२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निजामतीमा २०.६४ प्रतिशत महिला

सचिवमा ९ जना, सबैभन्दा बढी पाँचौं तहमा ५५८३ जना

पछिल्लो समय निजामती सेवामा महिला उपस्थिति बढ्दो छ। तर माथिल्ला पदहरूमा भन्दा तल्लामा महिला उपस्थिति बढी देखिएको छ। किताबखानाको रेकर्डमा निजामती सेवामा कार्यरत कुल कर्मचारी संख्या ८५ हजार ५१२ पुगेको छ। त्यसमध्ये २४ हजार १४३ जना महिला रहेको किताबखानाले जनाएको छ। यो संख्या २० दशमलव ६४ प्रतिशत हो।

निजामती सेवाको सबैभन्दा माथिल्लो पद सचिवमा अहिले ९ महिला कार्यरत छन्। उक्त पदमा यो संख्या निजामती सेवाको इतिहासमै पहिलोपटक हो। परराष्ट्र सचिवमा सेवा लम्सालको बढुवा भएपछि महिला सचिवको संख्या ९ पुगेको हो। 

अहिले लीलादेवी गड्तौला (कानुन सेवा) मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा, प्रमिलादेवी बज्राचार्य शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा, देवकुमारी गुरागाइँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत छन्। त्यसैगरी लक्ष्मीकुमारी बस्नेत गण्डकी प्रदेश प्रमुख सचिवमा, राधिका अर्याल लुम्बिनी प्रदेश प्रमुख सचिवमा कार्यरत रहँदा निर्मला पौडेल सर्वोच्च अदालत रजिस्ट्रार, बिन्दु विष्ट महालेखा परीक्षकको कार्यालयमा उपमहालेखा परीक्षक छन्। सरिता दवाडीको जिम्मेवारी ऊर्जा आयोगमा छ।

राष्ट्रिय किताबखानाको रेकर्डमा निजामती सेवाबाट प्रवेश गरी जिल्ला न्यायाधीश सात जना, उच्च अदालतका न्यायाधीश १८ जना तथा सर्वोच्च अदालतमा एक न्यायाधीशमा महिला छन्। सर्वोच्चमा कार्यरत एक महिला न्यायाधीश भने कानुन व्यवसायको क्षेत्रबाट आएकी हुन्। किताबखानाको रेकर्डमा निजामती सेवाबाट प्रवेश गरेका महिला कर्मचारीको मात्र रेकर्ड राखिन्छ।

सर्वोच्च अदालतमा हाल निजामती र कानुन व्यवसायको क्षेत्रबाट एकएक गरी दुई महिला न्यायाधीश कार्यरत छन्। किताबखानाको ढड्डामा कानुन व्यावसायीबाट सर्वोच्चमा गएका महिला न्यायाधीशको रेकर्ड भने राखिएको छैन। 

किताबखानाको रेकर्डमा अधिकृत आठौं तहमा १७९, अधिकृत एघारौंमा ३३, अधिकृत छैटौंमा ८६१, अधिकृत दसौंमा ५५, अधिकृत नवौंमा ६१, अधिकृत १२औंमा १, अधिकृत सातौंमा १७७, अधिकृत आठौंमा २००, अधिकृत चौथोमा ५ हजार ३३१ तथा अधिकृत छैटौंमा २ हजार १४९ महिला कर्मचारी कार्यरत छन्। यो तथ्यांक हेर्दा चौथौ, पाँचौं र छैटौं तहमा महिला संख्या बढी छ। किताबखानाका अनुसार दसौं तहमा ११ तथा नवौंमा ३४ जना मात्र महिला छन्। यसैगरी सातौं तहमा ३५७ जना महिला कर्मचारी कार्यरत छन्।  

किताबखानाको रेकर्डअनुसार श्रेणीविहीन महिला कर्मचारी ८३८, सहायक चौथो ४१५, सहायक तेस्रो २०, सहायक दोस्रो २, सहायक पाचौं १ हजार ४३४ महिला कर्मचारी छन्। किताबखानाको रेकर्डमा राजपत्रांकित द्वितीय श्रेणी पदमा ३६५ महिला छन्। राजपत्र अनंकित द्वितीय श्रेणीमा १ हजार ५८७ महिला कर्मचारी कार्यरत रहेको रेकर्ड छ। किताबखानाको रेकर्डमा राजपत्रांकित प्रथम श्रेणीमा ५८ महिला कर्मचारी कार्यरत रहेको उल्लेख छ।

प्रकाशित: ३ पुस २०८० ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App