४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

नारायणी कला मन्दिरमा शास्त्रीय नृत्य

पुस महिनाको चिसो मौसम। बजारमा बिहान बेलुका मानिसहरूको चहल पहल कम भइसकेको छ। आइतबार साँझ भने नारायणगढ स्थित नारायणी कला मन्दिरमा चिसो मौसमको कुनै प्रवाह थिएन। मानिसहरू शास्त्रीय नृत्य तथा गायन हेर्न र सुन्नमा व्यस्त देखिन्थे।

बेलुका साढे छ बजिसकेको थियो। मानिसहरू हलभित्र छिरिसकेका थिए। सुरुवातमै शास्त्रीय नाचबाट समिरा सुनारको रागले ध्यान तान्यो। पाँच मिनेट जतिको नृत्यपछि शास्त्रीय गीत ल्याएर आए विमल लामिछाने र सुरज रानाभाट। ‘दर्शन देऊ प्रभु तिम्रै श्रवण’ नामको गीतमा हल नै गुञ्जायमान बन्यो । दर्शक दीर्घा तर्फ शास्त्रीय सङ्गीतमा उत्साह थप्यो। त्यस लगत्तै कुमारी नृत्य (चर्या नृत्य) प्रस्तुत गर्न आइन पलेस्वा रघुवंशी। यतिकैमा नृत्य प्रस्तुति रोकिएन। भरतनाट्यम कार्यशालामा सहभाागिको तर्फबाट गणेश, सरस्वती नटराज श्लोकको नृत्य प्रस्तुत गरियो।

समुहमा पोसाक सहित आएका उनीहरूको नृत्यले स्टेज तर्फ मानिसहरूको ध्यान तानिरहेको थियो।

त्यतिकैमा गणेश, सरस्वती, लक्ष्मी ध्यान शिवको श्लोक ल्याएर आए स्मल हेमन मोडेल स्कुल आपँटारीका विद्यार्थी। यतिकैमा प्रस्तुति रोकिएन। शास्त्रीय नृत्यमा विद्यावारिधि गर्दै गरेका स्वजन रघुवंशीको टोली स्टेज तर्फ देखा प¥यो। दर्शकहरूले ताली पिट्न थाले। मिना खड्की र उर्मिला श्रेष्ठ सहित शास्त्रीय नृत्य लिएर आएका रघुवंशीले संयुक्त हस्त मुद्राको नृत्य प्रस्तुत गरे।

यतिकैमा सवा सात भैसकेको थियो। त्यसपछि फेरी आए स्वजन रघुवंशी। उनको एकल नृत्यको प्रतीक्षामा रहेका दर्शकले हुटिङ गर्न थाले। निरन्तर ४५ मिनेटको प्रस्तुतिमा पनि दर्शकको ध्यान अन्यत्र गएको थिएन। रघुंवशीको नृत्यमा नै थियो। पुष्पाञ्जली, ध्यान श्लोक, गुरु बन्धना, वसन्त, महाभारत शब्दमा, शिव कृति रागमा नृत्य प्रस्तुत गरेका उनले विश्वलाई शान्तिको कामना गरी आफ्नो प्रस्तुति टुङ्गाएका थिए। आठ वर्षको उमेरबाट नृत्य गर्न थालेका रघुवंशी नृत्यमा भारतको इन्दिरा कला सङ्गीत विश्व विद्यालयबाट विद्यावारिधि गर्दै छन्। ललितपुर घर भएका उनले काठमाण्डौँबाट नृत्यमा स्नातक गरेका थिए। केटामा नृत्य पढ्ने उनी पहिलो ब्याजका विद्यार्थी थिए। त्यतिखेरका उनी ब्याज टपर समेत हुन्। उनले बनारसको हिन्दु विश्वविद्यालयबाट स्नातकोत्तर पास गरे। उनले भारत तथा नेपालमा विभिन्न अवार्ड समेत पाएका छन्। बिदाको दिन नेपाल आउँदा नारायणी कला मन्दिरमा भरतनाट्यम नृत्यको प्रशिक्षण समेत दिए। उनले नै सिकाएका प्रशिक्षार्थीले आइतबार नारायणी कला मन्दिरमा आफ्नो प्रस्तुति दिएका हुन्।

नृत्य निर्देशक संघ चितवनका अध्यक्ष पुष्प श्रेष्ठले नेपालमा अन्य नृत्य गर्नेहरूको तुलनामा शास्त्रीय नृत्य गर्नेहरूको संख्या निकै कम भएको हुँदा नारायणी कला मन्दिरसँगको सहकार्यमा शास्त्रीय नृत्यको प्रशिक्षण दिएको बताए। पाँच दिनसम्मको प्रशिक्षणमा ३६ जना सहभागी थिए।

शास्त्रीय नृत्यले चितवनमा कला क्षेत्र थप फराकिलो हुने नारायणी कला मन्दिरले विश्वास लिएको छ। विशेष गरी, नृत्य र गायन क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको कला मन्दिरले नृत्यमा पनि फरक विधामा काम गर्न पाएकोमा गर्व लागेको कला मन्दिरका अध्यक्ष सुवीर श्रेष्ठले बताए। 

प्रकाशित: २ पुस २०८० ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App