विशेष अदालतले नेपाल प्रहरीका पूर्व डिआइजी एवं मदन पुरस्कार विजेता महेशविक्रम शाहसहित ४ जनाको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
पूर्व डिआइजी शाहसहित मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दिपेन्द्रप्रसाद पनेरुसहित लेखा सहायक हवल्दार केशव सिंह ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव विशंखेको भ्रष्टाचार मुद्दामा कसुर ठहर भएको हो।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा न्यायाधीशहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बुधबार पुस ११ मा कसुर ठहर गरेको हो। दोषी ठहर भएकाको हकमा सजाय निर्धारण भइसकेको छैन। अदालतले यही पुस २५ गते के कति सजाय निर्धारण गर्ने भन्ने ठहर गर्नेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी जवानको तलब भत्ता हिनामिनामा गरेको आरोपमा २०७६ साल फागुन २० मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता भएको चार वर्ष पछि विशेष अदालतले मुद्दा फैसला गरेको हो।
२०७२ वैशाख २७ मा तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा प्रहरी जवानमा भर्ना भई २०७२ पुस २२ मा तालिम सकिएका व्यक्तिलाई प्रहरी प्रधान कार्यालयले माघ ११ मा सरुवा भएको ठाउँबाट तलब भत्ता पाउने गरी पठाएको थियो।
चारजनाको मिलेमतोमा २०७२ माघ र फागुनको तलब भत्तासमेत हिनामिना गरी भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो।
प्रकाशित: १२ पुस २०८० १०:३२ बिहीबार





