१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अवैध रुपमा ल्याइएको चिनी र सुर्ती बरामद

प्रहरी नियन्त्रणमा परेको अवैध चिनी र सुर्ती बोकेको जिप । तस्बिर : नागरिक

उदयपुर प्रहरीले अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणको चिनी र सुर्ती बरामद गरेको छ। 

जिल्लाको पश्चिमी नाका कटारी नगरपालिका-१ स्थित प्रहरी चौकी बेलस्रोतबाट खटिएको टोलीले ४० बोरा चिनी तथा आठ बोरा सुर्ती अवैध रूपमा भित्रिँदै गरेको पाइएपछि नियन्त्रणमा लिएको हो।

प्रदेश २–०१–००१ च ०६३० नम्बरको पिकअप गाडीमा चेकजाँच गर्दा चिनी र कबिर छाप ब्रान्डको सुर्तीको आधिकारिक बिल भर्पाइ केही नभेटिएपछि नियन्त्रणमा लिनुपरेको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।

सिराहाको मिर्चयादेखि कटारीतर्फ आउँदै गरेको सो जिपमा प्रहरीले चेकजाँच गर्दा बिल भर्पाइविनाको सामान भेटिएपछि जिपसहित सामान बरामद गरी अनुसन्धान भइरहेको छ।

बरामद चिनीको परिमाण दुई हजार किलो छ भने र सुर्ती झन्डै ३० किलो रहेको छ। दुवै सामग्री भन्सार छलेर ल्याएको हुन सक्ने अनुमानका साथ बरामद गरिएको हो। पुस ४ गते राति पक्राउ सो सामग्री र गाडीबारे अनुसन्धान र थप कारबाहीका लागि बिहीबार आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैबीच प्रहरीले तीन दिनको अवधिमा तीनजना फरार अभियुक्तलाई पक्राउ गरेको छ। पुस ५ गते इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको टोलीले चोरी मुद्दामा अदालतबाट दोषी करार भएका त्रियुगा नगरपालिका-५ श्रीपुरका ओमप्रसाद भट्टराईलाई पक्राउ गरेको हो। अदालतले उनीविरुद्ध तीन महिना कैद र तीन हजार रुपैयाँ जरिबानाको फैसला गरे पनि फरार थिए।

सोही दिन ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी करार भएका त्रियुगा नगरपालिका-१३ असारीका सिंहबहादुर राई र सोही ठेगानाका लालबहादुर सार्की पक्राउ परेका हुन्। 

ठगी मुद्दामा अदालतले उनीहरूलाई जनही पाँच लाख १० हजार दुई सय ८४ रुपैयाँ १० जरिवाना र कैद सजायको फैसला गरेको छ। जरिवानाबाहेक राईलाई दुई वर्ष कैद र सार्कीलाई एक वर्ष कैद सजाय सुनाइएको छ।

पक्राउ तीनैजनालाई सजाय भुक्तानका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए।

प्रकाशित: ७ पुस २०८० १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App