७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

गौचन र तिवारी हत्याका अभियुक्त पक्राउ

चितवन – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा श्याम लामा गुम्बेलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मुख्य गोली हान्ने गुम्बेलाई पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले बताए। अभियुक्त गुम्बेलाई भरतपुर महानगरपालिका वडा नं ६ गीतानगरबाट पक्राउ गरिएको हो। कार्कीले गौचन र तिवारीको दुवै घटनामा निज लामा संलग्न भएको बताए। केही दिनयता सिआइबीको टोलीले लामाको पिछा गर्दै आएको थियो। गीतानगरको भित्री बस्ती क्षेत्रबाट गुम्बेलाई पक्राउ गरिएको हो। कार्कीले अपराधीलाई सिआइबीले छाड्दैन भन्ने कुरा कामले पुष्टि गरेको बताए। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले सोमबार साँझ अबेर निजलाई पक्राउ गरी सिआइबीले राति नै लामालाई काठमाडौँ लगेको बताए। देशकै मध्यभाग भएकाले आपराधिक क्रियाकलापपछि अन्यत्र जान सहज होस् भन्नाका लागि अपराधी लुक्न चितवन आउने गरेको थापाले बताए। 

गौचन हत्याकाण्डका प्रमुख योजनाकार समीरमानसिंह बस्नेतसहित अन्यलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । व्यवसायी गौचनको गत असोज २३ गते काठमाडौँ शान्तिनगरमा गोली हानी हत्या भएको थियो । उनलाई मोटरसाइकलमा आएका व्यक्तिले गाडीमा गोली प्रहार गरेका थिए। 

तिवारीको रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा गत वर्ष पुसमा गोली प्रहार भएको थियो। देब्रे कोखामा गोली लागेका उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। 

प्रकाशित: ९ माघ २०७४ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App