११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

‘मंगलबारपछि पानी पर्न सक्छ’

काठमाडौं– पश्चिम नेपालबाट सक्रिय रुपमा वायु भित्रिन नसक्दा यस वर्ष अहिलेसम्म हिउ“दे वर्षाको संकेत देखिएको छैन। पश्चिमी वायु नचल्दा तराईमा लामो समयदेखि बाक्लो हुस्सु लागिरहेको छ । हिउ“दे वर्षा नहुँदा हिमपातमा पनि कमी आएको छ।

‘मंगलबार पश्चिमबाट सक्रिय वायु भित्रियो भने तराईको हुस्सु हट्नसक्छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले आइतबार नागरिकसँग भने, ‘यसले देशका केही स्थानमा हल्का वर्षा गराउन सक्छ, हिमपात पनि हुनसक्छ ।’
उनले तीन दिनको मौसमको पूवार्नुमान गर्दै भने, ‘मंगलबारदेखि पश्चिमी वायुको प्रभाव पर्न सक्छ र त्यसले पश्चिम क्षेत्रमा मात्र प्रभाव पार्छ । बुधबार र बिहीबार देशभर प्रभाव पार्न सक्छ ।’ प्रधानांगले पश्चिमी वायुका कारण देशभर बदली हुने, केही स्थानमा हल्का वर्षा हुने र उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने बताए।

‘वायुमण्डलको अहिलेसम्मको अवस्था विश्लेषण गर्दा यस्तै देखिन्छ’, उनले भने। त्यसो त महाशाखाले तीन दिनको मौसम पूर्वानुमान मात्र सार्वजनिक गर्दै आएको छ। प्रधानांगले आइतबारदेखि मंगलबारसम्मको मौसम विकासक्रमबारे जानकारी दिने क्रममा बुधबार र बिहीबारको सम्भावित अवस्था  खुलाएका हुन्। ‘बुधबारको आधिकारिक पूवार्नुमानका लागि सोमबारमात्र भन्न सक्छौं’, उनले भने।  

मंगलबार पश्चिमबाट सक्रिय वायु भित्रियो भने तराईको हुस्सु हट्नसक्छ । यसले देशका केही स्थानमा हल्का वर्षा गराउन सक्छ, हिमपात पनि हुनसक्छ ।

प्रभानांगले पूर्वी क्षेत्र (बंगलादेशको आसपास) मा देखिएको कमजोर न्यूनचापीय रेखाका कारण आइतबार मध्यपूर्वी क्षेत्रको आकाशमा पातलो बादल लागेको जानकारी दिए । ‘यो प्रणाली निकै कमजोर छ । यसबाट वर्षा हुने सम्भावना छैन । तर सोमबार पहाडी क्षेत्रमा आंशिक बदली हुनसक्छ’, उनले भने, ‘त्यसैको प्रभावले आइतबार राजधानीको आकाशमा पातलो बादल लागेको हो।’

काठमाडौं विश्वविद्यालयका वरिष्ठ मौसमविद् मणिरत्न शाक्य पनि पश्चिमी वायु नचल्दा तराईबासीले घाम देख्न नपाएको तर्क गर्छन् । उनी  सक्रिय वायुको अभावमा हिउ“दे वर्षा नभएको र यही कारणले जाडो कम भएको बताउँछन्।

उनका अनुसार अघिल्लो वर्ष पुस १० गते पश्चिम भेगमा वर्षा भई ढिलै भए पनि हिउँदे वर्षा भएको थियो । तर यस वर्ष पुस अन्त्यपछि पनि वर्षा भएको छैन। सामान्यतया हिउँदयाममा मंसिर सुरुवातसँगै मेघ गर्जनसहित वर्षा भई हिउँदको आगमनको संकेत दिन्थ्यो । तर अहिले यस्तो मौसमी प्रक्रिया प्राय शून्य भएको छ।

शाक्यका अनुसार सामान्यतया हिउँदयाममा सक्रिय पश्चिम वायुको प्रभावबाट मौसममा फेरबदल भई वर्षा हुने गर्छ । हिउँदयाम आरम्भसँगै नेपाललगायत दक्षिण एसियामा युरोप महादेशको चिसो भूभागबाट पूर्वतिर हावा चल्छ । यो हावा एसिया महादेशको उत्तरी भेगस्थित हिमालको बाटो हँुदै पाकिस्तानको उत्तरी भेग र उत्तर पश्चिम भारतबाट नेपाल भित्रिने हुँदा झन् चिस्सिने गर्छ र यो हावा जहाँजहाँ वहन्छ त्यहाँ अत्यधिक चिसो मौसमी गतिविधि भित्रिन्छ।

यसरी बहने पश्चिमी वायुको गतिमा अवरोध भई वायुमण्डलीय चापमानमा ह्रास आएमा बदली भई वर्षा हुने गर्छ । यस्तो मौसमी प्रक्रियालाई ‘पश्चिमी वायुको प्रभाव’ भनिन्छ । हिउँदयाममा यस्तो प्रक्रियाबाट नेपाललगायत दक्षिण एसियाको विभिन्न स्थानमा कम्तीमा पनि ३÷४ पटक वर्षा हुने गर्छ।

शाक्यले वैज्ञानिक अध्ययनलाई उधृत गर्दै भनेका छन्, ‘हिउँदे वर्षामा कमी आउनुको प्रमुख कारण विश्वव्यापी रुपमा देखापरेको ‘इलनिनो’ हो ।’ विश्वकै मौसमसम्बन्धी जानकारी राख्ने संयुक्त राज्य अमेरिकास्थित नेसनल ओसनिक एट्मोसफेरिक एडमिनिस्ट्रेसन नामक संस्थाका अनुसार सामान्यतया इलनिनोको प्रभाव देखापर्ने बेला दक्षिण एसियामा गर्मीयाममा मनसुनी गतिविधि प्रभावित भई वर्षा न्यून हुने र वायुमण्डलीय तापमान वृद्धि हुने गर्छ।

शाक्यका अनुसार ‘इलनिनो’ ले भूमध्यरेखास्थित प्रशान्त महासागरको पूर्वी क्षेत्रको पानी औसतभन्दा बढी तात्ने प्रक्रियालाई जनाउँछ । यसरी पानी तात्ने बेला विश्वव्यापी रुपमा वायुमण्डलीय चापमान फेर बदल हुन्छ । यस्तो हु“दा कतै अस्वाभाविक रुपमा हुरीबतास चल्ने र बढी पानी पर्ने हुन्छ भने कतै वर्षामा ह्रास आई सुख्खापन महसुस हुन्छ।

यसको उल्टो प्रक्रियालाई ‘लानिना’ भनिन्छ । लानिनाको बेला प्रशान्त महासागरको पूर्वी क्षेत्रको पानी औसतभन्दा चिसो हुन्छ । इलनिनोको प्रभाव देखा पर्ने बेला गर्मीयाममा भूमध्यरेखास्थित प्रशान्त महासागरको पूर्वी क्षेत्रमा बढ्दो अाँधीबेरीका कारण वर्षामा वृद्धि हुन्छ भने पश्चिमतिर वर्षामा कमी आउने र न्यानो मौसमी गतिविधि देखिन्छ । यस्तो बेला प्रशान्त महासागरको पूर्वी क्षेत्रस्थित दक्षिण अमेरिकाको पेरु, इक्वेयडरलगायत आसपासका क्षेत्रमा बढी पानी पर्छ भने दक्षिणपूर्वी एसियाका इन्डोनेसिया र आसपासका स्थानमा कम मात्रामा पानी पर्छ । इलनिनोको सक्रियताले हिउँदमा पनि दक्षिण पूर्वी एसियामा वर्षा अत्यन्त न्यून हुने गरेको वैज्ञानिकहरुको ठहर छ।

नेपाललगायत दक्षिण एसियामा सन् २०१४ को जाडोयामसँगै विश्वव्यापी रुपमा ‘इलनिनो’ को प्रभाव देखा परेको थियो । यसको प्रभाव निरन्तर बढ्दै सन् २०१७ को मनसुन कालसम्म पनि देखा परिरह्यो । यसैको प्रभावस्वरुप नेपाललगायत दक्षिण एसियाका विभिन्न स्थानमा ती वर्ष मनसुनी वर्षा कमी हुनुका साथै न्यानो मौसमी गतिविधि महसुस भएको थियो । इलनिनोको प्रभावले विगतका हिउँदको साथै चालू हिउँदयाम पनि प्रभावित भएको छ।

सामान्यतया हिउँदमा राजधानी काठमाडांैको न्यूनतम तापमान शून्यभन्दा तल झरी अत्यधिक चिसो हुन्थ्यो । तर यसपालि शून्यभन्दा तल झर्न सकेन । यो क्रम विगत केही वर्षदेखि निरन्तर जारी छ।

मौसमी तथ्यांकअनुसार काठमाडांैको हालसम्मकै सबभन्दा कम न्यूनतम तापमान माइनस ३.५  सन् १९७८ जनवरी ११ मा मापन गरिएको छ । त्यस्तै  पश्चिम तराईको नेपालगन्ज जहाँ गर्मीमा अति गर्मी र हिउँदमा कठ्यांग्रिने जाडो भई न्यूनतम तापमान शून्यभन्दा तल झथ्र्यो । त्यहाँ पनि यसपालि न्यूनतम तापमान शून्यभन्दा माथि नै रह्यो । त्यस्तै देशको अन्य स्थानमा पनि चिसोमा कमी आएको महसुस भएको छ । यसले नेपालमा वायुमण्डलीय तापमान वृद्धिलाई पुष्टि गर्दै मौसम परिवर्तनको संकेतलाई प्रमाणित गरेको छ ।

प्रकाशित: ८ माघ २०७४ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App