९ असार २०८१ आइतबार
image/svg+xml
समाज

मधेस प्रदेशमा दैनिक दुईजनाले ज्यान गुमाउँछन्

२८ महिनामा १३२५ को मृत्यु

गत बुधबार बिहान बारामा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भयो। जितपुरसिमरा उपमहानगरपालिका २२ को ३ नम्बर पुलको ओरालोमा काँकडभिट्टाबाट काठमाडौं आइरहेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक ठोक्किएको थियो।

दुर्घटनामा परी दिवंगत हुनेमा ट्रक चालक तनहुँ पिपरटारका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का बस चालक ४० वर्षीय हरिशमशेर सुयाल थापा र बसमा सवार झापा दमक नगरपालिका ४ का ३५ वर्षीय कालिमराम रिमाल रहेको बारा प्रहरीले जनाएको छ।

घाइतेमध्ये सातजनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। २० जनाको बाराकै कार्की मेडिकलमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक लक्ष्मण मगरका अनुसार ओरालो घुम्ती बाटो भएकाले चालकले नियन्त्रण गुमाउँदा दुघर्टना भएको प्रारम्भिक अनुमान छ। यस ठाउँमा दुर्घटना भइरहन्छ।  

मंसिर २९ गते धनुषाको ढल्केबरमा मोटरसाइकल दुर्घटनामा दुईजनाको ज्यान गयो। जनकपुरधामबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २-०२-००२ प ४०९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनीको मृत्यु भयो। सोही मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी घाइते भए।

मंसिर ६ गते सिरहामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु र एक घाइते  भए। सिराहा नगरपालिका १९ सन्हैठास्थित नयाँ चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको अर्नामा गाउँपालिका ५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंहले ज्यान गुमाए।

यी घटना उदाहरण मात्र हुन्। मधेस प्रदेशका आठ जिल्लामा पछिल्लो चार महिनामा एक सय ५९ जनाले दुर्घटनामा ज्यान गुमाइसकेका छन्। मधेस प्रदेशमा दुर्घटनाबाट दैनिक करिब दुईजनाले ज्यान गुमाउँदै आएको तथ्यांकले देखाउँछ। 

मधेस प्रदेशमा पछिल्लो समय सडक दुर्घटना उकालो चढ्नुमा ट्राफिक प्रहरीको उदासीनताका कारण बढ्दै गएको नियम उल्लंघन प्रमुख कारण देखिएको छ। यद्यपि ट्राफिक प्रहरी सम्पूर्ण दोष चालकलाई दिन्छन्।

सडकमा सवारी चाप वृद्धिसँगै मोटरसाइकललगायत सवारी दुर्घटना बढी भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चालकको लापरबाही, हेलमेट बिना मोटरसाइकल चलाउनु, ओभरटेक, तीव्र गति, मदिरा सेवन, ओभरलोडलाई ट्राफिक प्रहरीले दुर्घटनाको कारण बताउँछन्।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म  आठ जिल्लामा एक सय ५९ सवारी दुर्घटनामा मृत्यु भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ। दुर्घटनामा तीन हजार पाँच सय ५५ जना घाइते भएको प्रहरीले जनाएको छ। यस अवधिमा तीन हजार ६२ सवारी दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ। प्रहरीका अनुसार मधेस प्रदेशको आठै जिल्लामा आर्थिक वर्ष ०७८-७९ र ०७९-८० मा सवारी दुर्घटनामा एक हजार एक सय ६६ जनाले ज्यान गुमाए भने चार हजार सात सय नौजना घाइते भए।  

सवारी दुर्घटनाको घटना बढ्दा मृत्यु हुनेको संख्यामा समेत वृद्धि भएको छ। ‘विभिन्न कारण छ, ठ्याक्कै यही हो भन्न सकिँदैन। सवारी दुर्घटनाको डरलाग्दो तथ्यांकको विश्लेषण गरिनसकेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले बताए।’

दुर्घटनाको अवस्था डरलाग्दो यस प्रदेशमा मात्र होइन देशैभरि छ’, उनले भने, ‘ट्राफिक मात्रले नियन्त्रण सम्भव छैन, जनता पनि जिम्मेवार बन्नुपर्छ। अव्यवस्थित पार्किङ, सडकमा हटिया बजारलगायतका कारणले पनि दुर्घटना र मृत्युवरणका घटना यस प्रदेशमा बढ्दो छ।’

प्रहरीका अनुसार सडक दुर्घटना शून्यमा झार्न सम्भव नहोला तर सवारी चालक तथा यात्रुको बानीमा सुधार, पूर्वाधारमा सुधार, नियामक निकाय ट्राफिकले इमानदार निगरानी बढाउने हो भने दुर्घटना जोखिम कम गर्न सकिन्छ।

प्रकाशित: ६ पुस २०८० ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App