१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

एनसेलविरुद्धको रिटमा पुस १६ मा सुनुवाइ हुने

सर्वोच्च अदालतले एनसेलविरुद्ध परेको रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले एनसेललाई शेयर बिक्री गर्न दिनुको कारण सोधेको हो।

एनसेलको शेयर खरिद बिक्री रोक्ने वा जारी गर्न दिने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई राखेर पुस १६ मा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतमा डेढ साता अघि प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले एनसेलविरुद्ध रिट निवेदन दर्ता गरेका थिए। गत साताभरि स्थगित हुँदै आएको एनसेलविरुद्धको मुद्दामा मंगलबार बल्ल पालो आएको हो। एनसेलको शेयर खरिदबिक्री प्रकरणविरुद्ध रिट निवेदन दैनिक चढेको एक साता बढी मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद सुरु भएको थियो। त्यसविरुद्ध मुद्दा दर्ता भएको हो।

‘निवेदकले अन्तरिम आदेश माग गरेको सन्दर्भमा विचार गर्दा, दुवै पक्षलाई राखी छलफल गराउन उपयुक्त भएको देखिँदा सो प्रयोजनार्थ २०८० पुस १६ को पेसी तोकी गर्नु’ मंगलबार जारी आदेशमा भनिएको छ, ‘रिट निवेदनसँग सम्बन्धित सम्बद्ध निर्णय तथा पत्रहरु विपक्षी एनसेल आजियाटा लिमिटेड र नेपाल दूरसञ्चार प्राधिकरण जमलको हकमा आफै वा आफ्नो कानुन व्यवसायी मार्फत र अन्य विपक्षीहरुको हकमा छलफलको सुनुवाइको क्रममा पेश गर्नु।’

विपक्षी एनसेल आजियाटा र दूर सञ्चार प्राधिकरणलाई आफै उपस्थित भएर वा कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभागलाई भने महान्यायाधिवक्ता कार्यालय मार्फत १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश छ।

कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई हानी पुग्ने गरी अपारदर्शी ढंगले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदबिक्री भएको दाबी गर्दै प्रतिनिधिसभाका सदस्य सिंह आफैले रिट निवेदन दर्ता गराएका हुन्।

यस अघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भइसकेको छ। एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोक्नका लागि आदेश भैसकेको छ। उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भइसकेको छ।

प्रकाशित: ३ पुस २०८० १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App