२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बालगृहका युवायुवतीलाई समाजमा घुलमिल हुन समस्या

उनीहरुले यसरी पोखे बालगृहमा भोगेका पीडा

ललितपुर झम्सिखेलस्थित चित्रकला प्रदर्शनीमा वीरगन्जकी सरिता (नाम परिवर्तन) बालगृहमा बस्ने बेलाका पीडाहरू चित्रमा कोर्दै थिइन। आफ्ना पीडाहरूलाई उनले चित्र मार्फत अभिव्यक्त गर्दै थिइन्। त्यही माध्यमले अरूलाई बुझाउँदै थिइन्।

प्रदर्शनी अवलोकनमा आएका सहभागीहरूले पनि बढो चाखपूर्वक सरिताका चित्रहरू नियालिरहेका थिए। बालगृहमा बस्दा आफूले भोगेका पीडाहरू मात्र होइन, उनले परिवारमा पुनर्स्थापना हुन गाह्रो भएका समस्याहरू समेत चित्रमा कोरेर देखाइन्।

उनी कक्षा १ मा अध्ययनरत थिइन र बहिनी उनी भन्दा सानी थिइन्। यही समयमै यी दुई दिदी बहिनीलाई बालगृहमा ल्याइएको थियो। यो बाल मस्तिष्कले बालगृहमा आएको महसुस गर्ने कुरै भएन।

बिस्तारै दिनहरू बित्दै गए। दुवै जना ठुला हुँदै गए। पुराना घटना, पीडा र समस्याहरू बाल मस्तिष्कबाट हराउन सकेन। तीनै घटनाक्रमलाई सरिताले चित्र मार्फत व्यक्त गरिन्। अहिले सरिता स्नातक तह पढिरहेकी छिन्।

सरितालाई गाउँकै एक जना चिन्ने व्यक्तिले बालगृह ल्याइदिएका थिए। पारिवारिक खटपटका कारण उनकी आमा मामाघर गएर बस्न थालिन। बुबा मानसिक रूपमा अस्वस्थ थिए।

उनीहरूलाई हजुरआमाले पाल्दै आएकी थिइन्। उनीहरूको पारिवारिक अवस्था नराम्रो देखेर बालगृहमा ल्याइएको कुरा सरिताले आफू बुझ्ने भएपछि मात्र थाहा पाइन्।

बालगृहमा आएपछि उनलाई ‘तिमीहरूको कोही छैन’ भन्दै आफ्नो नाम,थर, जन्ममिती सबै परिवर्तन गर्न लाएको उनले सुनाइन्। बालगृहले त्यसो गर्दा भने आफूहरू धेरै रोएको सरिताले बताइन्।

सुरुको दिनमा उनले बारम्बार आफ्नो बुबा, हजुरआमा भएको ठाउँमा लगिदिन आग्रह गरेकी थिइन्। तर बालगृहले त्यसो गरेमा खान नदिने भन्दै राख्ने गरेको उनी अहिले पनि सम्झिन्छिन्। यी नै घटनाक्रमलाई उनले चित्रमा कोरेर देखाएकी हुन।

बालगृहमा आएको करिब ७ वर्षपछि उनले आफ्नो परिवारलाई भेट्न पाइन्। तर त्यो बेलासम्म बुबा र हजुरआमाको अनुहार समेत बिर्सिएको उनी बताउँछिन्।

सरिता भन्छिन्, ‘बाल गृहमा आएको सात वर्ष पछि बुबा र हजुरआमालाई भेटेको थिए। भेट्दा हुने खुसी भन्दा पनि पहिला त को मान्छे हो भन्ने भयो। आफ्नो मान्छे हो की होइन भन्ने लाग्यो।’

पछि कुराकानी गर्दै जाँदा हाम्रो परिवार हो भन्ने भावना आएको उनी बताउँछिन्। सात वर्ष पछि नै उनी वीरगन्ज गएकी थिइन्। सुरुमा आफ्नो गाउँ जाँदा अनौठो लागेको उनको अनुभव छ। त्यहाँको भाषा पनि बुझ्न समस्या भएको उनले बताइन्। गाउँमा बस्दा लुगा समेत यस्तो लगाऊ भनेको सुन्दा भने उनलाई अचम्म लागेको थियो। परिवारमा जाँदा परिवार आफूहरूबिच कतिपय कुराहरू मिल्न नै गाह्रो भएको उनले बताइन्।

सकेसम्म बालगृहमा आफ्ना छोराछोरीलाई नपठाउन प्रदर्शनीमा पुगेकाहरूलाई उनले आग्रह गर्दै थिइन्।

यसै गरी सिन्धुपाल्चोककी मिना (नाम परिवर्तन) करिब ५ वर्षको उमेरमा बालगृहमा आइपुगिन्। उनलाई गाउँकै एक व्यक्तिले बालगृहमा ल्याएका थिए। उनको बुबा र आमाको मृत्यु भइसकेको छ। मामाघरमा बस्दै आएकी उनलाई अवस्था नाजुक देखेपछि ती व्यक्तिले बालगृह ल्याएका थिए। अहिले उनी स्नातकोत्तर तह अध्ययनरत छिन्।

मिनाको एउटा दाइ पनि छन्। तर दाइँसँग उनको खासै आउजाउ छैन। बालगृहको बसाइ भने उनको दुखद नै छ। उनलाई सुरुमा त बालगृह नै आफ्नै हो जस्तो लाग्थ्यो। सधैभरी त्यही बालगृहमा बस्छु भन्ने उनलाई लाग्थ्यो। तर बिचमा उनलाई अर्को बालगृहमा लगियो। नयाँ बालगृहमा जाँदा उनी धेरै रोएकी थिइन्। त्यसपछि भने उनलाई अरूप्रति भने विश्वास लाग्नै छाड्यो।

बालगृहमा रहँदा धेरै खालको दुर्व्यवहार भोगेको उनी बताउँछिन्। बालगृहमा रहँदा खेल्न नदिने, दुर्व्यवहार गर्ने, कुटपिट गर्ने, नराम्रा शब्दहरू बोल्ने जस्ता दुर्व्यवहार आफूले भोगेको उनी बताउँछिन्।

१८ वर्ष पुगेपछि बालगृहबाट बाहिर निस्केकी उनलाई परिवारमा जानै समस्या भयो। कहिलेकाहीँ उनी मामाघर जान्छिन्। दाइँलाई भेट्छिन्। तर भेट्दा उनीहरूसँग के बोल्ने कस्ता कुराहरू गर्ने भन्ने कुराले उनलाई अफ्ठेरो बनाउँछ।

मिना भन्छिन्, ‘बाल गृहबाट निस्केपछि कहाँ जाने के गर्ने भन्ने हुँदो रहेछ। त्यसपछि परिवारमा जाँदा पनि समस्या हुँदो रहेछ। मेरो त बुबा आमाहरू पनि हुनुहुन्न, त्यसैले झन् समस्या भयो। संस्थाको सहयोगमा बसे। परिवार नहुँदा यो चाडपर्व पनि नआए हुन्थ्यो भन्ने लाग्छ।’

आफन्तहरू थिए भने किन आफू बालगृहमा बस्नुपर्‍यो भन्ने प्रश्न उनको मनमा बारम्बार आउँछ। त्यसैले पनि आफन्तहरू सँग भेट्न र बोल्नै मन नै लाग्दैन उनलाई। पहिलो चोटि मामा माइजू भेट्दा नमस्कार बाहेक केही बोल्न नआएको क्षण अझै बिर्सेकी छैनन् उनले। तर अहिले बुझ्ने भएपछि भने बिस्तारै परिवारसँग आउजाउ गर्न लागेको उनी बताउँछिन्।

सकेसम्म आफ्ना बालबच्चालाई आफैसँग राख्न उनी आग्रह गर्छिन्। बालगृह बाहेक अर्को विकल्प खोज्न उनी सुझाव दिन्छिन्।

त्यसो त हुम्लाका वीरेन्द्र शाहीको पनि कथा उस्तै छ। उनी पनि ५ वर्षको हुँदा बालगृहमा आइपुगे। उनका आमाबुबा छन्। तर छोरोले राम्रो पढ्न पाउँछ भनेर परिवारले बालगृह पठाएको उनी बताउँछन्। उनी पहिलो चोटि घर जाँदा घरमा बोलेको कुराहरू नै उनले बुझेनन्। घरमा आमाले लगाएको लुगा देखेर नै उनी अचम्मित हुन्थ्यो। यति धेरै लुगा लगाएर कसरी बस्न सकेको होला भन्ने लाग्थ्यो उनलाई।

अझ उनलाई हुम्लामा देखाइने धामी नाच देख्दा हाँसो उठ्थ्यो। घरमा आमाको कुरा आफूले र आफ्नो कुरा आमाले नबुझ्दा झगडा समेत परेको थियो। त्यसपछि भने उनी घरबाट पनि भागेका थिए। तर पछि आफू बुझ्ने भएपछि भने परिवारमा घुलमिल भएको उनी बताउँछन्।

वरिष्ठ मनाेविद् विनोद पौडेल बाल गृहमा रहँदा नै बालबालिकाहरूलाई मनोसामाजिक शिक्षा दिनुपर्ने बताउँछन्। परिवारबाट बाहिर रहेर हुर्किरहेका बालबालिकाहरूलाई मानसिक रूपमा समस्या हुने हुँदा त्यो हुन नदिन त्यस्ता खालको शिक्षा दिनुपर्ने उनको सुझाव छ।

पौडेल भन्छन्, ‘बालगृहमा बालबालिकाहरू हुर्कँदै गर्दा उनीहरूको मानसिकता पनि फरक हुन्छ। घर, आफन्त र समाजबाट छुटेका हुन्छन्। त्यसले गर्दा उनीहरूको मानसिकता नै परिवर्तन हुँदै जान्छ। त्यसैले सकेसम्म बालगृहमा बालबालिकालाई राख्नै हुँदैन। भएका बालगृहहरूमा पनि बालबालिकाहरूलाई सामाजिक पारिवारिक खालका शिक्षाहरू दिन आवश्यक छ।’

बालगृहबाट घर फर्केका बालबालिकाहरूलाई पनि समाजले आफन्तले राम्रो खालको व्यवहार गरेमा उनीहरूलाई सजिलो हुने पौडेल बताउँछन्। 

प्रकाशित: ३ पुस २०८० ०८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App