकेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए।

गति नियन्त्रण र मापसे/लापसे जाँचका लागि ट्राफिक प्रहरी बेलाबेला राडार गन र ब्रेथलाइजर लिएर सडकमा निस्कन्छ। तर ती अभियान प्रभावकारी र नियमित बनाउन चाहिने उपकरण नै पर्याप्त छैन।

लुम्बिनी प्रदेश ट्राफिकसँग सवारीसाधनको गति मापन गर्ने उपकरण रडारगन जम्मा दुईवटा छन्। तीनै दुईवटा रडार १२ जिल्लामा जुनजुन सडक क्षेत्रमा दुर्घटना बढ्छ त्यो क्षेत्रमा डुलाउनु पर्ने बाध्यता छ।

‘यहाँ पूर्व–पश्चिम, उत्तर–दक्षिण, हुलाकी–राजमार्ग, व्यापारिक–मार्गजस्ता अतिव्यस्त सडक छन्, प्रदेशका १२ वटा जिल्लालाई दुइवटा रडार गनले कति भ्याइन्छ? यसको जवाफ हामीसँग पनि छैन’ एसपी प्रसाईंले भने।

घातक मोटरसाइकल

प्रदेशमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन। पाँच महिनामा चार सय १४ वटा मोटरसाइकल दुर्घटनामा परेका हुन्। कम उमेर समूहका युवाहरूले चलाएका मोटरसाइकल, ट्रक, टिप्पर बढी दुर्घटनामा परेको प्रहरी अनुसन्धानले देखाउँछ।

पाँच महिनामा ५१ वटा जिप, कार, ४८ वटा बस, ३२ वटा ट्रक टंयांकर दुर्घटना भएका छन्। ३२ वटा ट्रयाक्टर ५५ वटा साइकल तथा साना सवारी, टेप्पो २३, माइक्रो १२, १० वटा टिप्पर दुर्घटना भए।

अधिकांश सवारी दुर्घटना चालकको लापर्वाहीले भएको प्रहरी अनुसन्धानले देखाउँछ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन लुम्बिीनी प्रदेश कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले दुर्घटनाको मुख्य कारण चालकको लापरर्वाही र तीव्र गति भएको बताए।

‘तीव्र गति, रङ साइडबाट ओभरटेक, ट्राफिक नियम उल्लघंन, मादक पदार्थ सेवन, लागुपदार्थ सेवनजस्ता चालकका लापर्वाहीले दुर्घटना निम्तिएका छन्,’ एसपी प्रसाईंले भने।

स्तरहीन सडक, छाडा चौपाया, यान्त्रिक गडबडी, जथाभावी पार्किङ, बढ्दो आवादी, सवारीको बढ्दो चाप, फितलो लाइसेन्स वितरण प्रक्रियाले पनि दुर्घटनाको जोखिम बढाएको उनले बताए।

चौडा र स्तरीय सडक तथा सवारी चाप कम हुने भित्री सडकमा पनि दुर्घटना बढ्दो छ। 

प्रकाशित: १६ पुस २०८० ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App