२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

ब्लड क्यान्सर पीडित साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

बुधबार बिहान दोलखा सदरमुकाम चरिकोट स्थित सातदोबाटो चोकमा ब्लड क्यान्सर पिडित मदन केसीको उपचारका लागि चिया बेचेर सहयोग उठाउदै बिद्यार्थीहरु। तस्बिर: रमेश

दोलखा- बुधबार बिहानैदेखि चरिकोटको मौसम चिसो थियो। एका बिहानै कठ्याङग्रीने चिसोमा सातदोबाटो चोकमा स्कुले पोशाकमा केही बालबालिका देखा परे।

प्राय ७/८ कक्षामा पढ्ने जस्ता देखिने उनिहरुले केही बेरमा ग्यास चुल्हो, भाँडा र प्लास्टिकका ग्लास अगाडी निकाले। चुल्हो बाल्न सुरु गरे । भाडामा पानी बसाले, चिनी चियापत्ती हाले । चिया तयार भयो। उनिहरुसगैं साथीहरुको अर्को समूहले ब्यानर टांग्यो जसमा लेखिएको थियो ‘हामी हाम्रो साथी मदनलाई बचाउन चाहन्छौं ।’

केही बेर पछि भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी आईपुगे । केसीले स–साना बिद्यार्थीहरुले आफ्ना सहपाठीको उपचारका लागी थालेको सहयोग अभियानको प्रशंसा गरे । उनिहरुले पकाएको चिया पिए र सहयोग संकलन बाकसमा ५ हजार रुपैंया राखिदिएर अभियानको शुभारम्भ गरे।

भीमेश्वर नगरपालिका ५ ठुलढुङ्गाका १४ बर्षिय मदन केसी यही शैक्षिक सत्रबाट गौरीशंकर बोर्डिङ स्कुलमा ८ कक्षा सम्मको पढाई पुरा गरेर सदरमुकामकै कालिञ्चोक उच्च माविमा ९ कक्षामा भर्ना भएका थिए। बाबु नारायण केसी सोही स्कुलमा कार्यरत थिए। आमा मिना  चरिकोटको बजारमा नाङलोमा पसल चलाएर गुजारा गर्थिन् । सगैं भर्ना भएकी बहिनी बोर्डिङमै पढ्दै थिईन् ।

मदनको पढाई राम्रै चल्दै थियो । बाबु आमाको कमाईले परिवार चल्दै थियो । दुई महिना अघि एक दिन मदनलाई अचानक ढाड दुख्यो । नजिकैको मेडिकल गए । एक्स्ररे गर्दा केही समस्या नदेखिए पछि उनिहरु फर्किए।  

१५ दिन पछि फेरी घुँडा र शरिरका बिभिन्न भागमा दुख्ने समस्या देखियो। बाबु आमाले झाक्रीकोमा लिएर गए । ठिक भएको अनुभुती पछि मदन फेरी स्कुल जान थाल्यो । स्कुलमा नेपाली सेनाले राष्ट्रिय सेवा दल अन्तर्गत बिद्यार्थीहरुलाई दिएको तालिममा उनी पनि सहभागी थिए।

सेनाले उनी सहित सहभागीलाई भ्रमणका क्रममा एक महिना अघि विराटनगर लिएर गयो । खेलकुद सहित केही सामन्य अभ्यास थियो । पाचौं दिनको दिन उनको अनुहार अचानक सुन्निएर आयो । धरान स्थित विपी कोईराला मेमोरियल अस्पताल लगियो । अस्पतालले उनको रगत र शरिरमा रगतको मात्रा जाँच गर्‍यो। ब्लड क्यान्सरको लक्षण आशंकामा उनलाई तत्काल भक्तपुर क्यान्सर अस्पताल रिफर गरियो। भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकले बोनम्यारो गरेर रिपोर्ट दिल्ली पठाए। एक साता पछि उनको रिपोर्ट आयो । उनलाई ब्लड क्यान्सर भएको रहेछ।

चार पटक सम्म किमो गर्नुपर्ने डाक्टरहरुले बताए । उपचारमा खर्च अभाव भयो । परिवारले भक्तपुरबाट सिभिल अस्पतालमा भर्ना गरे। उनी अहिले उपचारका क्रममा सिभिलमा भर्ना भईरहेका छन् । डाक्टरहरुले बाबु नारायणलाई उपचार सम्भव रहेपनि ग्यारेण्टी गर्न नसक्ने र महंगो हुने बताएका छन् । ‘कसरी छोरा बचाउनु थाहा छैन’ बाबु नारायणले रुदैं भने।

मदनलाई ब्लड क्यान्सर भएको कुरा उनले भर्खरै छाडेको बोर्डिङ स्कुलको कक्षा ७ मा पढ्ने बिद्यार्थीहरुले उनकी बहिनी मनिषा मार्फत थाहा पाए । मनिषाले घरको पीडा कक्षामा सहपाठीहरुलाई  रुदैंसुनाएपछि ति सहपाठीले एक दिन कक्षा कोठामा सल्लाह गरे । मनिषाको पीडामा कसरी मल्हम लगाउन सकिन्छ। केही शिक्षिकासंग सल्लाह गरे । शिक्षिका विन्देश्वरी खतिवडा सहित केहीले सहयोग उठाउन सल्लाह दिए।

कक्षा ७ मा घरबाट खाजा खान ल्याएको रकम मध्ये कक्षा कोठामा गल्ती गर्दा ५ रुपैंया जरिवाना तिर्ने नियम थियो । ६ महिना अघि देखी शुरु भएको यो नियमले २ हजार रुपैंया जम्मा भएको थियो।

कक्षा ७ कि एलिना पोखरेलका अनुसार बिद्यालय र घरको होमवर्क गर्ने बाहेकको अतिरिक्त समयमा चोकमा चिया पकाएर बेच्ने र मिलनलाई सहयोग जुटाउने बिषयमा बिद्यार्थीहरु आफैले छलफल गरे। ब्यबस्थापन संग अनुमती मागे । व्यवस्थापनले स्थानिय प्रशासन संग अनुमती लिईदियो ।

बुधबार बिहानबाट उनिहरु चोकमा बसेर अभियान शुरु गरेका हुन् । ‘५, ६ र ७ का बिद्यार्थीहरु यो अभियानमा छौं’ एलिनाले सुनाईन – ‘हरेक दिन बिहान ७ बजे देखि ९ र दिउँसो ४ देखि ५ बजे सम्म यसैगरी चिया बेचेर हाम्रो पूर्व बिद्यार्थी र सहपाठीका दाजुलाई सहयोग रकम उठाएर पठाउछौं’ । उनका अनुसार २४ गते सम्म चल्ने अभियानमा तिन ओटा कक्षामा रहेका ७४ जना मध्ये छुट छुट्टै समूह बनाएर चोकमा खटिने नियम बनाएका छन् ।

स्कुले विद्यार्थीहरुले चलाएको अभियानमा बुधबार मात्र ५७ हजार ९ सय ६५ रुपैंया संकलन गरे। पीडितका बाबु नारायण, पीडितकी बहिनी मनिषा, स्कुलका प्रिन्सीपलको रोहवरमा बुधबार संकलन भएको हिसाब सार्वजनिक गरेका थिए ।

 

प्रकाशित: १७ माघ २०७४ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App