१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

‘सुनुवाइ आज पनि स्थगित भन्ने समाचारको पर्खाइमा छौ’

‘सुनुवाइ आज पनि स्थगित भन्ने समाचारको पर्खाइमा छौ,’  सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज भन्ने नागरिक अनलाइनको समाचार पढे लगत्तै सविन लिम्बुको प्रतिक्रिया हो यो। 

पत्रपत्रिकामा पटक–पटक ‘सन्दीप लामिछानेको मुद्दा आज पनि स्थगित’ भन्ने समाचार प्रकाशित भइरहने तर कहिल्यै सुनवाइ नहुने अवस्थालाई व्यङ्ग्य गर्दै लिम्बुले व्यक्त गरेको प्रतिक्रियामा धेरैले सहमति जनाएका छन्। सर्वसाधारणले निकै चासोपूर्वक नियालेको मुद्दा लम्बिँदै जाँदा यस्तो प्रतिक्रियाहरू आउन थालेका छन्।

२०७९ कात्तिक १४ मा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछाने विरुद्धको मुद्दा लम्बिँदै गएको हो। 

त्यसयता क्रिकेटर लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा ३० पटकभन्दा बढीसम्म पेसी चढिसकेको छ। जिल्ला अदालतले बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाइ हुँदै गरिरहेको अवस्थामा लिम्बुजस्तै धेरैले किन ढिलाइ भएको भन्दै टिप्पणी, व्यङ्ग्य र आक्रोश  व्यक्त गर्न थालेका छन्। 

पीडित किशोरीको उमेरमाथि प्रश्न उठाउँदै आएपछि अदालतले जन्म दर्तादेखि बसाइसराइ गरेकासम्मको कागजात माग्ने आदेश गरिसकेको छ। 

यो मुद्दा अदालतमा परे देखिनै ‘हेर्न नभ्याइने, हेर्न नमिल्ने, प्रमाण माग्ने जस्ता आदेश’हुँदै आएका छन्। यसले गर्दा यो मुद्दाको फैसलामा ढिलासुस्ती भइरहेको छ। यद्यपि सर्वोच्च अदालतले यो मुद्दालाई फास्ट ट्र्याक अर्थात् प्राथमिकतामा राखेर छिटोभन्दा छिटो टुङ्गो लगाउनसमेत आदेश गरिसकेको छ।

सर्वोच्च अदालतले गत वर्षको फागुन १५ मा नै चाँडो फैसला गर्न आदेश दिए पनि हालसम्म लामिछानेविरुद्धको मुद्दामा फैसला हुन सकेको छैन।

जबर्जस्तीकरणी सम्बन्धी विषयका मुद्दा निकै संवेदनशील मानिन्छन्। यस्ता खालका मुद्दालाई फास्ट ट्र्याकबाट मुद्दा छिन्नुपर्ने कानुनी प्रावधान पनि छ। अझै १८ वर्ष मुनिका किशोर किशोरी जोडिएका मुद्दा झनै छिटो टुङ्गो लगाउनुपर्ने हुन्छ। 

कतिपय कानुन व्यवसायीले न्यायाधीशहरुले मुद्दाको फैसला गर्न आँट गर्न नसकेको आङ्कलन गरेका छन्। बलात्कार मुद्दामा पटक पटक पेसी सर्नुलाई न्यायमा ढिलाइ हुँदै गइरहेको विश्लेषण हुन थालेको छ।

लामिछानेलाई गत वर्षको कात्तिक १४ गते नाबालिग गौशाला २६ (छ )लाई जबरजस्ती करणी गरेको आरोप छ। उनी विरुद्ध गत वर्ष कात्तिकमै मुद्दा दायर भए पनि फैसलामा भने बारम्बार ढिलाइ हुँदै आएको छ।  लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गते काठमाडौँ गौशाला प्रहरी कार्यालयमा १७ वर्षकी किशोरीले उजुरी दिएकी थिइन्।

यहाँ उजुरी दर्ता हुँदा सन्दिप क्यारिबीअन लीग खेल्न जमैका पुगेका थिए। उताबाट  नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ गरेका थिए। उनलाई केही समय नेपाल क्रिकेट सङ्घले राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो।तर लामिछाने धरौटीमा रिहा  भए। क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका लामिछानेलाई गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गरिदिएको थियो।

क्यानले उनलाई राष्ट्रिय टोलीमा फर्कायो र अहिले उनले राष्ट्रिय टोलीबाट खेल खेलिरहेका छन्।सर्वोच्च अदालतले गत फागुन दोस्रो साता उनलाई सशर्त विदेश जान दिने अनुमति दिएको थियो।लिम्बुजस्तै धेरैले आजको सुनवाईलाई चासोको साथ नियालेका छन्। 

‘मुद्दाको साँच्चिकै किनारा लागोस्,‘सामाजिक सञ्जालमा रमेश दाहाल लेख्छन्, ‘फेरी पनि स्थगित भन्ने समाचार पढ्न नपरोस्।’

प्रकाशित: ८ पुस २०८० ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App