१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

कपिलवस्तुमा दिइयो गैरआवासीय नागरिकता

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट गैरआवासीय नागरिकता दिन सुरु गरिएको छ। मंगलबार पहिलोपटक गैरआवासीय नागरिकता प्रमाणपत्र प्रदान गरिएको छ। नेपाली नागरिकता त्यागेर १३ वर्षदेखि क्यानडा बस्दै आएका कपिलवस्तुको कृष्णनगर नगरपालिका २ का नितेश श्रेष्ठलाई गैरआवासीय नागरिकता प्रदान गरिएको हो।

‘नेपाली नागरिकता पहिलो संशोधन ऐन २०६९’अनुसार श्रेष्ठलाई गैरआवासीय नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ शंकरहरि आचार्यले बताए। श्रेष्ठले मंसिर १८ मा नेपाली नागरिकता त्यागेर गैरआवासीय नागरिकता लिने प्रक्रिया सुरु गरेका थिए। श्रेष्ठले परराष्ट्र मन्त्रालयबाट गत मंसिर १९ मा गैरआवासीय नेपाली नागरिकको पत्र लिएका हुन्।

ऐनअनुसार सार्क राष्ट्रबाहेकका स्थानमा बसोबास गर्ने नेपाली नागरिकले नागरिकता त्यागेर गैरआवासीय नागरिकता प्राप्त गर्न सक्ने प्रावधान छ। साबिकको नागरिकताको प्रमाणपत्र वा त्यागेका प्रमाणपत्र, विदेशी नागरिकताको प्रमाणपत्रको निस्सासहित प्रशासन कार्यालयमा आवदेन दिनुपर्छ।

सोही आधारमा आवश्यक प्रक्रिया पूरा गरेपछि गैरआवासीय नागरिकलाई नागरिकता दिन सकिनेछ। ऐनको दफा ७ (क) अनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकिनेछ। उपदफा १ अनुसार विदेशी मूलको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविक वंशज वा जन्मका आधारमा निज वा निजका बुबा वा आमा, हजुरबुबा वा हजुरआमा नेपालको नागरिक रही पछि विदेशी नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने छ। नागरिकता पाउनेले नेपालको संविधान र कानुनको परिपालना गर्ने लिखित प्रतिबद्धतासमेत गर्नुपर्ने प्रावधान छ।

प्रजिअ आचार्यले श्रेष्ठलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। उनले प्रक्रिया पूरा गरेर गैरआवासीय नागरिकताको प्रमाणपत्र कपिलवस्तुबाट पाउने बताए। गैरआवासीय नागरिकताको प्रमाणपत्र पाउने आफू जिल्लाबाटै पहिलो व्यक्ति भएकोमा श्रेष्ठले गर्व र खुसी व्यक्त गरे।

आफ्नो कर्मथलो क्यानडा भए पनि आफ्नो मन भने नेपाली रहेको बताए। उनले जिल्ला र देशको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। गैरआवासीय नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन्।

प्रकाशित: २७ मंसिर २०८० ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App