१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

लोपोन्मुख बनकरियालाई प्रदेश सरकारको न्यानो कपडा

न्यानो कपडा वितरण गर्दै मन्त्री श्रेष्ठ लगायत ।

मकवानपुरको मनहरी गाउँपालिका ४ ट्वाङ्ग्रामा बसोबास गर्ने लोपोन्मुख जाति बनकरियालाई बागमती प्रदेश सरकारले न्यानो कपडा वितरण गरेको छ।

आज आइतबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठको उपस्थितिमा बनकरियालाई सिरक वितरण गरिएको हो।२२ घर परिवारका ९३ जनालाई पुग्ने गरी सिरक वितरण गरिएको हो। सरकार नागरिकको अभिभावक भएकोले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गरिएको मन्त्री श्रेष्ठले बताए।‘बढ्दो चिसाेको कारण समस्यामा परेका लोपोन्मुख जातीहरूलाई सहयोग गर्ने क्रममा यहाँ आइपुगेका हौँ’, उनले भने, ‘अप्ठ्यारोमा परेका जनतालाई सहयोग गर्नु सरकारको दायित्व हो।’ 

लोपोन्मुख समुदायलाई सहयोग बाँड्नु भन्दा पनि अब आत्मनिर्भर बनाउने अभियानमा लाग्ने मन्त्री श्रेष्ठले जानकारी दिए । ‘सबै जना उत्पादनसँग जोडिनु आवश्यक छ । राज्यले आफ्नो दायित्व निर्वाह गरिरहेकै हुन्छ र पनि अब यस क्षेत्रमा विशेष उत्पादनमूलक तालिमहरू ल्याउने छौँ’, उनले भने। 

मन्त्रालयका सचिव ध्रुव गैँडाले जनतालाई समस्या परेको समयमा राज्य छ भन्ने आभास दिलाउन उपस्थित भएको बताए।मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको विशेष अनुरोधमा प्रदेश सरकारले न्यानो कपडा वितरण गरेको हो । वडा अध्यक्ष थापाले लोपोन्मुख बनकरियाको आर्थिक अवस्था उकास्न पाडी वितरण गरिएको स्मरण गर्दै आगामी दिनमा पनि पालिका तथा प्रदेश र केन्द्र सरकारसँग आवश्यक समन्वय गरी जीवनस्तर सुधार्ने अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए । आफ्नो अनुरोधलाई स्विकार्दै एकहप्तामै मन्त्रालयबाट न्यानो कपडा सहयोग प्राप्त भएकोमा उनले खुसी व्यक्त गरे। 

बनकरिया समुदायका अगुवा सन्तमायाले न्यानो कपडा सहयोगले निकै राहत मिलेको बताइन् । ‘जाडो बडेसँगै केही समस्या भएको थियो । विशेष गरी बालबच्चा र बुढा मान्छेहरूलाई समस्या थियो’, उनले भनिन्, ‘प्रदेश सरकारका मन्त्री नै आएर न्यानो कपडा वितरण गरेकोमा खुसी लागेको छ ।’ उनले मन्त्री श्रेष्ठसहितको टोलीसँग बनकरियाले बसोबास गर्दै आएको जमिनको लालपुर्जा दिलाउन माग गर्दै तटबन्धनको व्यवस्था गरी बस्ती जोगाइदिन अनुरोध गरिन्। 

प्रकाशित: ८ पुस २०८० १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App