८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

उनको छातीमा सिङ्गो नेपाल

मुलुकका कतिपय भागमा अझै पनि  जातियता, क्षेत्रीयता र धर्मको नाममा मतभेद देखिन्छ। अझ पछिल्लो समय त कतिपयले नियोजित रूपमा यस्ता कुरालाई भड्काउने प्रयास समेत गरेका छन्। त्यस्तोमा  धरानका दिनेश लिम्बु भने यी सबभन्दा निकै  अलग भेटिए । विभिन्न जातजातिका थर अंकित टिसर्टमा सजिएका लिम्बुले सबैभन्दा पहिला नेपाली भएर बाच्नु पर्ने सुनाए।

‘सबैभन्दा पहिला हामी नेपाली हौ,’ धरानका दिनेश लिम्बुले मङ्गलवार राजधानीको एउटा चिया पसलमा सुनाए,  ‘सबैमा  एकताको  भावना पलाएर मुलुक समृद्धिको बाटोमा बढ्ने छ।’

कामको सिलसिलामा विभिन्न देश घुमेका लिम्बुले नेपालीपनको बेग्लै रमाइलो रहेको बताए। ‘हामी जुनसुकै थर र जातमा बाँडिएपनि हाम्रो मूल स्वभाव एकै हो,’ उनी भन्छन्, ‘हामी नेपाली पनमा बाँच्नु पर्छ। यसले सबैलाई खुसी दिन्छ।’ लिम्बु भन्छन्, ‘टिसर्टमा लेखिएको कुरा मेरो मन भित्रको भावना हो। यो निकै प्यारो लाग्छ।’

उनले लगाएको टिसर्टमा शेर्पा, बिश्वकर्मा, अधिकारी, ठकुरी, साही, चौधरी, श्रेष्ठ, भोटे, थकाली, माझी, चौलागाई, मगर, पन्त, पनेरु, ग्वाला लगायतका दर्जनौ थरहरु रहेका छन्।

उनको टिसर्टमा लेखिएका थरहरूजस्तै उनका साथी पनि विभिन्न थरीका छन् । मङ्गलवार चिया पिउन आएका लिम्बुका साथ दिदिया (नेवार) र लोहनी थरका साथी थिए।  

‘सबैभन्दा ठुलो कुरो नेपाली मन हो,’ उनले भने, ‘यसमा को कुन थरको भन्ने कुनै अर्थ राख्दैन। त्यसैले सबै थर उल्लेख गरिएको टिसर्ट मन पराएको हुँ।’

प्रकाशित: ११ पुस २०८० ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App