६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

डा. केसीको शिविरमा भीड, ३ सय बढीको स्वास्थ्य परीक्षण (फोटो फिचर)

रौतहट – हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर गोविन्द केसीको निःशुल्क स्वास्थ्य शिविरमा सर्लाही तथा रौतहटका विरामीहरुको भिड लागेको छ। रौतहटको गढीमाई नगरपालिका २ समनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा गढीमाई, वृन्दावन, गरुडा र माधवनारायण नगरपालिकाका साथै सर्लाहीको विभिन्न स्थानीय तहवाट आएका विरामीहरुको भीड देखिएको हो।

डाक्टर केसीको टोलीले कठ्ङयाग्रिदो चिसोबाट अति प्रभावित चमार, दुषाध, मुसहर, डोम, सरभंग लगायतका अति विपन्न परिवालाई विहिवार विभिन्न किसिमका न्यानो कपडा वितरण गरेका थिए। न्यानो वितरण पश्चात शुक्रवार समनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरको आयोजना गरी ३ सय भन्दाबढी विरामीको स्वास्थ्य परीक्षण गरेर निःशुल्क रुपमा औषधि उपलब्ध गराएको टोलीमा सहभागी डाक्टर अभिशेखराज सिंहले बताएका छन्।

स्वास्थ्य शिविरमा १८३ जना महिला र ११७ जना पुरुष भन्दा बढी पुरुष गरी ३ सय बढीलाई स्वास्थ्य परीक्षण पश्चात निःशुल्क रुपमा औषधि वितरण गरिएको डाक्टर सिंहले जानकारी दिए। उनका अनुसार यहाँ स्वास्थ्य परीक्षण गराउन आएका विरामीहरुलाई चिसोबाट जोगिन लाइफसेभिंग ड्रग, खोकी, निमोनिया, दम र जुकाको औषधीहरु उपलब्ध गराएको छ। शिविरमा अधिकाँश हाडजोर्नीका विरामीहरु चिसोबाट प्रभावित भएका, नशा, रुघाखोकी, निमोनिया, दम लगायतका विरामीहरुको उपचार गरिएको डाक्टर सिंहले बताए।

१४औं सत्याग्रहपछि पहिलोपल्ट मधेस झरेका डा. गोविन्द केसीको शिविरमा गढीमाई नगरपालिकाको सुन्दरपुर, समनपुर, टोकार, लक्ष्मीपुर र हथिऔल गरुडा नगरपालिकाको मलाहीटोल, गेडही, वृन्दावन नगरपालिकाको पल्टुआ, सखुअवा, हरदिया र सर्लाहीको हजरियाका नायाँटोल, मलहाटोल, पिपराभिता लगायतका सवैसाधारणहरुको स्वास्थ्य परीक्षण गरेर औषधि समेत वितरण गरेको प्राथमिक स्वास्थ्य केन्द्र समनपुरका प्रमुख तेजनारायण यादवले बताए।

शिविरमा विरामीको चाप बढेपछि डाक्टर केसीसहित उनको टिममा सहभागी डाक्टरद्धय अभिषेखराज सिंह र तुसिवा कार्कीसहितका डाक्टरहरुले दिनभरी खाना समेत नखाइकन विरामीको उपचार मै लागेका थिए। शिविरमा विरामीको चाप बढेपछि डाक्टर केसीले आफू जिद्धी मान्छे हो, पहिला काम सकौ अनि मात्र खाना खानुपर्छ भनेका थिए। उनको शिविरमा सहयोगका लागि खटिएका स्थानीय स्वास्थ्यकर्मीहरु समेत विरामीको उपचार नसकुन्जेल खाना खाएका थिएनन।  

डा. केसीले रौतहट जिल्ला आफू चौथो पटक आएको र यहाँको कुन ठाँउमा बढी गरिबी रहेको छ सबै थाहा पाएको बताए। चिसोबाट रौतहट वास्तवमा धेरै प्रभावित भएको तथा यहाँका दलित समुदायका डोम, दुसाढ, तत्मा, ढाँगर, मुसहर, चमार लगायतका जातिका बासिन्दाहरु धेरै प्रभावित भएपनि राज्यबाट उपेक्षा हुँदा विचल्ली भएको उनको भनाई छ। राज्य उदासिन भएपछि आफू चुप लागेर बस्न नसकेको र मानवीय सेवाका लागि रौतहट आएको स्पष्ट पार्दै उनले रौतहट मात्रै नभई प्राकृतिक विपदा पर्दा राज्य नपुग्ने स्थानमा पुगेर सेवा गर्न पछि नहट्ने प्रतिवद्धता जनाए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App