२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खाना, संस्कृति र उत्पादनको सङ्गम ‘पोखरा सडक महोत्सव’

 रेस्टुरेट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सव हुन थालेको २०५४ सालदेखि हो। त्यो समयदेखि सुरु भएको महोत्सव अहिलेसम्म पनि बर्सेनि हुँदै आएको छ।

विसं २०५२ मा स्थापना भएको रेवान पोखराको संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङ हुनुहुन्थ्यो। नेतृत्व सम्हालेपछि उनले केही नयाँ काम गर्ने सोच बनाइरहेको थियो। स्थापनाकालको उपाध्यक्ष थिए, गणेशबहादुर भट्टराई।

पचासको दशकतिर उनीले भारतको गोवा भ्रमणका समयमा सडकमै ‘फेस्ट’ मनाएको देखेका थिए। त्यही देखासिकी गर्दै रेवान पोखराले सन् १९९८ को अंग्र्रेजी नयाँ वर्ष मनाउने गरी लेकसाइड क्षेत्रमा पोखरा सडक महोत्सव आयोजना गर्‍यो। सो समयमा महोत्सवको संयोजक बने, तत्कालीन उपाध्यक्ष भट्टराई।

त्यो बेला पोखरा लेकसाइड क्षेत्रमा विदेशी पर्यटकहरूको लर्को देखिन लागिसकेको थियो। सोही कारण पनि विदेशी पर्यटकलाई लक्षित गरी महोत्सव आयोजना गरिएको तत्कालीन संयोजक गुरुङले बताए।

उनले भने, ‘त्यो बेला हामीले पोखरा आउने पर्यटकहरूलाई लक्षित गरी अंग्रेजी नयाँ वर्ष मनाउँदै खाना, संस्कृति र उत्पादन जोगाउनका लागि महोत्सव गरिएको थियो।’

नेपालमा भएका विभिन्न जातजातिबीच सामाजिक सद्भाव कायम गर्दै संस्कृति साटासाट गर्न पनि मेलाले सहयोग गरेको उनले बताए।

‘नेपालीमा भएको जातजातिबीच सामाजिक सद्भाव र संस्कृति साटासाट गर्न साथै उनीहरूले उत्पादन गरेका वस्तु बजारीकरण गर्न महोत्सव गरिएको हो‘, संस्थापक अध्यक्ष गुरुङले भने, ‘उहाँहरूको खाना पनि सडकमा देखाउने अर्को उद्देश्य हो। खाना, संस्कृति र उत्पादनको त्रिकोणात्मक सम्बन्ध पनि महोत्सवमा देखिन्छ।’

संस्थापक अध्यक्ष  गुरुङले २५ वर्षअघि आफूहरूले सुरु गरेको सडक महोत्सव अहिलेसम्म निरन्तर चलिरहेकाले खुसी व्यक्त गरे। आगामी दिन अझै परिस्कृत रूपमा अघि बढाउन उनको सुझाव थियो।

रजत जयन्तीसहितको २५औं पोखरा सडक महोत्सव बिहीबारदेखि सुरु भएको छ। ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरे। महोत्सव यही पुस १६ सम्म सञ्चालन हुने रेवान पोखराले जनाएको छ।

कार्यक्रममा प्रमुख आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषण गर्ने क्रममा रहेको बताए। यसका लागि अध्ययन गर्न उच्चस्तरीय समिति बनाएर अघि बढेकाले एक महिनाभित्र पोखरालाई पर्यटनको राजधानी घोषण गर्ने उनको दाबी छ।  

पोखरा सडक महोत्सवले पोखरालाई थप पहिचान दिएको बताए। विदेशी पर्यटकहरूलाई नेपाली खाना चिनाउनका लागि महोत्सव सफल हुने उनले विश्वास व्यक्त गरे।

महोत्सव उद्घाटनपूर्व विभिन्न कला संस्कृति, जातजाति, वेशभूषा झल्किने झाँकीसहित लेकसाइड हल्लनचोकदेखि कोमागाने पार्कसम्म र्‍याली निकालिएको थियो। र्‍याली तीन किलोमिटर दूरी पार गर्दै उद्घाटन समारोहमा परिणत भएको थियो।

पच्चीसौं सडक महोत्सव अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका यस क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको रेवान पोखरा अध्यक्ष नरेश भट्टराईले जानकारी दिए।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति संस्कृतिविज्ञ जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार सरुभक्त, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’, विम्ब कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, कलाकार अमृत गुरुङ, शिक्षासेवी जर्ज जोनलगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो।

महोत्सवमा मुख्य आकर्षकका रूपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी रहेको रेवानका प्रथम उपाध्यक्ष एवं महोत्सवका संयोजक विश्वराज पौडेलले बताए।

दोहोरी गीत प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता पनि मेलाको आकर्षण रहेका छन्।

पोखराको पर्यटन विकास, प्रवद्र्धन र परिवर्तित समयसँग पोखराको पर्यटनमा देखिएका अवसर तथा चुनौतीहरूको विषयमा टक शो कार्यक्रम, स्वदेशी हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिएको संयोजक विश्वराज पौडेलले बताए।

करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सडक महोत्सवमा ३० प्रकारका स्थानीय खाना रहेका छन्।

-रासस

प्रकाशित: १३ पुस २०८० ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App