२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

काउली उत्पादन: खर्च ५० हजार, उठ्छ जम्मा ५ हजार

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको काउलीबारीमा भेटिएकी शोभा सुवाल सुकाजूकाे खेतैभरि लोभलाग्दो काउली फलिरहे पनि निराश थिइन्।

एक रोपनी अलि बढी खेतमा फलेका धेरै काउली उनले काटिसकेर बेचिसकेकी थिइन्। बेचेकाे काउलीले उचित भाउ नपाउनु उनको निराशाको कारण थियो।

उनले भनिन्, यति धेरै राम्रो काउली फलेर के गर्नु ? किलोको पाँच रुपैयाँमा बेच्नुपरेको छ।’

उनका अनुसार फलेको काउली खेत नजिकैको मोटरेबल सडकसम्म पुगेर थोक विक्रेता खरिद गर्न आउँछन्। काउली बेचेर उठेको पैसाले खेतका काउलीहरू थोक विक्रेतालाई खेतबाट सडकसम्म पुर्‍याइदिने ज्यामीलाई ज्याला दिनसम्म नपुग्ने उनी बताउँछिन्।

उनकै भाषामा लाटो हिसाब मात्रै गर्ने हो भने एक रोपनी खेतमा काउली खेती गर्न एक पटकलाई सालाखाला ५० हजार खर्च लाग्छ। तर उठ्छ भने जम्मा पाँच हजार।

एक रोपनी खेतका लागि सालाखाला एक हजार काउलीका बोट चाहिन्छ। प्रतिबोट दुई रुपैयाँको हिसाबले किनेर ल्याउँदा काउलीको बोटलाई मात्रै दुई हजार रुपैयाँ पर्न जान्छ। उनले भक्तपुरकै आदर्शमा रहेको रत्न नर्सरीबाट ती बोटहरु किनेर ल्याएको सम्झिन्।

हिसाबको बेलिबिस्तार लगाउँदै उनी भन्छिन्, त्यसपछि खेत जोत्ने ट्याक्टरलाई लाग्ने प्रतिघण्टा एक हजारका दरले तीन घण्टाको तीन हजार, काउली रोप्न ड्याग बनाउन एक जनालाई दुई दिन र रोप्न दुई दिन गर्दा कुल चार जना मानिसको प्रतिदिन एक हजारको दरले ज्याला कुल चार हजार, रासायनिक मल युरिया एक बोराको दुई हजार पाँच सय, पटक-पटक गरी १० पटकमा फलेको काउली काट्न र थोक विक्रेतालाई मोटरबाटोसम्म पुर्‍याइदिन एक जनालाई दिनको एक हजार गरेर १० पटक अर्थात् १० दिनको १० हजार, एक रोपनी खेतको कुट अर्थात् भाडा लिए बापतको चलनचल्तीको रकम १५ हजारदेखि २० हजार तिर्नुपर्छ।’

उनले थपिन् ‘यसमा बिचबिचमा खेतमा गोडमेल गर्ने, रासायनिक मल, घरेलु मल राख्नलाई ज्याला हिसाब गर्ने हो भने अझै एक पटकको ५/७ जना मानिसको ज्याला पाँच/सात हजार गरी कुल ५० हजार भन्दा बढी खर्च लागेको हुन्छ। तर आम्दानीको सामान्य हिसाब गर्ने हो भने एक बोट काउलीको सालाखाला एक किलोले हिसाबले एक हजार बोटको उठ्ने कुल आम्दानी एउटा काउलीको पाँच/पाँच रुपैयाँले कुल पाँच हजार हुन आउँछ।’

सिपाडोलको यो पूरै फाँटमा धेरै किसानले एक/दुई एक/दुई रोपनी गरेर काउली फलाएका छन्। तर हिसाबै गर्ने हो भने सबैको हालत उही नै हो, ५० हजार खर्च गरेर पाँच हजार आम्दानी।

खेतमा रहेका अर्का किसान कृष्णहरि ग्वाछा हिसाब किताब गर्ने हो भने खेतमा बाली लगाउनु भन्दा नलगाउनु धेरै हिसाबले फाइदा रहेको उनी बताउँछन्। खेतमा बाली लगाएर उठ्ने आम्दानी ज्यामी राखेर गर्नुपर्ने हो भने ज्यामीलाई दिन नै नपुग्ने उनको पनि लाटो हिसाब छ। 

अन्य रासायनिक मल, खेतको भाडा पनि हिसाब गर्ने हो भने आम्दानी र खर्चको हिसाब आफूहरुले बोक्ने खर्पण भन्दा पनि असन्तुलित हुने उनी बताउँछन्।

उनका अनुसार काउलीमा मात्रै होइन, धान, गहुँलगायतका बर्खे बाली होस् अथवा आउली बन्दा लगायतका नगदेबाली नै किन नहोस् हिसाब उही छ, घाटाको काम।

स्थानीय किसानहरुसँगको छुटाछुटै भेटमा सबै किसानहरूको निष्कर्ष एउटै छ, नाफा घाटाको हिसाब गर्ने हो भने खेत बाँझो राखेर बस वा विदेश जाऊ नै भनेको हो अप्रत्यक्ष रुपमा। 

यसो भए पनि भक्तपुरका मेहनती किसानले खेत बाझो राख्दैनन्। आफ्नै खेतहरुमा आफैं ज्यामी भएर काम गर्छन् र हिसाब किताब नगरी निरन्तर श्रममा लागिरहन्छन्।

काउली रोप्न यस्तो छ किसानहरुले उपलब्ध गराएको सालाखाला खर्च विवरण

१) एक हजार बोटका प्रतिबोट दुई रुपैयाँले २,०००।

२) काउली रोप्न खेत खन्नलाई खेत जोत्दा ट्याक्टर (पावर टेलर) लाई प्रतिघण्टा एक हजारका दरले तीन घण्टाको ३,०००।

३) काउली रोप्न ड्याग बनाउन एक जना मानिसलाई दुई दिन र रोप्न दुई दिन गर्दा कुल चार दिनको प्रतिदिन एक हजारको ज्याला गरी कुल ४,०००।

४) रासायनिक मल युरिया एक बोराको २,५००।

५) पटकपटक गरी १० पटकमा फलेको काउली काट्न र थोक विक्रेतालाई मोटरबाटोसम्म पुर्‍याइदिन एक जना मानिसलाई एक दिनको एक हजार गरेर १० पटक अर्थात् १० दिनको १०,०००।

६) एक रोपनी खेतको कुट अर्थात् भाडा लिए बापतको चलनचल्तीको रकम १५ देखि २०,०००। 

७) बीचमा गोडमेल गर्न, रासायनिक र लोकल मल राख्न एक सिजनमा पाँच सात जना ज्यामी गरी पाँचदेखि ७,०००। 

८) एक हजार बोटको सालाखाला एक किलोको दरले कुल एक हजार किलो उत्पादन र प्रतिकेजी पाँच रुपैयाँको हिसाबले कुल आम्दानी ५,०००।

प्रकाशित: २८ मंसिर २०८० १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App