३ असार २०८१ सोमबार
image/svg+xml
समाज

‘नामवन’ मनाउँदै लोपोन्मुख लेप्चा

-

सूर्योदय र रोङमा आज सार्वजनिक बिदा

देशकै लोपोन्मुख लेप्चा समुदायले आज (सोमबार) मुख्य चाडका रूपमा २३४४ औं नामवन–नामआल–नामसुङ (नयाँ वर्ष) मनाउँदै छन्।

लेप्चा समुदायले यो चाड असत्यमाथि सत्यको, पापमाथि धर्मको जित भई राक्षस र अन्याय–अत्याचारबाट मुक्त भएर नयाँ जीवन पाएको खुसीयालीमा मनाउँछन्। घर–घरमा देवी–देवताको पूजा हुन्छ, आजको दिन भगवान्सँग आशीर्वाद माग्ने गरिन्छ।

इलामको सूर्याेदय नगरपालिका–१२ को लेप्चा समुदाय। तस्बिर: भीम/नागरिक।

लेप्चा अगुवाका अनुसार प्राचीन समयमा लेप्चालाई ‘लासोमुङपनु’ राक्षसले दुःख दिन्थे। भगवानको दूत ‘तामसाङथिङ’ को सहयोगमा त्यो राक्षसलाई लेप्चाले वध गरेको खुसीयालीमा यो चाड मनाउन थालिएको कथन छ।

आजको दिन लेप्चा समुदायले अन्नको न्वागी खाने चलन पनि छ। ‘न्वागी’ अर्थ नयाँ बाली चढाएर खानु भन्ने बुझिन्छ। आफूले फलाएको प्रत्येक बाली ईश्वरलाई चढाएर मात्र खाने गरेमा ‘दोष’ नलाग्ने विश्वास गरी न्वागीपूजा गरिन्छ।

नामवनको दिन बिहानैदेखि घर–घरमा नातागोता–आफन्त भेला हुन्छन्। घर–घरमा धूप धुवाएर पूजाआजा गरिन्छ। चुलामा मीठो–मसिनु पकाइन्छ। बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसमेत चाडको दिन रमाउँछन्।

पूजामा चढाइएको सर्बत (मदिरा) को प्रसाद लिने चलन छ। पुरुषले सांस्कृतिक पोसाक ‘दमवोल’ र महिलाले ‘दमवेन’ पहिरिन्छन्। घर–घरमा चाप्राजङ, ढोल, पतोङपलित, निवियुपलित, स्युतपलित, टोक्रो, टोजबोक, साच्सङ, पटे र सोङतोङदार लगायत बाजागाजा बजाइन्छ। घरमा लोकबाजा नहुनेहरू गीत गाएर ताली पिट्दै नाचगान गर्छन्।

पूजा गरिएको ठाउँमा वनजंगलमा पाइने टोटलोदेखि जात–जातका सेता फूलका गुच्छा छरिन्छन्। पुजारी सानो आवाजमा गुनगुनाउँदै घर वरपर घुम्छन्, वन जंगलतिर अक्षतापाती चढाउँछन्, हिमालतिर फर्किन्छन् र ढोग्छन्।

लेप्चाले यो दिनलाई अरूले वैशाख १ र १ जनवरीमा मनाएजस्तो औपचारिकतामा सीमित राख्दैनन्। आफ्नो समुदायको सांस्कृतिक पर्वकै रूपमा नयाँ वर्ष मनाउँछन् उनीहरू। भन्छन्– आज लेप्चाहरूको ‘दसैं’ हो।

नामवन पूजा गर्न घरभित्र थान बनाइन्छ। थानमा केराको पात ओछ्याएर राखिन्छ। त्यसमाथि दियो कलस, माछा वर्ष दिनभरि देवतालाई भाग छुट्याइ राखेको अन्नबाली, कोदोको जाँड, चिउरा आदि राखिन्छ। त्यसपछि यसमा आठवटा सग्लो केराको पातमध्ये चार उल्टा र चार सुल्टा राखिन्छ। चार तोङ्बामा दुई उल्टा र दुई सुल्टा पातमा राखिन्छ। ती उल्टा दिवंगत आत्माका लागि र सुल्टा जीवितका लागि भएको विश्वास गरिन्छ।

‘थानमा बुङथिङ्ग (पुजारी) ले फलाकेर पूजा गर्छन्, हामी अज्ञानी लेप्चाले प्रभुलाई सम्झी चोखो गरी छुट्याएको अन्नबाली आज अर्पण गरिन्छ,’ प्रेम भन्छन्, ‘मध्यरातमा कुखुराको एउटा भाले, बिहान पोथी कुखुरा र त्यसपछि सुँगुरको पूजा गरिन्छ। त्यसको मुटु–कलेजो पोलेर थानमा चढाएपछि यो पूजा सम्पन्न हुने परम्परा छ।’

यो पूजा सम्पन्न गर्न पनि बुङथिङको महत्त्वपूर्ण भूमिका हुन्छ। बुङथिङ पनि केराको पात ओछ्याएर बस्छन्। त्यसपछि हातमा गुलेली लिएर रातभरि फलाक्दै देवतालाई रीत बुझाउँछन्।

प्रकृतिपूजक लेप्चाहरू आफू कन्चनजङ्गघा पर्वतबाट उत्पत्ति भएको विश्वास गर्छन्। सुरुमा उनीहरू जङ्गली तरुल, भ्यागुर, फलफूल खाएर नै जीवन निर्वाह गर्ने गरेका तर त्यतिले मात्र नपुग्ने भएपछि सिकारलाई पनि जीवन निर्वाहको स्रोत बनाएको लेप्चा अगुवाको भनाइ छ। नामवनमा कन्चनजंघा पर्वत र प्रकृतिको विशेष पूजा–आराधना गरिन्छ।

नामवनको दिन लेप्चाले अहिलेसम्म जानी/नजानी गरेका गलत काममा भगवान्सँग माफी माग्ने र नयाँ, सकारात्मक कामका लागि प्रेरणा लिने गरेको आइतबारेका सोनामकाजी लेप्चा बताउँछन्।

‘आजको दिन मासुका विशेष परिकार बनाएर खाइन्छ। मासु नखानेले दूध–दही, फलफूल, तरुल, पिँडालु, सखरखण्ड, भुटेको मकै, भटमास, कोदोको रोटीलगायत खाएर रमाइलो गर्दै आजको दिन उत्साहपूर्ण रूपमा मनाउँछन्,’ उनले भने, ‘दसैं मान्ने चलन हाम्रो समुदायमा धेरै कम भइसकेको छ, दसैंका रूपमा नामवन नै मनाउने भएकाले पनि आजको दिन हाम्रा लागि विशेष दिन हो।’

नयाँ वर्षको सुरुको दिन लेप्चाहरू औपचारिक कार्यक्रमसमेत आयोजना गर्छन्। आफ्नो भाषा, संस्कृति, चाडपर्व, वेशभूषा लगायतबारे बहस, छलफल गर्छन्। आफ्नो संस्कृति संरक्षणमा स्वयं लेप्चाहरूले व्यक्तिगत र संस्थागत रूपमा निर्वाह गर्नुपर्ने भूमिकाबारे हरेक वर्षको यसै दिन समुदायका सदस्यबीच छलफल हुने गरेको मञ्चका अगुवा वीरबहादुर लेप्चा बताउँछन्।

‘लेप्चाहरूको संस्कृति संरक्षणमा कसले के भूमिका निर्वाह गर्न सकिन्छ भन्नेबारे हामी छलफल गर्छाैं,’ उनले भने, ‘त्यसबाहेक यो उल्लासपूर्ण पर्व भएकाले विशेष रमाइलो पनि गरिन्छ। घर–घरमा पूजाआजा र सांस्कृतिक उत्सव हुन्छ।’

सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा सार्वजनिक बिदा

आफ्नो पालिकामा मुख्य बसोबास रहेको लोपोन्मुख लेप्चा समुदायको नयाँ वर्षमा आज (सोमबार) सूर्योदय र नगरपालिका र रोङ गाउँपालिकाले सार्वजनिक बिदा नै दिएका छन्।

सुरुमा लेप्चाहरू इलाममा मात्रै बसोबास गर्थे। अहिले यहीँबाट छरिएर देशका विभिन्न भागमा पुगेका छन्। तर, उनीहरूको मुख्य बसोबास अहिले पनि इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा छ। रोङ गाउँपालिकाको नामकरण नै लेप्चा समुदायको सम्मानका लागि राखिएको हो। ‘रोङ’ को अर्थ ‘लेप्चा’ हुन्छ।

जनजाति समुदायमा पर्ने लाप्चा जातिलाई नेपाल आदिवासी जनजाति प्रतिष्ठान २०५८ ले ‘लोपोन्मुख जाति’ मा सूचीकृत गरेको छ। उनीहरू बौद्ध धर्म मान्छन्।

लोकतान्त्रिक जनआन्दोलन २०६२/०६३ पछि नेपालको हिमाली र तराई क्षेत्रमा जातीयता र पहिचानको आन्दोलन चरमोत्कर्षमा पुगेका बेला लेप्चा समुदायले पनि तत्कालीन मेची र कोसी अञ्चललाई रोङ (लेप्चा) राज्य घोषणा गर्न माग गर्दै आन्दोलन चर्काएका थिए। उनीहरूले ऐतिहासिक रूपमा बसोबास रहेको जातिका आधारमा रोङ राज्य माग गर्दै प्रस्तावित राज्यको विधानसमेत तयार गरेका थिए।

सूर्योदय नगरमा लोपोन्मुख लेप्चा समुदायको बाक्लो बसोबास छ। २०७८ सालको राष्ट्रिय जनगणनाले लोपोन्मुख लेप्चा समुदायको जनसंख्या केही बढेको देखाएको छ।

तथ्यांकअनुसार नेपालमा लेप्चाको कुल जनसंख्या तीन हजार पाँच सय ७८ छ। यसमध्ये एक हजार सात सय ६९ पुरुष र एक हजार आठ सय नौ महिला छन्। २०६८ सालको जनगणनामा लेप्चाको कुल जनसंख्या तीन हजार चार सय ४५ थियो।

पछिल्लो गणनाअनुसार इलाममा लेप्चाको कुल जनसंख्या दुई हजार नौ सय ८३ छ। यसमध्ये एक हजार चार सय ९३ पुरुष र एक हजार चार सय ९० महिला छन्। इलामका पालिकामध्ये पनि सूर्योदय नगरमा सबैभन्दा बढी एक हजार छ सय ४० ( पुरुष आठ सय १५, महिला आठ सय २५) को बसोबास छ। रोङमा नौ सय ९० (पुरुष चार सय ९४, महिला चार सय ९६), माइजोगमाई गाउँपालिकामा एक सय ९६ (पुरुष एक सय छ, महिला ९०) र इलाम नगरपालिकामा एक सय ५६ (पुरुष–महिला ७८ बराबरी) रहेको तथ्यांकमा उल्लेख छ।

इलामबाट झापासहित तराईका जिल्ला र विभिन्न प्रदेशमा लेप्चाको बसोबास देखिएको छ। कोशी प्रदेशमा तीन हजार तीन सय दुई लेप्चाको बसोबास रहेकामा पुरुष एक हजार छ सय ४० र महिला एक हजार छ सय ६२ छन्।

प्रकाशित: २ पुस २०८० ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App