४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा चन्दा संकलन गरेर मन्दिर पुनर्निर्माण

भक्तपुरवासीले चन्दा संकलन गरी कुथु सुव्या दुगुद्य (मन्दिर) को पुनर्निर्माण सुरु गरेका छन्।

नगरवासीले भक्तपुर नगरपालिका वडा नं-५ भीमसेनस्थानमा रहेको सो मन्दिर पुनर्निर्माणका लागि ‘इष्टमेट’ ४४ लाख चन्दा संकलन गरी मन्दिर पुनर्निर्माण सकाउने योजनाका साथ काम थालेका हुन्।

पहिलो चरणमा जीर्ण मन्दिरको छानामा रहेको पोल अपा (झिंगटी इटा) झिकेर मन्दिर भत्काउन सुरु गरिएको छ। मन्दिर भत्काउने कामको औपचारिक सुरुवात गर्न नगरपालिकाकी उपप्रमुख रजनी जोशी मन्दिरस्थल पुगेकी थिइन्। उपमेयरको उपस्थितिमा स्थानीयवासीहरु सहभागी भएर मन्दिर भत्काउन थालिएकाे हाे।

०७२ सालको महाभूकम्पले जीर्ण बनेको मदिर एक तल्ले मात्रै छ। मन्दिरको उत्तर क्षेत्रमा जग भासिन गई अहिले मन्दिर असन्तुलनमा छ। साथै छानामा पनि सबै झिंगतीहरु झरेर बिग्रिसकेको छ। पुरानो मन्दिर सबैतिर जीर्ण जस्तै भइसकेको छ।

मन्दिर पुनर्निर्माण लागि भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीका विष्णु मारिखूको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ।

उपभोक्ता समितिका उपाध्यक्ष विश्वराम कवांका अनुसार मन्दिर पुनर्निर्माणका लागि करिब ४४ लाखको लागत इष्टमेट भएको छ। यो रकम सहयोग जुटाई मन्दिर पुनर्निर्माण गर्ने योजना अनुसार काम अगाडि बढाइएको उनले बताए।

पहिलो चरणमा मन्दिर भत्काउने काम सुरु भएको उनले जनाए। त्यसपछि अैपचारिक रुपमा जग हालेर काम सुरु गर्ने योजना रहेको उनले जनाए। मन्दिरको पुनः निर्माण कार्य चैतभित्र सकाउने योजना राखिएको छ।

यो मन्दिर भक्तपुरको विस्का जात्रामा लिंगो उठाउने भेलुखेल नजिकै छ। भक्तपुरको चुपिंघाटको पश्चिम क्षेत्रमा पर्ने यो मन्दिर झण्डै १०.१५ रोपनीको सार्वजनिक जग्गाको बिचमा रहेको छ।

मन्दिरको वरिपरि भीमसेन देवता, ती मन्दिरहरुभित्र पस्ने आकर्षक दुईवटा कलात्मक शैलीका प्रवेशद्वार, सार्वजनिक पाटी, सामूहिक भवन, भोज खुवाउनका लागि बनाइएको बन्दोबस्त सहितको भवन लगायतका छन्।

यो सार्वजनिक क्षेत्रमा भएका झण्डै एक दर्जन भौतिक संरचनाहरु पनि यसरी नै करोडौँको आर्थिक सहयोग चन्दा संकलन गरी यसअघि नै बनेका थिए।

युवा इतिहासविद् ओम धौभडेलका अनुसार भक्तपुरको यो मन्दिर प्रख्यात भएर पनि चर्चामा नआएको मन्दिर हो। यो मन्दिरमा पूजा गर्न देश विदेशका मानिसहरु आउने उनले सुनाए।

मन्दिरमा विशेष गरेर नेवार समुदायको देवाली पूजाका महिनाहरुमा विशेष पूजा गर्न आउनेहरु हुन्छन्। यो भनेको प्रत्येक वर्ष चैतदेखि सिथिनखा पर्वसम्मको केही महिना हो।

यी महिनाहरुको प्रत्येक आइतबार र बिहीबार गरी हप्तामा दुहिदिन यो मन्दिरमा आइ देवाली पूजा गर्न आउनेहरुको भीड लाग्ने गर्दछ।

प्रकाशित: ३० मंसिर २०८० १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App