२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घरेलु मदिरा उत्पादन नहुँने ‘गाजने’ गाउँ

म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौं वर्षदेखि निरन्तरता दिइएको छ। बेनी नगरपालिका ५ मा अवस्थित गाजने गाउँमा सयौं वर्षदेखि कुखुरा र बंगुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन।

सुन्दा अचम्म लागे पनि १५औं शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वते राज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम (डिम्बबम) मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बंगुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँमा रहेका २५ घरधुरीले सयौं वर्ष पुरानो नियमलाई पालना गर्दै आएका छन्। धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसात् गरी गाउँमा परापूर्वकालदेखि नै कुखुरा र बंगुरपालन तथा घरेलु मदिरासमेत उत्पादन नहुने जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिए।

‘यो तत्कालीन राजाले बसालेको नियम हो, बीचमा केहीले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरूको परिवारलाई उक्त कदमले शुभ दिएन, क्षति भयो, अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्’, उनले भने।

बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब) ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुँगुरपालन, बंगुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन्। यस गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन भने बाहिरबाट लगेर कुखुरा तथा बंगुर बिक्री र काटमार पनि गर्न पाइँदैन।

तत्कालीन राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन्। बीचको समयमा केही स्थानीयवासीले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए। अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने गाउँ साकाहारी गाउँका रूपमा चिनिन थालेको छ।

गाजने गाउँमा कुखुरा, बंगुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि प्रयोग नहुने स्थानीयवासी बताउँछन्। जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो धजापताकाको सट्टामा पहेँलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेंलो र सेतो धजा चढाउने गरिन्छ।

तत्कालीन राजा दिलीपबमले १५औं शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिए।

पछिल्लो समय गाजने पर्यटकीय गाउँको रूपमा विकास हुन थालेको छ। ऐतिहासिक धरोहरका रूपमा रहेको जगन्नाथ मन्दिरमा पूजाआजा गर्नको साथै अनौठा परम्परागत मान्यतालाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन्।

गाउँको शिरमा रहेको केभहिलबाट धवलागिरि र अन्नपूर्ण हिमशृंखलाको अवलोकन गर्न सकिने भएपछि यहाँ धार्मिक पर्यटकसँगसँगै प्राकृतिक सुन्दरतामा रमाउन चाहनेहरूका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास हुन थालेको हो।–रासस

प्रकाशित: १ पुस २०८० ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App